arrow

महन्थप्रति उपेन्द्रको कटाक्ष - लोभी पापीहरूको झुण्ड गएपछि जसपा शुद्धीकरण भएको छ

logo
निरञ्जन कुमार साह,
प्रकाशित २०७८ भदौ ११ शुक्रबार
samajbadi-janakpur.jpg

जनकपुरधाम । महन्थ ठाकुर प्रति कटाक्ष गर्दै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले लोभी पापीहरूको झुन्ड गए पछि बरु जसपा शुद्धीकरण भएको बताएका छन् । शुक्रवार जनकपुरधाममा आयोजना गरेको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले जसपा विभाजन नभई शुद्धीकरण भएको बताएका हुन् । 

अध्यक्ष यादवले केही व्यक्ति पार्टी छोड्दैमा विभाजन भएको भन्न नमिल्ने दाबी गरे ।पार्टीको निर्णय नमान्ने, आफैले गरेको सहमति तोड्ने, स्वविवेकले निर्णय गर्न नसक्नेहरूको झुन्डले देश र मधेशको भलो गर्न नसक्ने तर्क राख्दै अध्यक्ष यादवले ८० प्रतिशत नेता कार्यकर्ता जसपामै रहेको बताए। 

'आन्दोलनबाट प्राप्त उपलब्धिहरूलाई समाप्त गर्दै मुलुकमा प्रतिगमन लाद्न चाहने केपी ओलीको मतियार बनेकाहरू बाट जनताले हिसाब लिने' अध्यक्ष यादवले भने। संविधानमा रहेका सकारात्मक पक्षहरूको रक्षा गर्दै संविधान संशोधन मार्फत नकारात्मक पक्षलाई विस्थापन गर्नु नै जसपाको मूल कार्यभार रहेको अध्यक्ष यादवले त्यसका निमित्त मधेशी, आदिवासी , जनजाति, दलित महिला, मुस्लिम लगायतका शोषित वर्ग जसपाको झन्डामुनि गोलबद्ध हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा वरिष्ठ नेता अशोक राईले मुलुकको पुरानो पार्टीहरू समतामूलक समाज निर्माणको कार्यदिशाबाट भागेका कारण जसपाको जन्म भएको उल्लेख गरे । 
मुलुकमा सामाजिक आर्थिक मात्र नभई कानुनी विभेद समेत कायम रहेकाले जसपा ती सबै विभेद अन्त गर्दै समतामूलक समाज निर्माणमा अग्रसर भएको उनको तर्क थियो । 

छाता लिएर आएकाहरू बर्सातको मौसममा छाता समेत छोडेर गएको भन्दै कटाक्ष गर्दै वरिष्ठ नेता राईले भने,‘उहाँहरू प्रति दया लागि रहेको छ । प्रतिगमको मतियार बन्नु पर्ने के बाध्यता थियो र ?’ 

मधेश प्रदेश समितिका अध्यक्ष विजय कुमार यादवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा कार्यकारिणी समिति सदस्य महेन्द्र राय यादव, रेणु यादव, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, राम नरेश राय, नबल किशोर साह, गजाधर यादव, मनिष सुमन , जनकपुर उपमहानगरका प्रमुख लाल किशोर साह सहितका वक्ताहरूले मन्तव्य राखेका थिए ।

पार्टी सुदृढीकरण, संगडन विस्तार एवं जागरण अभियान अन्तर्गत आयोजित कार्यक्रममा सप्तरी, सिराहा, धनुषा, महोत्तरी र सर्लाहीका अगुवा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ