arrow

साउदीमा स्कुल खुल्यो, १२ वर्षभन्दा बढी उमेरकाबाट सुरु

logo
रासस-सिन्ह्वा
प्रकाशित २०७८ भदौ १४ सोमबार
saudi-arabia.jpeg

रियाद। लामो समयदेखि विद्यालय जान नपाएका साउदी अरबका विद्यार्थीहरु आइतबारदेखि विद्यालय जान थालेका छन् ।अनलाइनमार्फत बढिरहेका विद्यार्थीहरु अहिले भने भौतिकरुपमै विद्यालय उपस्थित भएर अध्ययन गर्न थालेका हुन् । योसँगै नयाँ शैक्षिकसत्रसमेत सुरु भएको जनाइएको छ । 

गत १७ महिनादेखि घरमै पढिरहेका ती विद्यार्थीहरू विद्यालय गएर पढ्न पाएपछि खुसी व्यक्त गरेका छन् । घरमै बसेर अनलाइनमार्फत भइरहेको पढाइमा गुणस्तर नभएपछि र कोरोना भाइरसको महामारी पनि कम हुँदै गएपछि भौतिकरुपमै अध्ययन अध्यापन सुरु गरिएको हो ।

शैक्षिक अधिकारीहरूका अनुसार अहिले १२ वर्ष पूरा भएका वा सोभन्दा बढी उमेरका बालबालिकालाई मात्रै विद्यालय आउन दिने व्यवस्था गरिएको छ । 

प्राथमिक विद्यालय तह र पूर्वप्राथमिक तहका विद्यार्थीहरुलाई भने अझै पनि विद्यालय आउन अनुमति दिइएको छैन ।

“कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा नलगाएको र १२ वर्षभन्दा कम उमेरका व्यक्तिहरूलाई विद्यालय अझै पनि खुला गरिएको छैन”, एक अधिकारीले भने ।

उनीहरूलाई नयाँ शैक्षिक सत्रमा पनि अनलाइनमार्फत नै अध्यापन गराइने अधिकारीहरूले जानकारी दिएका छन् । भौतिक उपस्थितिमै भइरहेका अध्ययन अध्यापनको कार्यको उप शिक्षामन्त्री साद बिन साउद अल फहिदले कतिपय विद्यालयहरूमा स्थलगत अवलोकन पनि गरेका छन् ।   

उनीहरूको स्वास्थ्य सुरक्षाको सुनिश्चितता हुने गरी उच्च सतर्कता अपनाउन उहाँले सबैलाई निर्देशन दिएका छन् । 

“हामीले सवै विद्यालयहरुलाई नजिकबाट निकालिरहेका छौँ, विद्यार्थीहरूको सुरक्षाको अवस्था र विद्यालयको व्यवस्थापनका बारेमा हाम्रो चासो छ”, उनले भने ।

विद्यालयमा विद्यार्थीहरूको प्रवेश, बस्ने व्यवस्था, बाहिरिने व्यवस्थालगायतमा विशेष ध्यान दिन सरकारी अधिकारीहरूले आग्रह गरेका छन् । 

विद्यालयका सबै गतिविधिमा सामाजिक दूरी कायम गर्न, मास्कको प्रयोग गर्न पनि विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूलाई विशेष सतर्क गराइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ