- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । सोमबार विहान बसेको सत्तारुढ गठबन्धनको बैठकले बुधवारसम्म मन्त्रिमण्डललाई पूर्णता दिने र बजेट सच्याउने विषयमा छलफल भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको बैठकमा यही बुधबारसम्म मन्त्रिमण्डललाई पूर्णता दिने भनिए पनि निर्णय भने भएन । साथै केपी ओली सरकारले अध्यादेशमार्फत ल्याएको आर्थिक बर्ष ०७८/०७९ को बजेट सच्चाउने निर्णय भने भएको बैठकमा सहभागी कांग्रेस नेता रामचन्द्र पौडेलले जानकारी दिए ।
बैठक मन्त्रिमण्डल विस्तारमा केन्द्रीत भनिए पनि मन्त्रालय बाँडफाँडको विषयमा भने छलफल नभएको बुझिएको छ । उपस्थित नेताहरुले मन्त्रिपरिषद्लाई छिटोभन्दा छिटो टुंग्याउनुपर्ने र सरकारका कामकारबाहीलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् ।
उपस्थित नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई आवश्यक कानुन बनाएर बजेट परिमार्जन गर्न गर्न सुझाव दिएका छन् । त्यस्तै बैठकमा तुइन तर्ने क्रममा वेपत्ता भएका दार्चुलाका जयसिंह धामी प्रकरणमा सरकारमा सरकारको अडान प्रष्ट पार्न प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका छन् ।
जयसिंह प्रकरणको विषयमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले ‘जयसिंह प्रकरणमा सरकारको धारणा के हो साथै त्यसबारे प्रतिवेदन दिन किन ढिला भएको हो ?’ भनि देउवालाई प्रश्न गरेका छन् ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नारायणकाजी श्रेष्ठ, जसपा अध्यक्ष उपेन्द्र यादव र डा.बाबुराम भट्टराई, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र बेदुराम भुसाललगायतका नेताहरु सहभागी थिए ।
त्यस्तै नेपाली कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालगायत सहभागी थिए । सरकार गठन भएको डेढ महिलासम्म पनि प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन् ।