- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेपाली काँग्रेसका सह महामन्त्री डा. प्रकाश शरण महतले काँग्रेस आफूले गरेको कामको जानकारी लिएर जनता माझ जानुपर्ने बताएका छन् । सोमवार डिबी गुरुङको रचना, सङ्गीत तथा स्वर रहेको ‘आयौँ हामी चार तारे बोकेर, जय नेपालको सलाम ठोकेर’ सार्वजनिक गर्दै सह महामन्त्री डा. महतले यस्तो बताएका हुन् ।
डा.महतले एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा बहुमतसहित सरकारमा आए पनि सरकारको नेतृत्व गरेको व्यक्तिले कामभन्दा बढी गफ गरेको स्मरण गराए । उनले भने,‘त्यो सरकारबाट आश्वासनको पोका मात्रै बाँड्ने काम भयो । बोल्ने एउटा अनि गर्ने अर्कै गरे, त्यो मिथ्या रहेछ । जनतालाइृ झुकाउने काम मात्रै गरे । हामी काँग्रेस काम गर्छौँ । तर, जनतामा यो पुग्दैन । तर, कम्युनिस्टहरू भने हामीले गरेको भन्दै जनतामा पुग्छन् ।’
महतले आगामी निर्वाचनमा जनताको मन छुने गीत-सङ्गीत लिएर जानुपर्ने बताए । उनले भने,‘हामीले त काम नै गरेको हो नि । जनताको सेवामा केन्द्रित भएर काँग्रेस समर्पित हुनुपर्छ । भाषणको जति प्रभाव हुन्छ, त्यो भन्दा पनि सयौँ गुण बढी प्रभाव गीत तथा सङ्गीतको हुन्छ । अहिले काँग्रेसको सरकारले यसअघिको सरकारले बिगारेको राजनीतिलाई सही ट्र्याकमा ल्याएको छ। हाम्रो यो सरकार आकाश र पातालको कुरा गर्दैन । बरु, जनताको आवश्यकता प्राथमिकता केन्द्रित भएर काम गर्छौँ । यही प्रण प्रधानमन्त्रीज्यूले गर्नुभएको छ ।’
उनले प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिडबाट देश र जनतालाई बचाउने भनेर सार्वजनिक रूपमै प्रतिबद्धता व्यक्त गरेको सुनाए । उनले भने,‘उहाँले सबै जनतालाई खोप सुनिश्चित गरेर सङ्क्रमणबाट मुक्त गर्नुपर्छ भन्नुभएको । सामाजिक जीवन सहज बनाउने दायित्व हो । भ्रष्टाचारको न्यूनीकरण गर्ने हो । काँग्रेस फरक हो भनेर देखाउँछौँ । संस्थागत भ्रष्टाचारको अन्त्य र व्यक्तिगत लोभ लालच पनि गलत हो भनेर देखाउँछौँ । साधन र स्रोतले भ्याएसम्म हामी काम गर्छौँ ।’
काँग्रेसले कमयुनिष्टबाट सिक्ने दुई वटा कुरा भएको पनि उनले उल्लेख गरे । पहिलो कुरा भनेको सङ्गठन निर्माण र अर्को प्रचार भएको उनको भनाई छ । उनले भने,‘हामीले कम्युनिस्टले जस्तो झुटो प्रचार गर्न आवश्यक छैन । तर, गरेको कामको प्रचार त गर्नुपर्यो नि ।’