arrow

प्रधानसेनापतिमा प्रभुराम शर्मा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ११ शुक्रबार
Prabhuram-sharma-army-chief.jpg

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले  बलाधिकृत रथी प्रभुराम शर्मालाई यही भदौ २४ गतेदेखि लागू हुने गरी नेपाली सेनाको प्रधानसेनापतिमा  नियुक्त गरेकी छन् ।

नेपालको संविधानअनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले रथी शर्मालाई प्रधानसेनापतिमा नियुक्त गरेको राष्ट्रपति कार्यालयबाट शुक्रवार जारी विज्ञप्तिमा जनाइएको छ । उनी ४४औँ प्रधानसेनापति हुन् ।

राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुन् । प्रधानसेनापति पूर्णचन्द्र थापाको तीन वर्षे कार्यकाल यही भदौ २४ गतेदेखि सकिँदैछ ।

 कायम मुकायम प्रधानसेनापति शर्माले भारतबाट राष्ट्रिय प्रतिरक्षा, संयुक्त राज्य अमेरिकाबाट आतङ्कवाद तथा सुरक्षा, थाइल्याण्ड र पाकिस्तानबाट प्रतिरक्षा एवं बङ्गलादेशबाट शान्ति सेनासम्बन्धी उच्चस्तरीय तालिम लिएका छन् ।

सेनाको अपरेशनल योजना निर्माण र कार्यान्वयन गर्ने युद्धकार्य महानिर्देशक, बलाधिकृत र बलाध्यक्ष दुवैको जिम्मेवारीमा रहेका रथी शर्मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुरक्षासम्बन्धी समसामयिक समस्या तथा चुनौतीबारे पूर्ण जानकार हुन् ।

आफ्नो ३७ वर्षे लामो सैनिक सेवाका क्रममा गुल्म, गण, बाहिनी, पृतनालगायत जङ्गी अड्डास्थित सैनिक सचिव, भर्ना छनौट निर्देशक, नीति तथा योजना निर्देशक, सह-बलाध्यक्ष एवं सम्भाररथीको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरेका कायम मुकायम प्रधानसेनापति शर्मालाई नेपाली सेनाको हरेक जिम्मेवारीका बारेमा नजिकबाट अनुभव र ज्ञान छ ।

संयुक्त राष्ट्र सङ्घको शान्ति मिसनअन्तर्गत पूर्वीटिमोरमा गुल्म र कङ्गोमा गणको अन्तर्राष्ट्रिय कमाण्ड गर्ने अवसर प्राप्त गरेका शर्मा भारतमा सम्पन्न भएको नेपाल भारत द्विपक्षीय सल्लाहकार समूहको भेलामा समेत सहभागी भएका छन् ।

बङ्गलादेशमा सैनिक सहचारीको कार्यभार उदाहरणीयरूपमा सम्हालिसकेका कारण उनको कार्यकालमा सेनाको सैनिक कूटनीतिमा उल्लेखनीय परिणाम आउने अपेक्षा गरिएको छ ।

त्रिभुवन विश्वविद्यालयबाट इतिहासमा स्नातकोत्तर र भारतको मद्रास विश्वविद्यालयबाट प्रतिरक्षा तथा रणनैतिक शास्त्रमा एमफिल गरेका शर्माले नेपाल तथा विश्वको इतिहासलगायत राष्ट्रिय प्रतिरक्षा सम्बन्धमा गहन अध्ययनसमेत गरेका छन् ।

सरल स्वभाव, स्पष्ट वक्ता र ठोस निर्णय गर्ने क्षमताका लागि परिचित कायम मुकायम प्रधानसेनापति शर्माको मुख्य प्राथमिकता कोभिड–१९का कारण प्रभावित तालिमलाई पुनः सञ्चालन गरी सेनाको अपरेशनल क्षमतालाई अभिवृद्धि गर्नु रहेको छ ।

भर्खरै लागू भएको सेनाको तीन जोड एक अवधारणाअनुसारको पुनःसंरचनालाई व्यवस्थित ढङ्गले कार्यान्वयनमा ल्याउनु पनि उनको प्रमुख कार्यभर रहनेछ । सङ्गठनभित्र सकल दर्जामा हौसला अभिवृद्धि र सैनिक परिवारको कल्याण कार्य पनि कायम मुकायम प्रधानसेनापति शर्माका प्राथमिकताका क्षेत्र हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ