काठमाडौँ । नेकपा एमालेका उम्मेद्वार महेश बस्नेतले मतदान गरेका छन् ।भक्तपुर निर्वाचन क्षेत्र नं २ बाट उम्मेद्वारी दिएका बस्नेतले बिहीबार बिहान सूर्यविनायक नगरपालिका-७ नं वडा कार्यालयको गुण्डु मतदान केन्द्र पुगेर मत हालेका हुन् ।
मतदानपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै बस्नेतले वालेन्द्र साह बालेन र रवि लामिछानेप्रति आरोप लगाएका छन् ।
उनले १४ हजार कैदी भगाउने विषयमा बालेन र रविको मुख्य हात रहेको दाबी गरे ।
बस्नेतले भदौ २३ र २४ गते देशमाथि आक्रमण भएको जिकिर गर्दै लोकप्रिय नेताहरूलाई हराउनका लागि बालेन शाह झापा गएको आरोप लगाए ।
उनले बालेन आफ्नो जन्मस्थान वा हुर्केको स्थानबाट उम्मेद्वार हुनु स्वाभाविक भए पनि गलत ढंगले झापा पुगेको टिप्पणी गरे ।
उनले भने, ‘१४ हजार कैदीहरू भगाउने कुरामा बालेन र रविको मुख्य हात छ । भदौ २३ र २४ गते देशमाथि आक्रमण भएको छ । पपुलर नेतालाई हराउन बालेन झापा गएका छन् यो जनताले रुचाएका छैनन् । उनी जन्मेको वा हुर्केको ठाउँमा उम्मेद्वार हुने कुरा स्वभाविक थियो तर गलत ढंगले झापा पुगे । त्यो कुरा झापाली जनताले स्वीकार गर्दैनन् ’
उनले झापाली जनताले उक्त कदम स्वीकार नगर्ने दाबीसमेत गरे ।