arrow

गठबन्धनको बैठक

प्रधानमन्त्रीले सरकारमा आउन गरेको आग्रहमा माधव नेपालले भने –सकारात्मक छु सल्लाह गरेर निर्णय दिन्छु 

जसपा सत्तामा जानेबारे उपेन्द्रले भने –निर्वाचन आयोगमा दलको विवाद टुंगिने क्रममा छ केही दिन पर्खिनुस् 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १० आइतबार
gathabandhan-meeting-9-saun.jpg

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई सरकारमा सहभागिताका लागि आग्रह गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा शनिबार बेलुकी बसेको सत्ता गठवन्धन आवद्ध पाँच दलको बैठकमा प्रधानमन्त्री देउवाले एमाले वरिष्ठ नेता नेपाललाई सरकारमा सहभागीताका लागि आग्रह गरेका हुन् ।
 
‘प्रधानमन्त्रीजीले माधवजीलाई सरकारमा आउनुस् भन्नुभयो । उहाँले पनि सकारात्मक छु सल्लाह गरेर निर्णय दिन्छु भन्नु भएको छ,’ गठवन्धनको बैठकमा सहभागी एक नेताले हाम्राकुरासँग भने । प्रधानमन्त्री देउवाले भने जतिसक्दो छिटो सरकारलाई पूर्णता दिएर जनताको कामलाई तदारुकता दिन गठवन्धनले सहयोग गर्नुपर्ने भन्दै सबै नेताहरुलाई त्यसका लागि सहजीकरण गर्न आग्रह गरेका छन् ।
 
सो क्रममा जसपा अध्यक्ष उपेन्द्र यादवले भने निर्वाचन आयोगमा आफ्नो दलको विवाद टुंगिने क्रममा रहेकाले केही दिन पर्खन प्रधानमन्त्री देउवालाई आग्रह गरेका छन् । देउवा प्रधानमन्त्री बनेपछि गठवन्धनको बैठकमा नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पहिलो पटक सहभागी भएका हुन् । 

यसअघि देउवा प्रधानमन्त्री बनेपछि सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको गठवन्धनको बैठकमा उनी सहभागी भएका थिएनन् । उनले नेता विजय पौडेललाई बैठकमा पठाएका थिए । 

बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने सरकारलाई अघि बढाउन गठवन्धनका सबैको सहयोग उत्तिकै महत्वपूर्ण रहेको भन्दै त्यसतर्फ ध्यान दिएर जनताको काममा लाग्नु पर्ने बताएका थिए । 

प्रधानमन्त्री देउवा बैठकमा प्रस्तुत हुँदा यसअघि भन्दा फरक ढंगबाट प्रस्तुत भएका थिए । उनी प्रधानमन्त्रीका लागि राखिएको कुर्सीमा नबसी अन्य नेताहरु जस्तै समान हैसियतमा सोफामा बसेका थिए । 

बैठकमा सहभागी नेताहरुले प्रधानमन्त्री देउवालाई बालुवाटारमा पार्टीको बैठक नराख्ने निणर्य गरेको प्रति धन्यवादसमेत दिएका थिए । बैठकमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र कांग्रेस महामन्त्री पूणर्बहादुर खड्का पनि सहभागी थिए । 

पाँच दलीय सत्ता गठवन्धनमा नेपाली कांग्रेससहित, माओवादी केन्द्र, एमालेको नेपाल समूह, जसपाको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चा सहभागी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ