- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । प्रमुख सत्ता रुढ दल नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि र नेपाल भ्रमणमा रहेका भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ ।
बुधबार भएको भेटवार्तामा उनीहरुबीच नेपाल–भारत सम्बन्धका विविध विषय तथा कांग्रेस र भाजपाबीचको सम्बन्धलगायत विषयमा कुराकानी भएको उपसभापति निधिका प्रेस सल्लाहाकार रामजी दाहालले जानकारी दिए । भाजपा विदेश विभाग प्रमुख चौथाइवाले कांग्रेसको निमन्त्रणामा नेपाल भ्रमणमा आएका हुन् ।
भेटमा उपसभापति निधिले भारत सरकारले नेपाल सरकारलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने सम्बन्धमा भएको सहमतिअनुसार अझै खोप नआएको भन्दै तत्काल उपलब्ध गराउन उनीमार्फत भारत सरकारको ध्यानाकर्षण गराएका थिए ।
साथै उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर भ्रमणका क्रममा घोषणा भएको विकास अनुदान अहिलेसम्म कार्यान्वयन नभएकामा समेत ध्यानाकर्षण गराएका थिए ।
जनकपुर–कुर्ता रेल्वे सेवा सञ्चालन गराउन दुवै देशका सरकार मिलेर आवश्यक प्रक्रिया अघि बढाउनुपर्ने भन्दै उपसभापति निधिले दुवै देशका प्रधानमन्त्रीबाट संयुक्तरुपमा उद्घाटन गराउनुपर्नेमा जोड दिएका थिए ।
विदेश विभाग प्रमुख चौथाइवालेले उपसभापति निधिले उठाउनुभएका विषयलाई आफूले सकारात्मकरुपमा लिएको बताएका थिए । रासस