arrow

नेपाल टेलिभिजनको अध्यक्षबाट विदा भए महेन्द्र विष्ट

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २१ बिहिबार
mahendra-bista.jpg

काठमाडौं । सरकार परिवर्तन भएसँगै नेपाल टेलिभिजनका अध्यक्ष महेन्द्र विष्टले पदबाट राजीनामा दिएका छन् । अध्यक्ष विष्टले विहीबार प्रधानमन्त्रीको निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर राजीनामा बुझाएको जनाएका छन् । करिव ३८ महिना अघि जिम्मेवारी प्रदान गर्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, विभागीय मन्त्री गोकुल बाँस्कोटालाई उनले धन्यवाद भनेका छन् ।

केपी ओली प्रधानमन्त्री भएको बेला विष्टले नेपाल टेलिभिजनको अध्यक्षमा राजनीतिक नियुक्ति पाएका उनले आफ्नो कार्यकालमा भएका उपलब्धीहरु सामाजिक संजालमार्फत जानकारी पनि गराएका छन् ।

‘नेपाल टेलिभिजनका सबै च्यानलहरूलाई एचडी प्रविधिमा रुपान्तरण गर्ने, रुग्ण आयोजनाको रुपमा रहेको इटहरी प्रसारण केन्द्रको भवन निर्माण कार्य सम्पन्न गरी एनटीभी इटहरी च्यानल सञ्चालन गर्ने, लामो समयदेखि हप्ताको केही घण्टा मात्र उत्पादनमा सीमित रहेको एनटीभी कोहलपुर प्रसारण केन्द्रलाई एनटीभी कोहलपुर च्यानलका रुपमा समाचार बुलेटिनसहित दैनिक सात आठ घण्टाको कार्यक्रम उत्पादनसहित चौबीसै घण्टा नियमित प्रसारणमा ल्याउने, डिजिटल प्लेटफर्ममा नेपाल टेलिभिजनको बलियो उपस्थिति गराउने, संस्थानको व्यापार विस्तार गरी तीन वर्ष अघिको तुलनामा करिव ३३ प्रतिशतले बृद्धि गर्ने जस्ता कार्यहरू भएका छन्’ उनले आफ्नो कार्याकालको फेहरस्ती लेखेका छन् ।

उनले लेखेका छन्, ‘समाचार निर्देशिका, शैली पुस्तिका, ड्रेस कोड, कार्यक्रम मापदण्ड, खर्च नियन्त्रण कार्यविधि आदि जारी गर्नुका साथै संस्थाको विद्यमान कानुन, संगठन संरचना, व्यावस्थापकीय शैली र रणनीतिमा परिवर्तन गरिएको छ । यसले संस्थालाई मितव्ययी, पारदर्शी र परिणाममुखी बनाउनुका साथै कर्मचारीमा उत्प्रेरणा बढाउन सहयोग पुगेको छ । समग्रमा यो अवधिमा नेपाल टेलिभिजनको विषयवस्तु, प्रस्तुति, प्रविधि र व्यापारमा भएको उल्लेखनीय सुधारले नेपाल टेलिभिजनको आर्थिक अवस्था सुदृढ हुनुका साथै लोकप्रियता र साख बढेको मेरो विश्वास छ ।’

त्यस्तै विष्टले नेपाल टेलिभिजनले सुधारका माथिका प्रक्रियामा नयाँ इँटा थप्दै यसै आर्थिक वर्षमा विश्वमा नेपालको उपस्थिति अझ बलियो बनाउन एनटीभी वल्र्ड सञ्चालन गर्ने तयारी भएको छ भने शैक्षिक र मौसम च्यानल सञ्चालन गर्ने योजना पनि अघि बढेको,  सिंहदरवार प्लाजामा अडिटोरियम हल सहितको बहुतले भवन निर्माणको साथै एनटीभीलाई विपतसम्बन्धी विषयको कार्यक्रम उत्पादन र प्रसारणमा नेतृत्वदायी र उदाहरणीय च्यानल बनाउन जापान सरकारको प्राविधिक सहयोगमा नयाँ परियोजना सञ्चालनको तयारी पनि अघि बढिसकेको पनि उल्लेख गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ