श्रीलङ्कामा बहुमत जनसंख्याले खोप लगाएकोले घरबाटै काम गर्ने विकल्पको अन्त्य
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १६ शनिबार
426
Shares
कोलोम्बो। श्रीलङ्काले निजामती कर्मचारीहरूका लागि घरबाट नै काम गर्न सक्ने विकल्प अन्त्य भएको शुक्रवार जानकारी गराएको छ । कोरोनाभाइरस सङ्क्रमणको वृद्धि भइरहेको भए पनि सरकारले सोमबारदेखि सबै १२ लाख कर्मचारीलाई कार्यालयमा हाजिर भई सेवा प्रवाह गर्न आदेश दिएको हो ।
सरकारीका वरिष्ठ अधिकारी जयसुन्देराले भने, “श्रीलङ्काका बहुमत जनसङ्ख्यालाई खोप लगाइसकिएकोले घरबाट काम गर्ने विकल्पको अब आवश्यकता छैन ।”
श्रीलङ्कामा जुलाईको सुरूमा रहेको कोभिड–१९ सङ्क्रमण दरको तुलनामा अहिलेको सङ्क्रमण दर दोब्बर भए पनि यो कदम चालिएको हो । यहाँ दैनिक कोभिड–१९ सङ्क्रमितको सङ्ख्या दुई हजारभन्दा बढी रहेको छ । कोभिड–१९ सङ्क्रमितको सङ्ख्यामा पुनः वृद्धि हुन थालेपछि यसको सामना गर्न अस्पतालहरू सङ्घर्षरत रहेका एक वरिष्ठ स्वास्थ्य अधिकारीले बताए ।
सरकारी तथ्याङ्क अनुसार यहाँका करिब ९१ लाख ७० हजार नागरिक अर्थात् जनसङ्ख्याको ४३ प्रतिशतले कम्तीमा एउटा खोप लगाइसकेका छन् । यस्तै दुवै खोप लगाउनेको सङ्ख्या पनि दुई लाखभन्दा बढी भइसकेको छ । श्रीलङ्कामा अहिलेसम्म कोभिड–१९ सङ्क्रमितको सङ्ख्या तीन लाख पाँच हजार पुगेको र चार हजार ३०० भन्दा बढी सङ्क्रमित व्यक्तिको मृत्यु भइसकेको सरकारी तथ्याङ्कमा उल्लेख छ । यद्यपि सरकारको तथ्याङ्कभन्दा निकै धेरै व्यक्ति सङ्क्रमित भएको वा सङ्क्रमणका कारण मृत्यु भएको स्थानीयहरूले बताउने गरेका छन् ।
सरकारले सिन्हाली र तामिल नयाँ वर्षमा मनाइने परम्परागत पर्वमा कोभिड नियन्त्रणका लागि अपनाइएका उपायहरूलाई कडाइ नगर्दा अप्रिलपछि सङ्क्रमितको सङ्ख्यामा अत्यधिक वृद्धि भएको आरोप सरकारका आलोचकहरूले लगाउने गरेका छन् ।
यद्यपि सङ्क्रमण दर बढेपछि सरकारले मे महिनापछि नियन्त्रणका उपायलाई कडाइका साथ लागु गरेको थियो भने यसै महिनाको सुरुदेखि यसलाई पुनः खुकुलो पारेको छ ।