- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सडक विभागका महानिर्देशकलाई फोन गरेर सिसडोल जाने सडक छिटो बनाउन निर्देशन दिएका छन् ।
सो सडकको अवस्थाका कारण उपत्यकाको फोहोर आवश्यकता अनुसार उठाउन नसकिने अवस्था आएको भन्दै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरीप्रभा खड्गीले प्रधानमन्त्री देउवालाई सोमबार भेटेर ध्यानाकर्षण गराएका थिए ।
भेटपछि प्रधानमन्त्री देउवाले काठमाडौंको फोहोर व्यवस्थापनका लागि सो सडक तत्काल बनाउन सडक विभागका महानिर्देशकलाई फोन गरेका हुन् । भेटमा प्रधानमन्त्री देउवाले जति सक्दो छिटो उपत्यकाको फोहोर व्यवस्थापन सहज हुने गरी वातावरण बनाउने आश्वासन दिएको उपमेयर खड्गीले जानकारी दिइन् । हाल काठमाडौंबाट नुवाकोटको सिसडोलसम्म पुग्ने सडक क्षति हुँदा स्थानीयवासीहरुले समेत हैरानी व्यहोर्दै आइरहेका छन् ।
यस्तै दैनिक १ सय ५० सवारी साधन काठमाडौंबाट सिसडोल फोहोर लिएर जाने गरेकोमा वर्षा लागेसँगै सडकको अवस्थाका कारण दैनिक ५० भन्दा बढी सवारी जान सक्ने अवस्था नरहेका कारण काठमाडौंका सडकमा थुप्रिएका फोहोर उठ्न छाडेको छ ।
प्रधानमन्त्रीसँगको भेटमा काठमाडौं महानगरका मेयर शाक्यले सो सडक निर्माणका लागि लाग्ने खर्च भने महानगरले नै व्यहोर्ने बताएका थिए । सो क्रममा मेयर शाक्यले बञ्चरे डाँडाको ल्याण्डफिल साइट निर्माणको काम छिटो सक्ने वातावरण बनाइदिन पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
सरकारले सिसडोललाई काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका लागि दुई वर्ष उपयोग गर्ने भन्दै विसं २०६२ सालमासहमती गरेपनि विगत १६ वर्षदेखि काठमाडौंमा उत्पादित फोहोर सो स्थानमा लगिंदै आइएको छ ।