arrow

रेल्वे कम्पनीका तत्कालीन महाप्रबन्धक भट्टराईमाथि भ्रष्टाचारको आरोप

घरमै बसेर तलब खाए रेलका कर्मचारीले

logo
निरञ्जन कुमार साह,
प्रकाशित २०७८ भदौ २० आइतबार
guru-bhattrai-nepal-rail.jpg
तत्कालीन महाप्रबन्धक गुरु भट्टराई / नवनियुक्त महाप्रबन्धक निरञ्जन कुमार झा

जनकपुरधाम। नेपाल रेल्वे कम्पनी लिमिटेडका तत्कालीन महाप्रबन्धक गुरु भट्टराईमाथि भ्रष्टाचार गरेको आरोप लागेको छ । तत्कालीन महाप्रबन्धक भट्टराईले रेल सञ्चालनमा नआउँदै रकम उठाएर कर्मचारी भर्ना गरी ठुलो रकम भ्रष्टाचार गरेको आरोप कम्पनीका नवनियुक्त महाप्रबन्धक निरञ्जन कुमार झाले लगाएका छन् ।

 केपी शर्मा ओली नेतृत्वको सरकारले रेल्वे कम्पनीको महाप्रबन्धक गुरु भट्टराईलाई नियुक्त गरेको थियो । नवनियुक्त महाप्रबन्धक झाका अनुसार रेल सञ्चालनमा आउने निश्चित नभए पनि रेल्वे कम्पनीका तत्कालीन महाप्रबन्धक भट्टराईले ज्यालादारीमा सयौँ कर्मचारी नियुक्त गरेका थिए । 

 जयनगर-जनकपुर कुर्था रेल सञ्चालनका लागि नियुक्त गरिएका १ सय ५१ कर्मचारीलाई हटाइएको छ । महाप्रबन्धक झाले ज्यालादारी काममा खटाउने भनिएका व्यक्तिहरूले आफूखुसी हाजिर नगर्न सूचना नै जारी गरेका छन् । रेल सञ्चालन नभएको अवस्थामा तत्कालीन व्यवस्थापनले सयौँ कर्मचारी नियुक्त गरेका व्यक्तिहरूले आफूखुसी हाजिर गरिरहेको बुझिएको सूचनामा उल्लेख छ । काममा नखटाई आफूखुसी हाजिर गरेको आधारमा ज्याला रकम भुक्तानी गर्न कानुनले नमिल्ने भएकाले हाजिर नगर्न कर्मचारीलाई सचेत गराएका छन्।
 
‘सूचनाको उल्लङ्घन गरी कोही कसैले हाजिर गरेमा सोको जिम्मेवारी नेपाल रेल्वे कम्पनी लिमिटेड नहुने ब्यहोरा समेत जानकारी गराइन्छ’, महाप्रबन्धक झाद्वारा जारी सूचनामा भनिएको छ । ज्यालादारीमा नियुक्ति पाएका कर्मचारीले काम नगरी ज्याला पाउँदैनन् । तर भट्टराईले धेरै कर्मचारीलाई बसाएरै तलब खुवाएको स्रोतको दाबी छ ।

भट्टराईलाई शेरबहादुर देउवा नेतृत्वको सरकारले हटाएर महाप्रबन्धक झालाई नियुक्त गरेपछि बसेर तलब खाने ज्यालादारी कर्मचारीहरूलाई हटाएका हुन् । महाप्रबन्धक झाले रेल चल्ने निश्चित भएपछि लोक सेवाको अनुमति लिएर मात्र कर्मचारी भर्ना गर्ने जानकारी गराए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ