- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। तिब्बतको निर्वासित सरकारका प्रमुख पेन्पा छिरिङले दलाई लामालाई तिब्बत प्रवेशको अनुमति दिए चीनसँग वार्ता सम्भव भएको सङ्केत गरेका छन्। उनले बुधवार आध्यात्मिक धर्मगुरु दलाई लामालाई तिब्बत प्रवेशसँगै त्यहाँका विभिन्न पवित्र धामहरूको भ्रमणका लागि चीनले अनुमति दिएमा चीनसँग वार्ता सम्भव भएको बताएका हुन्।
"दलाई लामाले पनि तिब्बत भ्रमण गर्न चाहनुभएको छ । तिब्बतको ल्हासा उहाँको जन्मस्थल पनि हो । मलाई यो सम्भव छ जस्तो लाग्छ, तर यो सबै उनीहरूमा निर्भर रहन्छ । हामी अपिल गर्न चाहन्छौँ कि यदि यो सम्भव भएमा हामीलाई विश्वास हुनेछ कि चीन र हामीबिच वार्ता हुनसक्छ ।"
उनले सिनो तिब्बत द्वन्द्व अन्त्यका लागि यो महत्त्वपूर्ण कडी हुनेसमेत बताएका छन् । एक साझा सहमतिमा अगाडि बढ्नका लागि चीनले पनि पहल गर्नुपर्ने उनले बताएका हुन् ।
उनले भने, "हामीले हाम्रो आशालाई जीवित राख्नुपर्दछ । चीनले विगतमा कस्तो व्यवहार गर्यो र चीनले यस विषयमा के सोच्छ भन्दा पनि चीन आगामी दिनमा कसरी अगाडि बढ्छ भन्ने कुराले ठुलो अर्थ राख्दछ ।"
उनले आफूले निरन्तर पहल गरिरहेको प्रसङ्ग उल्लेख गर्दै चीन सरकारले आफ्नो स्थिति र नियत स्पष्ट पार्नुपर्ने बताए । उनले पछिल्लो समय चीनसँग संवादको कुनै औपचारिक संयन्त्र पनि नभएको जानकारी गराएका छन् ।
सन् २००२ देखि २०१० सम्म चीन र तिब्बतबिच आठ पटक वार्ता भए पनि कुनै समस्याको समाधान हुन सकेन । तर, त्यसपछि चीनले संवाद नै रोकेको थियो । अहिले विभिन्न चरणमा अनौपचारिक कुराकानी भइरहेकोसमेत उनले जानकारी गराएका छन्।