arrow

प्रहरी र प्रशासनमा एमालेको कब्जा रहेको महेश बस्नेतको खुलासा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ६ बुधबार
mahesh-basnet.jpg
तस्वीर–फाइल ।

काठमाडौं । नेकपा एमालेका नेता तथा अध्यक्ष केपी शर्मा ओलीका निकटस्थ महेश बस्नेतले प्रहरी र प्रशासनमा एमालेको कब्जा रहेको खुलासा गरेका छन् । आफ्ना नेता तथा कार्यकर्तालाई सम्वोधन गर्ने क्रममा बस्नेतले यस्तो खुलासा गर्दै अहिलेको शेरबहादुर देउवा नेतृत्वको सरकारमाथि हुँकार छाडेका हुन् । 

उनले सम्वोधनका क्रममा भने, ‘अहिले मुलुकको स्थायी सरकार कोही छ भने त्यो नेकपा एमाले हो । हामी सत्तामा भए पनि नभए पनि । यहाँ भित्रको प्रहरी प्रशासन भित्र हामीलाई माया गर्ने सपोर्ट गर्ने धेरै साथीहरु हुनुहुन्छ ।’

नेता बस्नेतले ‘हाम्रा विरुद्ध यस्ता खालका षडयन्त्र हुने खालका लक्षण देखिए भने हामी बडो सशक्त ढङ्गले प्रतिरोध गर्न तयार छौं ।’ भनी कार्यकर्तालाई हौसाएका छन् । उनी भिडन्तको मुडमा देखिएको पनि स्पष्टै हुन्छ । केपी शर्मा ओलीले बालुवाटार छाड्नुअघि प्रधानमन्त्रीको कुर्सी खोसिएकै दिन असार २९ गते महेश बस्नेत इन्चार्ज रहेको युथ फोर्स एमालेले फेरि ब्युँताएको थियो । 

उनले केपी ओलीले मधेशी नेताहरुलाई एमालेमा भित्र्याउन अध्यादेश ल्याएको खुलासासमेत गरेका छन् । उनले उक्त क्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले नेता माधवकुमार नेपाललाई मात्र सम्झेनन् नेपाली कांग्रेसको कर्तव्यमाथि पनि प्रश्न उठाए । 

उनले भने, ‘नेपाल बदल्ने अध्यादेश ल्याइरहँदा मधेश आन्दोलनबाट विद्रोह गरेका साथीहरुलाई एमालेमा प्रवेश गर्ने कुरा गरिरहँदा प्रचण्ड र माधव नेपालहरुले त्यो अध्यादेशको विरोध गर्नुभो । कांग्रेसले सदन अवरोध गर्यो । आज फेरि एमाले फुटाउनको निमित्त त्यो अध्यादेश ल्याइँदैछ भन्ने सुन्दैछौं ।’

ओलीले दुई पटक असंवैधानिक तबरले विघटन गरेको प्रतिनिधिसभालाई ब्युँताएको सन्दर्भमा रीस फेर्दै उनले भनेका छन्, ‘सदन अन्त्य गरिँदैछ भन्ने कुरा सुन्दैछौं । संसदीय पद्धतिको वकालत गर्ने र हामी नहुँदा संसदीय व्यवस्था हुँदैन संसदीय व्यवस्था नहुँदा हामी हुँदैनौं भन्ने कांग्रेसलाई लाज लाग्नु पर्ने हो । एमाले जुटाउनको निमित्त अध्यादेश ल्याउने केपी ओलीलाई रोक्ने माधव नेपालहरुलाई लाज लाग्नु पर्ने हो एमाले फुटाउन अध्यादेश ल्याउने कुरा गरिरहँदा ।’

नेता बस्नेतले आक्रोशपूर्ण तरिकाले भने, ‘यो षडयन्त्र पनि हामी पार लाग्ने देख्दैनौं । अनि केपी ओलीसँग निकट रहेका नेकपा एमालेका नेता कार्यकर्तालाई अनेक झुठा मुद्दा लगाई फसाउने भन्ने कुरा साथीहरुले हल्ला गर्दै हुनुहुन्छ । म कान खोलेर सुन्नका लागि अनुरोध गर्न चाहन्छु । अहिले पनि प्रशासन लगायतका निकायहरुमा नेकपा एमाले निकै बलियो छ ।’

उनले अगाडि थपे, ‘हिजो कुनै बेलामा कांग्रेसलाई स्थायी सरकार भन्ने गर्थे मान्छेले । कांग्रेस सत्तामा नगए पनि प्रहरी प्रशासन कांग्रेसको आडमा चल्छ भन्थे । अहिले मुलुकको स्थायी सरकार कोही छ भने त्यो नेकपा एमाले हो । हामी सत्तामा भए पनि नभए पनि । यहाँ भित्रको प्रहरी प्रशासन भित्र हामीलाई माया गर्ने सपोर्ट गर्ने धेरै साथीहरु हुनुहुन्छ । र हाम्रा विरुद्ध यस्ता खालका षडयन्त्र हुने खालका लक्षण देखिए भने हामी बडो सशक्त ढङ्गले प्रतिरोध गर्न तयार छौं ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ