आयोगको प्रतिवेदनविरुद्ध रास्वपा सांसद बोहोरा पुगे सर्वोच्च
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १८ सोमबार
818
Shares
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद दीपक बोहोराले राष्ट्रिय मानव अधिकार आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन्।
सोमबार सर्वोच्च अदालत पुगेका बोहोराले आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा आफ्नो नाम अन्यायपूर्ण रूपमा समावेश गरिएको दाबी गरेका छन्।
रिट दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले गत भदौ २३ र २४ गते आफू अस्पतालमा रहेको र सो अवधिमा आफ्नी श्रीमतीलाई आपत्कालीन कक्षमा उपचारका लागि राखिएको जानकारी दिए।
जेनजी आन्दोलनसँग आफ्नो कुनै संलग्नता नरहेको र आन्दोलनसँग सम्बन्धित कुनै पनि फोटो वा भिडियोमा आफू नदेखिएको उनले स्पष्ट पारे।
उनले सञ्चारकर्मीहरूसँग भने, ‘गत भदौ २३ र २४ गते अस्पतालमा थिएँ। श्रीमतीलाई आपत्कालीन कक्षमा राखिएको थियो। जेनजी आन्दोलनमा मेरो फोटो, भिडियो कतै पनि छैन। तर राष्ट्रिय मानव अधिकार आयोगले निकालेको २४ गतेको आन्दोलनमा मेरो पनि नाम छ। मानव अधिकार आयोगले अन्याय गरेको छ। प्रमाण हेर्नुपर्थ्यो होला, मेरो संलग्नता हेर्नुपर्थ्यो होला, मेरो फोटो वा भिडियो हेर्नुपर्थ्यो होला। अस्पतालमा भएको मान्छेको नाम लेख्न मिल्छ? मानव अधिकार आयोगले नै अन्याय गरेपछि अदालत आएको हुँ। सत्य–तथ्य छानबिन होस्, नाम हटाइयोस् भनेर म निवेदन लिएर आएको हुँ।’
बोहोराका अनुसार मानव अधिकार आयोगले भदौ २४ गतेको आन्दोलनसम्बन्धी प्रतिवेदनमा पर्याप्त प्रमाण र तथ्यको अध्ययन नगरी आफ्नो नाम समावेश गरेको छ। आयोगबाट अन्याय भएको महसुस भएपछि न्यायको खोजीका लागि अदालत पुगेको बताउँदै उनले प्रतिवेदनमा उल्लेख गरिएको आफ्नो नाम हटाउन तथा घटनाको सत्यतथ्य छानबिन गर्न माग गरेका छन्। उनले अदालतबाट निष्पक्ष छानबिन भई वास्तविक तथ्य सार्वजनिक हुने अपेक्षा समेत व्यक्त गरेका छन्।