लक्ष्मी सनराइज बैङ्क, काम्दी सामुदायिक वन समन्वय समिति र डब्लुडब्लुएफ नेपालबीच ‘द गोल इज ग्रीन’ अभियानका लागि सहकार्य
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ४ सोमबार
206
Shares
काठमाडौँ। लक्ष्मी सनराइज बैङ्कले आफ्नो प्रमुख वातावरणीय अभियान ‘द गोल इज ग्रीन’ कार्यान्वयनका लागि डब्लुडब्लुएफ नेपाललाई प्राविधिक संरक्षण साझेदारका रूपमा आबद्ध गरेको छ। यस अभियानअन्तर्गत बैङ्कले काम्दी सामुदायिक वन समन्वय समिति (काम्दी सीएफसीसी) सँग पनि सहकार्य गरेको छ।
फिफा वर्ल्ड कप २०२६ का सम्पूर्ण खेलमा हुने प्रत्येक गोल बराबर एक वटा रूख रोप्ने प्रतिबद्धता बैङ्कले गरेको थियो। विश्वकै लोकप्रिय खेल प्रतियोगिताको उत्साहलाई वातावरण संरक्षणसँग जोड्दै नेपालमा दीर्घकालीन सकारात्मक प्रभाव सिर्जना गर्ने उद्देश्यसहित यो अभियान सञ्चालन गरिएको हो।
यस सहकार्यअन्तर्गत डब्लुडब्लुएफ नेपालले अभियानको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउनेछ। संरक्षण क्षेत्रमा हासिल गरेको लामो अनुभव र विशेषज्ञताका आधारमा डब्लुडब्लुएफ नेपालले लक्ष्मी सनराइज बैङ्कलाई स्थानीय संरक्षण साझेदार काम्दी सीएफसीसीसँग जोडेको हो।
काम्दी सीएफसीसी ले उपयुक्त स्थानमा स्थानीय जैविक विविधता अनुकूल रैथाने प्रजातिका बिरुवा रोप्नुका साथै तिनको दीर्घकालीन संरक्षण र व्यवस्थापन गर्नेछ । डब्लुडब्लुएफ नेपालले प्रजाति छनोट, रोपाइँका लागि उपयुक्त क्षेत्रको पहिचान तथा पारिस्थितिक अनुकूल पुनः स्थापनासम्बन्धी प्राविधिक मार्गदर्शन प्रदान गर्नेछ।
लक्ष्मी सनराइज बैङ्कका प्रमुख कार्यकारी अधिकृत अजय शाहले भने, “लक्ष्मी सनराइज बैङ्कमा दिगोपन केवल हाम्रो रणनीतिक प्राथमिकता मात्र होइन, दीर्घकालीन मूल्य सिर्जनाको आधार पनि हो। ‘द गोल इज ग्रीन’ अभियानले सामूहिक उत्साहलाई सार्थक जलवायु अभियानमा रूपान्तरण गर्न सकिन्छ भन्ने हाम्रो विश्वासलाई उजागर गर्छ। फिफा वर्ल्ड कप २०२६ मा हुने प्रत्येक गोल बराबर एक रूख रोप्ने हाम्रो प्रतिबद्धतामार्फत नेपालका लागि दीर्घकालीन वातावरणीय योगदान गर्ने अपेक्षा गरेका छौँ। डब्लुडब्लुएफ नेपालको संरक्षणसम्बन्धी विशेषज्ञता र समुदायसँगको अनुभवले यस अभियानलाई प्रभावकारी र दिगो बनाउन महत्त्वपूर्ण भूमिका खेल्नेछ भन्नेमा हामी विश्वस्त छौँ।”
डब्लुडब्लुएफ नेपालका कन्ट्री रिप्रेजेन्टेटिभ डा. घनश्याम गुरुङले भने, “वन पुनः स्थापना भनेको केवल रूख रोप्नु मात्र होइन। उपयुक्त स्थानमा उपयुक्त रैथाने प्रजातिका बिरुवा रोप्नु र तिनको दीर्घकालीन संरक्षणका लागि स्थानीय समुदायसँग सहकार्य गर्नु पनि त्यत्तिकै आवश्यक छ। यस्ता साझेदारीहरूले निजी क्षेत्रको लगानीलाई समुदायमा आधारित संरक्षणसँग जोड्दै प्रकृति, समुदाय र भविष्यका लागि दीर्घकालीन लाभ सिर्जना गर्न सक्ने सम्भावना देखाउँछन् ।”
काम्दी सीएफसीसी का अध्यक्ष महेन्द्र शाहीले यस सहकार्यप्रति आभार व्यक्त गर्दै भने, “लक्ष्मी सनराइज बैङ्क र डब्लुडब्लुएफ नेपालसँगको यो सहकार्यले जैविक मार्ग (कोरिडोर) पुनः स्थापनासम्बन्धी हाम्रो प्रयासलाई थप बल पुर्याउनेछ र स्थानीय समुदायलाई दीर्घकालीन रूपमा लाभ पुग्ने विश्वास लिएका छौँ।”
फिफा वर्ल्ड कप २०२६ सम्पन्न भएसँगै प्रतियोगिताभर भएका ३३३ गोल बराबर ३३३ वटा रैथाने बिरुवा रोप्ने आफ्नो प्रतिबद्धता लक्ष्मी सनराइज बैङ्कले पूरा गर्दै प्रत्येक गोललाई नेपालको हरित भविष्यसँग जोड्ने काम गरेको छ।