'कांग्रेस छोड्दिनँ, मर्ने बेलासम्म रूखमै भोट हाल्छु, नयाँ पार्टी खोल्नेहरूले खोले हुन्छ' [भिडियो]
'ठूला कुरा गरेर हुँदैन, वडा जिताएर देखाउनुपर्छ, यो कसैको बाउबाजेको सम्पत्ति होइन, हामीले जीवन समर्पण गरेको पार्टी हो, त्यसैले यसलाई छोडेर भाग्ने होइन, जोगाउने हो'
हाम्रा कुरा
प्रकाशित २०८३ असार १७ बुधबार
544
Shares
काठमाडौँ । नेपाली कांग्रेसका नेता किशोरसिंह राठोरले पार्टीभित्र देखिएको आन्तरिक विवाद, नेतृत्वको कार्यशैली र नयाँ पार्टी गठनको चर्चाप्रति असन्तुष्टि जनाउँदै आफू कुनै पनि अवस्थामा नेपाली कांग्रेस नछाड्ने घोषणा गरेका छन् ।
उनले पार्टीभित्रै बसेर अन्तिमसम्म संघर्ष गर्ने अडान दोहोर्याउँदै कांग्रेस कमजोर भए मुलुकको लोकतान्त्रिक व्यवस्था नै संकटमा पर्ने चेतावनी दिएका छन् ।
राठोरले पार्टीभित्र क्रियाशील सदस्यता अद्यावधिकको प्रक्रियादेखि संगठन सञ्चालनसम्म गम्भीर अव्यवस्था रहेको आरोप लगाए । एउटा वडाको सदस्यता अर्कोले अद्यावधिक गर्ने, विदेशबाटै सदस्यता नवीकरण हुनेजस्ता गतिविधिले पार्टीको संगठनलाई कमजोर बनाएको उनको भनाइ छ ।
उनले पार्टी नेतृत्वले सबै पक्षलाई मिलाएर लैजानुपर्ने जिम्मेवारी पूरा गर्न नसकेको टिप्पणी गर्दै पार्टीभित्रको विवाद समाधान गर्ने दायित्व सभापतिकै भएको बताए। नेतृत्वले एकता कायम गर्न नसके पनि पार्टी छोडेर हिँड्नु समाधान नभएको उनको धारणा छ।
राठोरले आफू कांग्रेसको चारतारे झण्डा र रूख चुनाव चिह्न कुनै पनि अवस्थामा नछोड्ने स्पष्ट गर्दै भने, 'म कांग्रेस छोड्नेवाला छैन। सके राजनीति गर्छु, नसके आलुखेती गर्छु। तर मर्ने बेलासम्म कांग्रेसकै रूख चुनाव चिह्नमा भोट हाल्छु ।'
उनले नयाँ पार्टी गठनको चर्चालाई संकेत गर्दै आफू त्यस्तो अभियानमा सहभागी नहुने बताए । 'जसलाई नयाँ पार्टी खोल्ने रहर छ, खोले हुन्छ। म भने पार्टीभित्रै बसेर लड्छु। पार्टीभित्रको लडाइँ पार्टीभित्रै लड्नुपर्छ,' उनले भने।
चार दशकभन्दा बढी समय कांग्रेस र नेविसंघमा बिताएको उल्लेख गर्दै राठोरले पद, प्रतिष्ठा वा अवसरका लागि आफूले राजनीति नगरेको दाबी गरे ।
पञ्चायतकालमै राज्यका महत्वपूर्ण पद पाउने अवसर हुँदाहुँदै लोकतान्त्रिक आन्दोलन रोजेको स्मरण गर्दै उनले अहिले पनि सिद्धान्तबाट विचलित नहुने बताए ।
उनले विगतमा पार्टीका शीर्ष नेताहरूसँग पनि खुलेर असहमति राखेको उल्लेख गर्दै व्यक्तिगत लाभका लागि कहिल्यै नेताहरूको ढोका नढक्ढकाएको बताए । मन्त्री वा प्रधानमन्त्री भएको बेला पनि व्यक्तिगत स्वार्थका लागि आफू कसैकोमा नगएको उनको भनाइ थियो।
राठोरले पार्टीभित्र दोहोरो चरित्र देखाउने प्रवृत्तिप्रति पनि असन्तुष्टि व्यक्त गरे। सहयोग गर्ने हो भने खुलेर सहयोग गर्ने र असहयोग गर्ने हो भने पनि स्पष्ट रूपमा असहयोग गर्ने आफ्नो राजनीतिक संस्कार रहेको उनले बताए।
कांग्रेस कमजोर बन्दै गएको भन्दै उनले जनतामा वैकल्पिक राजनीतिक शक्तिप्रति आकर्षण बढिरहेको टिप्पणी गरे। स्वतन्त्र राजनीतिक अभियान र खासगरी बालेन साहप्रति जनसमर्थन बढिरहेको उल्लेख गर्दै कांग्रेसले समयमै आत्मसमीक्षा नगरे थप संकट आउने चेतावनी दिए।
उनले भने, 'जनताले बालेनलाई स्वीकार गरिसकेका छन् । कांग्रेस कमजोर भयो भने यही व्यवस्थामाथि चुनौती आउँछ। एमाले र माओवादी मिले कांग्रेस तेस्रो शक्तिमा पुग्न सक्छ। त्यसैले नेता होइन, पार्टी बचाउनुपर्छ।'
विशेष अधिवेशन र आगामी महाधिवेशनलाई लक्षित गर्दै राठोरले सबै नेता-कार्यकर्तालाई क्रियाशील सदस्यता अद्यावधिक गर्न आग्रह गरे। वडा तहदेखि संगठन बलियो बनाउनुपर्नेमा जोड दिँदै उनले भाषणभन्दा परिणाम देखाउनुपर्ने बताए।
'ठूला कुरा गरेर हुँदैन, वडा जिताएर देखाउनुपर्छ। यो कसैको बाउबाजेको सम्पत्ति होइन। हामीले जीवन समर्पण गरेको पार्टी हो। त्यसैले यसलाई छोडेर भाग्ने होइन, जोगाउने हो,' उनले भने।
राठोरले कांग्रेसको इतिहास त्याग, संघर्ष र लोकतान्त्रिक आन्दोलनसँग जोडिएको उल्लेख गर्दै अहिले पनि सबै पक्षले ठूलो हृदयका साथ पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुपर्ने धारणा राखे।
आफू दुई दशकदेखि स्वास्थ्य समस्यासँग जुधिरहेको र पहिलेजस्तो सक्रिय रूपमा संघर्ष गर्ने अवस्था नरहे पनि अन्तिम समयसम्म कांग्रेसमै रहने प्रतिबद्धता दोहोर्याउँदै उनले पार्टीभित्रै बसेर संघर्ष जारी राख्ने बताए।