arrow

प्रधानमन्त्री देउवाका बीस दिन : सरकारलाई पूर्णता दिन सकस

गठबन्धनमा आबद्ध दलहरु अलमलमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १७ आइतबार
Sher-bahadur-deuba-n.jpg

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारलाई मन्त्री छान्नै सकस परेको छ । २९ असारमा प्रधानमन्त्री नियुक्त भएका देउवाले सरकारको नेतृत्व गरेको आइतबार २० दिन पुगेको छ । सरकारमा प्रधानमन्त्री बाहेक चार फुल मन्त्री र एक राज्यमन्त्री छन् । स्वास्थ्य मन्त्रालय राज्यमन्त्रीको भरमा छ । 

हालको सत्ता गठबन्धनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, उपेन्द्र यादव नेतृत्वको जसपा, नेकपा एमालेको माधव नेपाल समूह र राष्ट्रिय जनमोर्चा गरी पाँच दल आबद्ध छन् । 

सत्ता गठबन्धनको मुख्य सहयोगी मानिएको नेकपा एमालेको माधव नेपाल समूह सरकारमा जाने नजाने अझै टुङ्गो छैन । यस्तै मुख्य नेतृत्वकर्ता दल कांग्रेसबाट अझै कोको मन्त्री बन्ने टुङ्गो लागेको छैन । 

यसैगरी माओवादी केन्द्रमा मन्त्रीका लागि आकाङ्क्षी धेरै हुँदा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हैरानीमा छन् । जसपालेसमेत सरकारमा पठाइने मन्त्रीका बारेमा निर्णय लिन सकेको छैन । गठबन्धनको एक घटक राष्ट्रिय जनमोर्चाले भने सरकारमा नजाने निर्णय लिइसकेको छ ।  

माधव नेपाललाई फकाइँदै

सत्ता साझेदार दलले सरकारमा सहभागी हुनका लागि एमाले नेता माधव नेपाललाई फकाउन अझै प्रयास गर्दै आइरहेका छन् । त्यसका लागि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आइतबार मात्रै पनि नेपाल निवास कोटेश्वरमा छलफलका लागि पुगेका छन् । 

नेपाल निकट रहेर प्रधानमन्त्रीमा देउवालाई सघाएका २२ सांसदले भने सरकारमा सहभागी हुन नेपाललाई सुझाउँदै आइरहेका छन् । तर, आन्तरिक कलहका कारण आफ्नो समूहलाई सरकारमा पठाउने नपठाउने विषयमा नेपालले गठबन्धनलाई निर्णय दिन सकेका छैनन् । 

उनले सो विषयमा कानुनका जानकारहरूसँग समेत छलफल गरिरहेको बताइन्छ । सरकारमा सहभागी हुँदा मूल पार्टीबाट हुने कारबाही र त्यसपछिको अवस्थाका विषयमा नेता नेपालले आन्तरिक रूपमा छलफल गर्दै आइरहेको बताइन्छ । 

सोही कारण सत्ता गठबन्धनमा रहेका अन्य दलले नेपाल नेतृत्वको समूहलाई सरकारमा सहभागीताका लागि कुर्दै आइरहेको बताउने गरेका छन् । 

माओवादीको बैठक

माओवादी केन्द्रले सरकारमा पठाउने मन्त्रीहरूको विषयमा आज छलफल गर्दै छ । माओवादी केन्द्रको स्थायी कमिटी बैठक सो विषयमा छलफल गर्न भन्दै केही बेरअघि शुरु भएको छ । 

तर यसअघि नै मन्त्री छान्न आफूलाई हम्मेहम्मे परेको भन्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी भित्र धेरै आकाङ्क्षी रहेको बताएका थिए । 

माओवादी केन्द्रबाट सरकारमा हाल जनार्दन शर्मा अर्थमन्त्री र पम्फा भुसाल ऊर्जामन्त्री छन् । गठबन्धन भित्रको आन्तरिक सहमती अनुसार ७ मन्त्रालय माओवादी केन्द्रको भागमा रहँदा अझै ५ जना मन्त्रीको नाम माओवादी केन्द्रले टुंगाउनै पर्ने छ । 

जसपा पनि अनिर्णित

जसपाले पनि सरकारमा पठाउने मन्त्रीको नाम टुङ्गाउन सकेको छैन । जसपाले शनिवार मात्रे संसदीय दलको नेतामा उपेन्द्र यादवलाई छानेको छ । 

जसपाले मन्त्रीको नाम टुङ्गो लगाउन सकस भएपछि अध्यक्ष यादवसहित अर्का अध्यक्ष बाबुराम भट्टराइ र वरिष्ठ नेता अशोक राईलाई जिम्मा दिएको छ । तर कहिलेसम्म मन्त्रीको नाम टुङ्गो लगाउने निश्चित छैन । जसपाले पनि ६ वा ७ मन्त्रालय पाउने सम्भावना छ । 

अरूलाई मिलाएर कांग्रेसमा छलफल

कांग्रेसबाट प्रधानमन्त्री देउवासहित गृहमन्त्रीमा बालकृष्ण खाँण, कानुन मन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की र स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ छन् ।  कांग्रेसले अब पार्टी भित्रको नेता रामचन्द पौडेल समूह र कृष्णप्रसाद सिटौला समूहलाई पनि मिलाएर सरकारमा लैजानु पर्ने बाध्यता छ । 

यसरी भागबण्डा मिलाउँदा कांग्रेसबाट अब चार वा पाँच जना मन्त्री थपिन सक्छन् । यस्तो अवस्थामा प्रधानमन्त्री देउवाले पौडेल समूह र सिटौला समूहलाई एक एक मन्त्री दिन सक्छन् भने आफ्ना तर्फबाट थप मन्त्री बनाउन सक्छन् । 

पौडेल र सिटौला निकट नेताहरूका अनुसार प्रधानमन्त्री देउवाले अझैसम्म मन्त्रीका लागि दुवै समूहबाट नाम मागिसकेका छैनन् । 

प्रधानमन्त्री देउवा निकट नेता मीन विश्वकर्माले पहिले सत्ता गठबन्धन आबद्ध दलहरुबीच मन्त्रालय र मन्त्रीको टुङ्गो लगाएपछि आफ्नो दल भित्रबाट नाम माग्ने जानकारी दिए । 

‘यो गठबन्धन सरकार हो, प्रधानमन्त्री ज्यूले पहिले गठबन्धन आबद्ध दलबाट मन्त्री टुङ्गाएर आफ्नो दलबाट कोको हुने टुङ्गाउनु हुन्छ, छलफल हुँदै छ,’ नेता विश्वकर्माले हाम्राकुरासँग भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ