- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । जनता समाजवादी पार्टी जतिसक्दो चाँडो सरकारमा जाओस् भन्ने चाहना पार्टी अध्यक्ष उपेन्द्र यादवलाई भन्दा पनि अध्यक्ष पदबाट हटाइएका महन्थ ठाकुर र उनको खेमालाई भएको छ ।
जसपा सरकारमा गएमा सरकारमा जान नपाएकाहरू अध्यक्ष उपेन्द्र यादवसँग चिढिने र यसबाट आफूलाई फाइदा हुने ठाकुरको बुझाई छ । त्यसबेला पार्टी फुटाउनकोलागि संसदीय दल र केन्द्रीय समितिमा ४० प्रतिशत पुग्ने ठाकुर पक्षको विश्वास छ ।
सरकारमा जानकोलागि ठाकुर पक्षका १२ जना सांसद उपेन्द्र यादवतिर गएका छन् । केही सांसदलाई पार्टी अध्यक्ष यादवले मन्त्री बनाउने आश्वासन दिएका छन् । आश्वासन दिएका सबै नेता मन्त्री हुन नसक्ने ठाकुर पक्षको बुझाई छ । ‘त्यसबेला उहाँहरू हाम्रोतीर आउनु हुन्छ र हाम्रो पक्ष अहिलेको भन्दा बलियो हुन्छ’ठाकुर खेमा एक नेताले भने ।
हुन पनि त्यस्तै भएको छ । ठाकुर पक्ष सरकारमा जान लागेको बेला यादव पक्षका १२ जना सांसद ठाकुरतिर गएका थिए । त्यसबेला ठाकुरसँग २० जना र यादवसँग १२ जना मात्र सांसद थिए । ठाकुर पक्ष सरकारबाट बाहिरिने बित्तिकै परिस्थिति उल्टो भयो । ठाकुर पक्षका सांसद यादव पक्षमा जान सुरु गरे । अहिले यादवसँग कम्तीमा २० जना र ठाकुरसँग बढीमा १२ जना मात्र सांसद छन् ।
केपी ओली सरकारमा सहभागी भएका २ जना सांसद राजकिशोर यादव र रेणुका गुरुङले कित्ता परिवर्तन गरी यादव पक्षमा पुगेका छन् । केही दिन अघि ठाकुर पक्षले गरेको अनौपचारिक बैठकमा ठाकुरले जसपा सरकारमा गएमा आफूहरूलाई फाइदा हुने विश्लेषण गरेका थिए । अहिले पार्टी फुटाउनकोलागि ठाकुरसँग केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत पुग्दैन । तर जसपा सरकारमा गएमा मन्त्री हुनकै यादवलाई साथ दिएकाहरू आफ्नो खेमा फर्कने ठाकुर पक्षको बुझाई छ ।
केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत नपुगेको कारण ठाकुर पक्षले नयाँ पार्टी खोलेको छैन । नयाँ पार्टी खोल्ने बित्तिकै सांसद पद जाने भएकोले जसपामै रहने तर भित्रभित्रै नयाँ पार्टीको अभ्यास गर्ने ठाकुर पक्षले रणनीति बनाएको छ । ठाकुरसँग ४० प्रतिशत नपुगेले पार्टी अध्यक्ष उपेन्द्र यादवले ठाकुर निकट नेताहरूलाई पेलेको पेल्यै छन् । सुरुमा ठाकुरलाई अध्यक्ष र ठाकुर निकट १६ नेतालाई कार्यकारिणी समितिको सदस्य पदबाट हटाए । अहिले उनीहरूको केन्द्रीय सदस्य पद समेत गुमेको छ ।
निर्वाचन आयोगमा हेडकाउन्ट हुँदा ठाकुरलाई साथ दिएका १६ जना नेता अब पार्टीको साधारण सदस्य मात्र रहेका छन् । भदौ १ र २ गते बोलाइएको केन्द्रीय समितिको बैठकमा ठाकुर निकट नेताहरूलाई जानकारी समेत गराइएको छैन ।
निर्वाचन आयोगले यादवलाई दिएको आधिकारिकता विषयमा ठाकुर पक्षले सर्वोच्चमा रिट दायर गरेको छ । आयोगको उक्त फैसला खारेज गर्न ठाकुर पक्षले माग गरेको छ । सर्वोच्चको फैसला पछि नयाँ पार्टी खोल्ने-नखोल्ने विषयमा निर्णय गरिने ठाकुर पक्षका नेता सन्तोष मेहताले बताए । स्रोतका अनुसार, नयाँ पार्टी खोल्न ठाकुर पक्षका नेताहरूले भित्र भित्रै सबै तयारी गरेका छन ।