arrow

मेस्सीले थपे रेकर्ड, तोडे पेलेको कीर्तिमान

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २५ शुक्रबार
leonel-messi.JPG

काठमाडौं । अर्जेन्टाइन फुटबल स्टार, कप्तान एवं अहिलेका सबैभन्दा चर्चित फुटबलर लियोनल मेस्सीले ब्राजिलियन फुटबल लेजेण्ड पेलेको कीर्तिमान तोडेका छन् । मेस्सीले विश्वकप छनोट अन्तर्गतको खेलमा बोलिभियाविरुद्ध शुक्रबार बिहान ह्याट्रिक गर्दै पेलेको कीर्तिमान तोडेका हुन् । 

पेलेले दक्षिण अमेरिकी मुलुकबाट सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड राखेकामा उक्त रेकर्ड अब मेस्सीको नाममा बसेको हो । पेलेले ७७ गोल गरेका थिए । पेलेको नाममा ९२ खेलमा ७७ गोलको कीर्तिमान रहेको थियो । 

मेस्सीले बोलिभियाविरुद्ध ह्याट्रिक गरेसँगै १५३ खेलबाट ७९ गोल गर्दै कीर्तिमान आफ्नो नाममा लेखाएका हुन् । मेस्सीले यो कीर्तिमानलाई अझ बढी फराकिलो बनाउने छन् । 

३४ वर्षीय मेसी ६ पटकका बालोन डे’ओर विजेता हुन् । उनकै नेतृत्वमा अर्जेन्टिनाले कोपा अमेरिका जितेको थियो । 

उनी स्पेनिश क्लब बार्सिलोनाको सिनियर टिमबाट १७ वर्ष खेल्दै यसै सिजन फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा पुगेका छन् । 

यो समूहको आइतबार बिहान भएका खेलमा ब्रजिलले पेरुलाई २–० ले, पाराग्वेले भेनेजुएलालाई २–१ ले, उरुग्वेले इक्वेडरलाई १–० ले तथा कोलम्बियाले चिलीलाई ३–१ ले हरायो । 

योसँगै अंक तालिकामा ८ खेलबाट ब्रजिल २४ अंकसहित शीर्ष स्थानमा छ । ब्रजिल ८ खेलमा अपराजित रहेको छ । दोस्रो स्थानको अर्जेन्टिनाको ८ खेलबाट १८ अंक छ । तेस्रो स्थानको उरुग्वेको ९ खेलबाट १५, इक्वेडरको ९ खेलबाट १३, कोलम्बियाको ९ खेलबाट १३, पाराग्वेको ९ खेलबाट ११ तथा पेरुको ९ खेलबाट ८ अंक छ । 

त्यस्तै चिलीको ९ खेलबाट ७, बोलिभियाको ९ खेलबाट ६ तथा भेनेजुएलाको ९ खेलबाट ४ अंक छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ