- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । जनता समाजवादी पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षले पाउने पक्का भएको छ । सर्वोच्च अदालतमा ‘हेड काउन्ट’ रोक्न माग गर्दै महन्थ ठाकुर पक्षले हालेको रिटमा आइतबार सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि उपेन्द्र पक्षले जसपाको आधिकारिकता पाउने पक्का भएको हो ।
निर्वाचन आयोगले जसपाको आधिकारिकताको विवादका विषयमा हाल इजलास गठन गरेर विवादको छिनोफानोको प्रयास गरिरहेको छ भने भोलि सोमबार विवादको टुंगो लगाउने तयारी गरेको छ । त्यसका लागि आयोगले सोमबारलाई जसपाको दुबै पक्षलाई आयोगमा हाजिर हुन आदेश दिइसकेको छ ।
आयोगले राजनीतिक दल सम्वन्धि ऐनको व्यवस्था अनुसार जसपाको विवाद निरुपणको प्रक्रिया अघि बढाउँदै आइरहेको थियो । सो अनुसार नै आयोगले प्रमुख निर्वाचन आयुक्तको संयोजकत्वमा इजलास गठन गरेर विवाद निरुपणका लागि बहस र सुनुवाइ गर्दै आइरहेको छ ।
आयोगले कानुनी प्रक्रिया अनुसार नै सोमबार केन्द्रीय कार्यकारिणी समितिमा रहेका जसपाका सबै सदस्यहरुलाई बोलाएको हो । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले आयोगलाई सर्वोच्च प्रक्रिया राक्न कुनै जानकारी नआएकाले आयोगले कानुनी प्रक्रिया अघि बढाउने जानकारी दिए ।
आयोगले सोमबार नै नागरिकता वा मतदाता परिचयपत्रका आधारमा जसपाका कार्यकारिणी समितिलाई सनाखत गरेर कुन पक्षमा कति सदस्य छन भन्ने यकिन गर्दै जसपाको आधिकारिकताको टुंगो दिने भएको हो ।
सर्वोच्च अदालतले आइतबार महन्थ पक्षले अदालतमा दिएको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेपछि सो समूह अब संकटमा परेको हो । जसपाको कार्यकारिणी समितिमा रहेका ५१ सदस्य मध्ये यादव पक्षमा ३३ र महन्थ पक्षमा १७ जना रहेको बताइन्छ । रेशमलाल चौधरी भने जेलमा छन् । जसपा निर्वाचन आयोगमा २४ असार २०७७ मा दर्ता भएको थियो ।