- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेपाली काँग्रेसका सह महामन्त्री डा प्रकाशशरण महतले आफूले प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा सीमित निकटस्थ सहयोगी र नेताका बिचमा राखेका कुरालाई जोडेर तोडमोड गरी समाचार सार्वजनिक भएको भन्दै ध्यानाकर्षण भएको जनाएका छन् ।
उनले शुक्रवार एक विज्ञप्ति जारी गरी 'शेरबहादुर देउवा किन मलाई मन पर्छ' भन्ने भिडियोको पक्षमा आफूले भन्दै नभनेको कुरा सञ्चारमाध्यममा सम्प्रेषण गरिएकामा ध्यानाकर्षण भएको उल्लेख गरेका छन्। 'मैले प्रधानमन्त्रीको उपस्थितिमा सीमित निकटस्थ सहयोगी र नेताहरूका बिचमा राखेका कुरालाई जोडेर 'शेर बहादुर देउवा किन मलाई मन पर्छ' भन्ने भिडियोको पक्षमा बोल्यो भन्दै नभनेको कुरा सञ्चार माध्यमहरूमा एक पछि अर्कोगरि सुनियोजित रूपमा सम्प्रेषण गरिएकोमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।'
प्रधानमन्त्री देउवाले आफ्नो जीवनको विभिन्न कालखण्डमा सत्तामा हुँदा र नहुँदा गरेका राम्रा कामलाई उल्लेखित भिडिओमा प्रस्तुत गरेको भन्दा तथ्य र आधारसहित परिपक्व तथा भिन्न तरिकाबाट सम्प्रेषण गर्न सकिन्थ्यो भन्ने आफूलाई पनि लागेको सह महामन्त्री डा महतको भनाइ छ ।
'प्रधानमन्त्री वा उहाँको सहयोगीले गरेको कुनै कार्यले प्रधानमन्त्रीको छविलाई हानि गरेको छ भन्ने लागेमा प्रधानमन्त्रीको निरन्तर पहुँचमा रहेका नेता र निकटस्थहरुले सिधै प्रधानमन्त्रीलाई भनेर सच्याउन सकिने र त्यसका लागि सामाजिक सञ्जालको सहयोग लिनुपर्ने अवस्था के परिस्थितिले आइपरेको हो भनेर उक्त छलफलमा मैले जिज्ञासा मात्र राखेको हुँ । नेतृत्व तहबाट कुनै कमी कमजोरी भएमा सिधै राख्ने मेरो स्वभाव छ त्यसले काम नगरे मात्र संस्थागत र सार्वजनिक रूपमा राख्नुपर्छ भन्ने मान्यता म राख्दछु ।
छलफलका क्रममा भन्दै नभनेको कुरालाई यसरी तोडमोड गरी सञ्चार माध्यममा त्यैभित्र बाट सम्प्रेषण हुनु दुर्भाग्यपूर्ण भएको सबै सरोकारवाला, पार्टीका समर्थक र शुभचिन्तकहरूमा निवेदन गर्दछु । नेतृत्व तहबाट कुनै कमीकमजोरी भएमा सिधै राख्ने मेरो स्वभाव छ त्यसले काम नगरे मात्र संस्थागत र सार्वजनिक रुपमा राख्नुपर्छ भन्ने मान्यता म राख्दछु', विज्ञप्तिमा उल्लेख छ ।