- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले पार्टीको १४ औं महाधिवेशनमा आफ्नो तयारी स्वरूप शक्तिको प्रतिकको रूपमा रहेकी देवी दुर्गाको पूजाआजासहित शक्ति प्रदर्शन गरेका छन् । निधिले आज बिहान पशुपतिनाथ, जानकी, दक्षिणकाली, बङ्गलामुखी, डोलेश्वर लगायत विभिन्न पवित्र मन्दिरका पुजारी तथा पण्डितहरूबाट बानेश्वर थापागाउँस्थित सम्पर्क कार्यालयमा पूजाआजा गरेका हुन् । त्यसपछि उनले आगामी महाधिवेशनमा सभापतिमा उठ्ने औपचारिक घोषणा गर्दै सम्पर्क कार्यालयको उद्घाटन गरे ।
सभापतिको निर्वाचनको तयारीमा रहेका नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पशुपतिनाथ,जानकी, दक्षिणकाली, बगलामुखी, डाेल्श्वर लगायत विभिन्न पवित्र मन्दिरका पुजारी तथा पण्डितहरूबाट बिहान बानेश्वर थापागाउँस्थित सम्पर्क कार्यालयमा शुभाशिष् लिएका थिए।
उपसभापति निधीले आगामी १४औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने भनेसँगै सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँगको दूरी पातलिएको छ । निधीले देउवालाई यसअघि आफूलाई १४ औं महाधिवेशनमा सभापतिमा सघाउने सर्तमै सघाएको बताएका थिए ।
आज उनले आफ्नो सम्पर्क कार्यालय उद्घाटन गर्दै गर्दा प्रभाव राख्ने केही जिल्लाका सभापतिहरूसहित सहभागी गराएर आफ्नो महाधिवेशन लक्षित शक्ति देखाएका हुन् ।
उनको कार्यालयको उद्घाटन कार्यक्रममा सभापति देउवाका गृह जिल्ला डडेलधुराका सभापति कर्ण मल्ल पनि सहभागी थिए । यस्तै काभ्रे सभापति मधु आचार्य, नुवाकोट सभापति जगदिशनरसिंह केसी, धादिङका रमेश धमला, सुर्खेतका कमलमणी रेग्मी, संखुवासभाका दिपनकुमार श्रेष्ठ, धनुषाका महेशचन्द्र गिरी लगायत सहभागी थिए ।
यस्तै प्रदेश २ का मन्त्री रामसरोज यादव, ओमप्रकाश शर्मा, पूर्व मन्त्री सुरेश मल्ल, प्रदेश २ का सांसद शिव चौधरी, मिनाक्षी झा, स्मृतीनारायण चौधरी, पूर्व सांसद प्रेम किशोर यादव, नरेश यादव लगायत सहभागी थिए ।
उद्घाटन कार्यक्रममा सहभागी कांग्रेस नेता चन्द्र भण्डारीले निधीलाई शुभकामना दिए। कार्यक्रममा काठमाडौंमा उपलब्ध देशभरका हजारभन्दा बढी नेता कार्यकर्ता सहभागी थिए।
महेन्द्रनारायण निधीका पुत्र विमलेन्द्रले जननायक वीपी कोइराला पुत्र एवं कांग्रेस महामन्त्री डा. शशांक कोइराला तथा लौहपुरुष गणेशमान सिंहका पुत्र एवं कांग्रेस केन्द्रीय सदस्य प्रकाशमान सिंहसँग पनि चुनावी तालमेलका लागि छलफल गरिसकेका छन् ।
यस पटक कांग्रेस नेतृत्वका लागि सभापतिका प्रत्याशी धेरै देखिएका छन् । उनीहरूले सम्पर्क कार्यालय खोलिसकेका छन् । १३ औं महाधिवेशनका सभापतिमा उम्मेदवार कृष्ण सिटौलाले गौशालामा, महामन्त्री डा. शशांक कोइरालाले महाराजगञ्जमा, वरिष्ठ नेता रामचन्द्र पौडेलले अनामनगरमा, प्रकाशमान सिंहले बानेश्वरमा तथा केन्द्रीय सदस्य डा.शेखर कोइरालाले अनामनगर र विशालनगरमा सम्पर्क कार्यालय खोलिसकेका छन् ।
दोस्रो पटक सभापति बन्ने योजनाका साथ अगाडि बढेका देउवाको सम्पर्क कार्यालय पार्टी मुख्यालय वीपीनगरमै रहेको छ ।
मङ्सिरमा काठमाडौंमा हुने कांग्रेसको १४ औं महाधिवेशनका लागि यही भदौ १८ गतेदेखि स्थानीय तहदेखि महाधिवेशन कार्यक्रम सुरु हुँदै छ । तर जिल्ला सभापतिहरू कांग्रेस मुख्यालय वीपीनगर बल्खुमा गत बुधवारदेखि रिले अनसनमा रहेकाले निर्धारित मितिमै महाधिवेशनको कार्यक्रम सुरु हुनेमा आशङ्का छ ।
असन्तुष्ट जिल्ला सभापतिहरूले क्रियाशील सदस्यहरूको नामावली सार्वजनिक गर्न माग गरेका छन् । उनीहरूले संस्थापनले विभिन्न जिल्लामा घोटाला गरेको आरोप लगाउँदै आएका छन् ।