- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । जहाँ कङ्गाल, त्यहाँ कचिंगल भन्ने उखान अहिले जनता समाजवादी पार्टीको अध्यक्ष पदबाट हटाइएका महन्थ ठाकुर-राजेन्द्र महतो खेमामा ठ्याम्मै मिलेको छ । उक्त समूहभित्र अहिले कचिंगल सुरु भएको छ । ठाकुरलाई साथ दिएका कार्यकारिणी समितिका सदस्य विर्खेशचन्द्र लाल तथा डा.विजय सिंह लगायतका नेताहरू अहिले ठाकुर समूहसँग आक्रोशित भएका छन् ।
ठाकुर पक्षबाट हालै तराई मधेसमा गरेको सबै कार्यक्रमलाई उनीहरूले बहिस्कार गरेका छन् । लाल पुरानो राष्ट्रिय जनता पार्टीका वरिष्ठ उपाध्यक्ष तथा सिंह पुरानो राजपाको महामन्त्री पनि हुन् । ।यसअघि, दुवै ठाकुरसँग निकट मानिन्थे ।
पूर्व राजपाको अध्यक्ष मण्डल प्रणालीलाई ब्युँझाउन खोजिएको भन्दै लाल लगायतका नेताहरूले ठाकुर-राजेन्द्र महतो पक्षले गरेको कार्यक्रम बहिस्कार गरेका हुन् । ठाकुर -महतो समूहले हालै मधेसका विभिन्न जिल्लामा प्रदेश तथा जिल्ला कार्यकर्ता भेला गरेको थियो । उक्त भेलामा पार्टीका शीर्ष नेताहरूलाई बोलाइएको थियो । भेलामा लाल,सिंह लगायतका नेताहरूलाई पनि बोलाइएको थियो ।
प्रमुख अतिथि बनाउने सवालमा भने ठाकुर र महतोले पूर्व राजपाका अध्यक्ष मण्डलका सदस्य ठाकुर,महतो, शरत्सिंह भण्डारी र अनिल झालाई मात्र राखिएको, अन्य नेताहरूको हैसियतलाई गौन बनाइएको आरोप लाल लगायतका नेताहरूको छ । अगुवा कार्यकर्ता भेलामा अतिथि चयन गर्दा ठाकुर-महतोले पुरानो राष्ट्रिय जनता पार्टीको अध्यक्ष मण्डल प्रणालीलाई ब्युँझाउन खोजेकोले आफू उक्त भेलमा सहभागी नभएको विर्खेशचन्द्र लालले बताए । पार्टीले गरेका अन्य निर्णयहरूमा पनि पुरानो राजपाको अध्यक्ष मण्डल प्रणालीलाई हाबी बनाइएको असन्तुष्ट नेताहरूको भनाइ ।
ठाकुर-महतो पक्षले हालै सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही लगायतका जिल्लामा अगुवा कार्यकर्ता भेला गरेको थियो । ती भेलाहरूमा पुरानो राजपाका अध्यक्ष मण्डलका सदस्यहरूलाई मात्र प्रमुख अतिथि बनाइएको थियो । कुनै नेतालाई ४-५ ठाउँमा प्रमुख अतिथि बनाइएको,कुनै नेतालाई एक ठाउँमा पनि मौका नदिएको आरोप असन्तुष्ट पक्षको छ । पार्टीभित्रै वरिष्ठ,सक्रिय तथा योगदान पुर्याएका व्यक्तिलाई पाखा लगाएर योगदान नदिएका तथा कनिष्ठ व्यक्तिलाई प्राथमिकता दिएको आरोप लालले लगाए ।
मधेसमा भेला गरेर काठमाडौँ फर्केका ठाकुर- महतो लगायतका नेताहरू नयाँ पार्टी खोल्ने गृहकार्यमा जुटेका छन् । यद्यपि उनीहरूले तत्कालै नयाँ पार्टी घोषणा नगर्ने भएका छन् । तत्काल नयाँ पार्टी घोषणा गर्दा सांसद पद गुम्ने भएकोले तत्काल नयाँ पार्टी घोषणा नगर्ने सोचमा ठाकुर-महतो लगायतका नेताहरू छन् । कार्यकर्ता भेलामा सहभागी भएका केशव झाले अगुवा कार्यकर्ता भेलामा अधिकांश कार्यकर्ताले नयाँ पार्टी खोल्न सुझाव दिएको बताए । ठाकुर-महतो पक्षले शनिवार काठमाडौँमा बागमती स्तरीय अगुवा कार्यकर्ता भेला गर्दै छन् । उक्त भेलामा ठाकुर,महतो, शरत्सिंह भण्डारी लगायतका नेताहरूले सम्बोधन गर्ने भएका छन् ।
ठाकुरले अध्यक्ष लेख्न छाडे
निर्वाचन आयोगले गरेको अद्यावधिक सूचिमा महन्थ ठाकुरलाई अध्यक्ष पदबाट हटाएको बताएपछि ठाकुरले ‘जसपा अध्यक्ष’ लेख्न छाडेका छन् । यस अघि उनले जसपा अध्यक्षको नामबाट मधेसमा कार्यक्रम गर्दै आएका थिए । बागमती प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेलामा सहभागीहरूलाई बोलाइएको चिठीमा पार्टीका नेता महन्थ ठाकुरले सम्बोधन गर्ने भनिएको छ । यसअघि उनी निकट कार्यकर्ताहरूले ठाकुरलाई अध्यक्ष भनी सम्बोधन गर्थे ।