arrow

नेपाली काँग्रेस १४औँ महाधिवेशन

क्रियाशील सदस्यताको बाँकी विवाद मिलाउने जिम्मा सिटौला नेतृत्वको समितिलाई, विधानमा संशोधनको समेत प्रस्ताव

महाधिवेशनको नयाँ कार्यतालिका बनाएको काँग्रेस बैठकले अरू के के गर्‍यो निर्णय

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७८ साउन ३० शनिबार
krishna-prasad-sitoula.jpg
फाइल तस्बिर

काठमाडौँ। काँग्रेस केन्द्रीय समिति बैठकले पार्टीको १४औँ महाधिवेशन ९ देखि १३ मङ्सिरमा गर्ने गरी नयाँ कार्यतालिका ल्याएको छ। योसँगै काँग्रेसको वडादेखि केन्द्रसम्मकै नयाँ अधिवेशनको नयाँ कार्यतालिका बनेको छ। बैठकले पार्टीका उपसभापति एवं अन्य राजनीतिक दल समायोजन समितिका संयोजक विमलेन्द्र निधिले प्रस्तुत गरेको प्रतिवेदन पारित गरेको छ । 

केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले प्रस्तुत गरेको प्रतिवेदन बैठकले पारित गरेको छ । उक्त प्रतिवेदनमा उल्लेखित निर्णय गर्न बाँकी रहेका कार्य पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाल र केन्द्रीय सदस्य रमेश लेखकले भाद्र २ गते भित्र सहमतिमा टुङ्गो लगाई भाद्र ३ गते केन्द्रीय सभापतिलाई बुझाउने निर्णय बैठकले गरेको छ ।

सबै तहको अधिवेशन र प्रतिनिधित्वको अनुसूची सम्बन्धी व्यवस्था समेतको निर्वाचन निर्देशिका केन्द्रीय कार्यसमितिको बैठकबाट प्राप्त सुझावलाई समेत ध्यानमा राखी निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवको परामर्शमा सह महामन्त्री डा. प्रकाश शरण महत र केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले भाद्र १ गते सहमतिमा टुङ्गो लगाई भाद्र २ गतेभित्र सभापतिलाई बुझाउने गरी निर्वाचन निर्देशिकालाई पनि बैठकले पारित गरेको छ ।

विधानमा संशोधन
पार्टीको १४ औँ महाधिवेशनका लागि गाउँ/नगर/उपमहानगर र महानगरपालिकाको कार्यसमितिको सभापतिको उम्मेदवार क्षेत्रीय प्रतिनिधिबाट हुन पाउने, सभापति बाहेकको कार्यसमितिका पदाधिकारी र सदस्यको उम्मेदवार क्रियाशील सदस्य पनि हुन सक्ने र गाउँ/नगर/उपमहानगर/महानगरपालिका कार्यसमितिमा मतदाता वडा सभापति र क्षेत्रीय प्रतिनिधि हुने व्यवस्था गर्ने ।

अपाङ्गता भएका व्यक्तिहरूको प्रतिनिधित्वका सन्दर्भमा विधान र नियमावलीमा गरिएको पालिकाका क्रियाशील सदस्यहरूले निर्वाचित गर्ने भनी उल्लेखित गरिएका पदहरूको निर्वाचन वडा सभापति र क्षेत्रीय प्रतिनिधिले गर्ने निर्णय बैठकले गरेको छ। 

विधानको धारा ८ (१) (क) र धारा ९ (१) (ख) मा उल्लेख गरिएको क्रमशः “गाउँपालिका क्षेत्र भित्रका सम्पूर्ण नेपाली काँग्रेसका क्रियाशील सदस्य गाउँपालिका अधिवेशनका र नगर/उपमहानगर/महानगरपालिका क्षेत्र भित्रका नेपाली काँग्रेसका क्रियाशील सदस्य नगरपालिका अधिवेशनका सदस्य” भनिएकोमा “गाउँपालिका क्षेत्रभित्रका वडा सभापति र क्षेत्रीय प्रतिनिधि तथा नगरपालिका क्षेत्र भित्रका वडा सभापति र क्षेत्रीय प्रतिनिधि” भनी संशोधन गर्ने । उपरोक्त अनुसारका विधानमा गरिएका संशोधन पार्टीको आगामी महाधिवेशनबाट अनुमोदन गरिने निर्णय पनि बैठकले गरेको छ ।

विदेशस्थित जनसम्पर्क समितिका सम्बन्धमा
विदेशस्थित नेपाली जनसम्पर्क समितिको सदस्यता सम्बन्धी नेपाली काँग्रेसको विधानको धारा ४ (१२) मा गरिएको व्यवस्थामा, “नेपाली जनसम्पर्क समितिको सदस्यता” थप गर्ने निर्णय गरेको छ। विदेशस्थित नेपाली जनसम्पर्क समितिको गठन र प्रतिनिधित्व सम्बन्धी नेपाली काँग्रेसको विधानको धारा १४ मा गरिएको व्यवस्थामा संशोधन गर्ने निर्णय बैठकले गरेको छ।

संशोधन अनुसार 'नेपाली जनसम्पर्क समिति कार्यसमितिको अध्यक्ष निर्वाचित हुन पार्टी विधान एवं नियमावली बमोजिम नेपाली काँग्रेसको क्रियाशील सदस्यता प्राप्त गरेको नेपाली नागरिक हुनु पर्नेछ।' त्यसैगरि 'नेपाली जनसम्पर्क समिति कार्यसमितिको अध्यक्ष बाहेक अन्य पदाधिकारी र सदस्यहरू नेपाली काँग्रेसको क्रियाशील सदस्यता वा जनसम्पर्क समितिको सदस्यता प्राप्त गरेको व्यक्तिहरूमध्येबाट निर्वाचित/मनोनीत हुन सक्नेछन्'।

'पार्टी विधान र नियमावली अनुसार नेपाली जनसम्पर्क समितिबाट पार्टीको महाधिवेशन प्रतिनिधि निर्वाचित हुनका लागि नेपाली काँग्रेसको क्रियाशील सदस्यता प्राप्त गरेको नेपाली नागरिक हुनु पर्ने' निर्णयबाट काँग्रेसको विधानमा गरिएका संशोधन पार्टीको आगामी महाधिवेशनबाट अनुमोदन गरिने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

नेपाली काँग्रेसको नियमावली २०७६ को नियम ५(३)(ख)(३) मा नेपाली जनसम्पर्क समिति मकाउ र साइप्रसबाट नयाँ क्रियाशील सदस्यता शुल्क बापत अमेरिकी डलर तीस र नवीकरण शुल्क बापत नियम ५ (३) (ङ) बमोजिम अमेरिकी डलर पन्ध्र बुझाउनु पर्ने व्यवस्था भएकोमा, नेपाली जनसम्पर्क समिति, मकाउ र साइप्रसले नयाँ सदस्यता शुल्क बापत अमेरिकी डलर पन्ध्र र नवीकरण शुल्क बापत नयाँ सदस्यता शुल्कको आधा रकम दाखिला गर्नु पर्ने गरी नियमावलीको उक्त प्रावधानलाई संशोधन गर्ने निर्णय पनि बैठकले गरेको छ।

‘नेपाली जनसम्पर्क समितिको सदस्यको सदस्यता शुल्क’ नेपाली काँग्रेसको क्रियाशील सदस्यता शुल्क सरह हुने समेत बैठकले गरेको छ ।

पार्टीको विधान र नियमावली अनुसारको आवश्यक प्रक्रिया पुर्‍याई क्रियाशील सदस्यताको नामावलीको सूची, सदस्यता शुल्क, सहयोग रकम (लेवी), कार्यसमितिको निर्णय प्रतिलिपि लगायत आवश्यक विवरण बुझाएका नेपाली जनसम्पर्क समिति भारत, दक्षिण कोरिया, पोल्यान्ड, नर्वे, मकाउको क्रियाशील सदस्यता बैठकले स्वीकृत गरेको छ। 

नेपाली जनसम्पर्क समिति हङकङको क्रियाशील सदस्यता यस अघि नै स्वीकृत गरी पठाइएकोमा त्यसलाई बैठकले अनुमोदन गरेको छ। 

म्याद समाप्त भएका पार्टी आबद्ध भ्रातृ सङ्घहरू नेपाल विद्यार्थी सङ्घ, नेपाल तरुण दल, नेपाल प्रजातन्त्र सेनानी सङ्घ, नेपाल किसान सङ्घ, नेपाल दलित सङ्घ, नेपाल आदिवासी जनजाति सङ्घ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घ, नेपाल तामाङ सङ्घ र नेपाल ठाकुर समाजको पदावधि समाप्त भएको मितिले ६ महिना थप गर्ने निर्णय बैठकले गरेको छ।

अन्य राजनीतिक दल समायोजन समितिका संयोजक एवं उपसभापति विमलेन्द्र निधि र समितिका सदस्यहरू तथा केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखक र समितिका सदस्यहरूले सफलतापूर्वक कार्य सम्पन्न गर्नु भएकोमा यो बैठकले धन्यवाद ज्ञापन गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ