- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अन्तिमसम्म सहयोग गरेको भन्दै पूर्व माओवादीका नेताहरुको हकमा १० बुँदे लागु नगर्ने संकेत गरेका छन् । एमालेको विवाद मिलाउन गरिएको १० बुँदे सहमतिलाई पूर्ण कार्यान्वयनको माग गर्दै आएका भीम रावल लगायतका १० जना नेताहरुलाई ओलीले त्यस्तो संकेत गरेका हुन् ।
उनले बागमती र सुदुरपश्चिमको हकमा लागु नगर्ने संकेत गरेका छन् । एमालेमा आएका पूर्वमाओवादी नेताहरूलाई अन्याय हुने तर्क गर्दै १० बुँदे सहमति हुबहु कार्यान्वयन गर्न आनाकानी गरिरहेका छन् । आउँदो केन्द्रीय कमिटी बैठकबाट सबै नेताहरुको जिम्मेवारी हेरेफेर गर्ने तयारी गर्दै बागमती प्रदेशमा रामबहादुर थापालाई यसअघि दिएको इन्चार्ज कायम राख्ने र लेखराज भट्टलाई दिएको सुदूरपश्चिमको इन्चार्ज कायम राख्ने संकेत गरेका छन् । १० बुँदे सहमति हुबहु कार्यान्वयन गर्दा नेकपा हुँदै एमालेमा आएका तथा माओवादीबाट एमालेमा आएका नेताहरूको अपमान हुने भएकाले हुबहु लागु नहुने ओलीको भनाइ छ ।
ओलीले १० बुँदे सहमतिको ४ नम्बर बुँदा कार्यान्वयन गर्दा उनीहरूमाथि अपमान हुने आशय व्यक्त गरेका छन् । ‘२०७७ फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि नेकपा एमालेमा रहने कमरेडहरूको निर्णयलाई स्वागत गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा रहँदा स्थायी कमिटी र केन्द्रीय कमिटीमा रहनुभएकालाई सोही कमिटीको सदस्यको जिम्मेवारी निर्धारण गरिएको छ । अन्य कमरेडहरूलाई उहाँहरू नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा रहँदा सरहको कमिटीमा संगठित गरिनेछ’, सो सहमतिको बुँदा नम्बर ४ मा भनिएको छ ।
ओलीको व्याख्या अनुसार १० बुँदेमा रहेको बुँदा नम्बर ४ पूर्वमाओवादीको हकमा लागु हुने छैन । तर सुदूरपश्चिम पुगेका रावल र भट्ट दुवैले आफू सुदूरपश्चिम इन्चार्ज भएको घोषणा गरेका छन् । काठमाडौंमा बिहीबार भएको कार्यक्रममा अष्टलक्ष्मी शाक्यलाई उपाध्यक्षको हैसियत र रामबहादुर थापालाई इन्चार्जको हैसियतमा सम्बोधन गरेर १० बुँदे लागु नभएको संकेत गरिएको थियो ।
नेकपामा आएको विग्रहपछि एमालेमा प्रवेश गरेका पूर्वमाओवादी नेताहरू रामबहादुर थापा, लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु शाह, मणि थापा लगायतलाई विभिन्न जिम्मेवारी दिइएको थियो । अहिले सो जिम्मेवारी नफेर्ने तहमा ओली पुगेका हुन् ।
स्रोतका अनुसार माओवादीबाट आएका नेताहरूलाई ओलीले माया गरेर नै जिम्मेवारी दिएकाले तत्कालै फेरबदल हुँदैन । एमालेमा प्रभु शाह भने असन्तुष्ट रहेका छन् । अन्य नेताहरुले एमालेकै पक्षमा वकालत गरिरहेका छन् ।
साह भने कुनै पनि सार्वजनिक कार्यक्रममा देखिएका छैनन् । ओलीले पूर्वमाओवादी नेताहरूमध्ये बागमती प्रदेशको इन्चार्जमा रामबहादुर थापा र सुदूरपश्चिम प्रदेशमा भट्टलाई इन्चार्जको जिम्मेवारी दिएका थिए । त्यस्तै जनवर्गीय संगठनको इन्चार्ज रायमाझीलाई बनाइएको थियो । १० बुँदे लागु भएमा सो जिम्मेवारीबाट हटेर उनीहरू स्थायी कमिटी सदस्यमात्रै हुनेछन् ।
ओलीले उनीहरूलाई ती जिम्मेवारीबाट नहटाई महाधिवेशन गर्ने मनस्थिति बनाएका छन् । ‘प्रचण्डको साथ छाडेर एमालेका आएका छन् अहिले दिएको जिम्मेवारीबाट हटाउँदा उनीहरुलाई अमान गरेको ठहर्छ’, ओली निकट एक नेताले भने ।
ती नेताका अनुसार अहिले एमालेका हरेक कार्यक्रममा पूर्व माओवादीका नेताहरुलाई एमालेका नेताहरुले साथमै लिएर हिँड्ने गरेका छन् । पूर्व माओवादीका नेताहरुलाई साथमा राखेर एमाले महासचिव ईश्वर पोखरेलले १० बुँदे सहमति हुबहु कार्यान्वयन नहुने भन्दै आएका थिए ।
उनले धेरै पटक त्यसो भनिरहे पनि ओलीले मुख खोलेका थिएनन् । यति बेला ओलीले पनि माओवादी नेताहरूलाई दिएको जिम्मेवारी हेरफेर नगर्ने संकेत गरेसँगै १० बुँदे अक्षरशः कार्यान्वयन नहुने अवस्थामा पुगेको छ ।
गत हप्ता सुदूरपश्चिम प्रदेशको इन्चार्ज लेखराज भट्ट नै कायम हुने बताएर ओलीले त्यसको संकेत गरे पनि भीम रावल र योगेश भट्टराईले भने जिम्मेवारी हेरफेर नभएसम्म पुरानै काम रहने बताउदै आएका छन् ।
अन्य नेताहरुले भने यो विषयमा मुख खोलेका छैनन् । गत हप्ता सुदूरपश्चिमका नेताहरूलाई राखेर ओलीले उपाध्यक्ष भीम रावलले सहजीकरण गर्ने र भट्ट इन्चार्ज रहने सक्ने संकेत गरे । सुदूरपश्चिम प्रदेशको समस्याबारे छलफल गर्न उपाध्यक्ष रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णुप्रसाद पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, नेताहरू भट्ट र कर्ण थापा सहभागी भएका थिए ।
ओलीले २०७५ जेठ २ मा फर्कने हो भने रावल संयोजक मात्रै हुने बताउँदै पार्टी त्योभन्दा अघि बढेको र रावल केन्द्रीय भूमिकामा भएकाले प्रदेशमा सहजीकरण गर्नुपर्नेमा जोड दिए ।
१० भदौको केन्द्रीय कमिटी र ८ भदौको स्थायी कमिटी बैठकले १० बुँदे सहमति कार्यान्वयन गर्ने निर्णय गरेको थियो । १० बुँदेअनुसार एमाले पार्टी संरचना २ जेठ २०७५ अगाडिको अवस्थामा फर्कनुपर्ने अडान रावलले लिएका थिए ।
इन्चार्ज दिन ओली नमानेपछि बालकोटबाट फर्केर रावलले सिंहदरबारमा आफू निकटका नेताहरूसँग छलफल गरेका थिए । एमाले उपाध्यक्ष भीम रावलले पार्टीले सुदूरपश्चिम इन्चार्जको जिम्मेवारी हेरफेर गर्ने सम्बन्धमा कुनै निर्णय नगरेको बताएका छन् ।
गृहजिल्ला अछाममा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै रावलले अहिले कुनै पनि समस्या नभएको दाबी गरे । बिहीबार उनले गृहजिल्लाका नेताहरुसँग बसेर छलफल गरेका छन् । तर उनले पार्टीको समस्या पार्टीभित्रै समाधान हुने दाबी गरेर दिएको जिम्मेवारीलाई पूरा गर्ने बताएका थिए ।