arrow

सत्ता गठबन्धन बैठक : मन्त्रीको नाम छिटो दिन प्रम देउवाको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २५ शुक्रबार
deuba-prachanda-nepal-yadav-4-parties.jpg

‍‍काठमाडौँ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीहरूको नाम छिटो दिन सत्ता गठबन्धनका नेताहरूलाई आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार भएको सत्ता गठबन्धन शीर्ष नेताहरूको बैठकमा प्रधानमन्त्री देउवाले यस्तो आग्रह गरेका हुन् ।
   
 बैठकमा प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिन ढिला भएको भन्दै छिटो मन्त्रीको नाम दिन गठबन्धनका नेतासँग आग्रह गरेको बैठकमा सहभागी राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पोडेले जानकारी दिइन् । 

उनले भनिन्, “बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे बढी समय छलफल भयो, साथै गठबन्धनलाई अझै परिष्कृत गरेर लैजाने तथा संसद्मा विधेयक टेबुल गर्नेबारे पनि कुराकानी भएको छ । साँझ ६ बजे बैठक पुनः बस्ने गरी सकिएको छ ।” 

प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिन आ–आफ्नो पार्टीमा सल्लाह गरेका मन्त्रीहरूको नाम चाँडो टुङ्ग्याउन आग्रह गरेका थिए । बैठकमा प्रधानमन्त्री देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलको उपस्थिति थियो ।
 
नेपाली काँग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले गत असार २९ गते प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका थिए । त्यसयता करिब दुई महिनाको अवधिमा मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । अहिले सरकारमा चार मन्त्री र एक राज्यमन्त्री मात्र छन् । मन्त्रिपरिषद्लाई चाँडो पूर्णता दिन प्रधानमन्त्री देउवालाई पार्टीभित्रबाट दबाब छ । यसअघि बिहीबार पनि मन्त्रिपरिषद् विस्तारलगायत समसामयिक परिस्थितिबारे गठबन्धनका नेताबिच छलफल भएको थियो ।‍



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ