arrow

जापानद्वारा धेरै चिनियाँ नागरिकलाई शरणार्थीको हैसियत प्रदान

logo
एजेन्सी
प्रकाशित २०७८ साउन १८ सोमबार
tokyo-japan.jpg.jpeg
फाइल तस्बिर

टोकियो। चीनमा राजनीतिक र धार्मिक असहिष्णुताका बीच जापानले धेरै चिनियाँ नागरिकहरुलाई शरणार्थी हैसियत प्रदान गरेको छ। चीनमा राजनीतिक र धार्मिक असहिष्णुता बढेको बेला सन् २०२० मा जापान सरकारले धेरै चिनियाँ नागरिकलाई शरणार्थीको हैसियत प्रदान गरेको हो। ती शरणार्थीमध्ये केही सिन्जियानका अल्पसंख्यक मुस्लिम उईगुर समुदायका रहेका छन्।

उईगुर लगायत अन्य धार्मिक अल्पसंख्यकमाथि चीन सरकारले दमन गरिरहेको अन्तराष्ट्रिय समुदायको आरोप छ। सन् २०२० मा जापानले शरणार्थीको हैसियत प्रदान गरेको विभिन्न मुलुकका ४७ जना मध्ये ११ जना चिनियाँ नागरिकहरु रहेको जापानी आप्रवासी सेवा एजेन्सीले जनाएको छ। 

शरणार्थीको हैसियत नदिने मुलुकको रुपमा चिनिएको जापानले पछिल्लो समय चिनियाँ नागरिकहरुलाई शरणार्थी हैसियत प्रदान गरेको हो । 

सन् २०१९ मा जापानले जम्मा ४४ जना विदेशी नागरिकलाई शरणार्थी हैसियत प्रदान गरेको थियो भने अमेरिका, जर्मनी, फ्रान्स जस्ता मुलुकले हजारौंलाई शरणार्थी हैसियत प्रदान गरेको थियो। 

सन् २०१८ मा जापानमा शरणार्थी हैसियतका लागि आवेदन दिएका तीन सय आठ चिनियाँ नागरिकमध्ये आठ जनाले मात्र शरणार्थी हैसियत पाएका थिए। त्यस्तै २०१९ मा एक सय चौँतिस जनाको आवेदन मध्ये कसैले पनि अनुमति पाएनन्। तर २०२० मा शरणार्थी आवेदन दिने अठासी जना चिनियाँ नागरिकमध्ये एघार जनाले अनुमति पाएका हुन्, जुन जापानको मामिलामा धेरै संख्या हो।

शरणार्थी हैसियत प्राप्त गर्ने चिनियाँ नागरिकहरु अधिकांस धार्मिक तथा राजनीतिक दमनमा परेकाहरु रहेको बताईएको याहु न्युजले लेखेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ