अमेरिका, बेलायत र अस्ट्रेलियाबीचको परमाणु सम्झौताप्रति फ्रान्सको आपत्ति, राजदूतलाई फिर्ता बोलाउने निर्णय
एएनआई,
प्रकाशित २०७८ असोज २ शनिबार
841
Shares
पेरिस। अमेरिका, बेलायत र अस्ट्रेलियाबीच भएको परमाणु पनडुब्बी सम्झौताको फ्रान्सले आलोचना गरेको छ। आफ्नो देशसँग भएको सम्झौतालाई तोडेर तीन देशले नयाँ सम्झौता गरेकोमा आपत्ति जनाउँदै फ्रान्सले अस्ट्रेलिया र अमेरिकामा रहेका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ। यसअघि परमाणु पनडुब्बी निर्माणको लागि फ्रान्सले अस्ट्रेलियासँग सम्झौता गरेको थियो।
गत बुधवार अस्ट्रेलियाले फ्रान्ससँगको सम्झौता तोडेर अमेरिका र बेलायतसँग नयाँ सम्झौता गरेपछि तीन देशबीच भएको सम्झौताले आफ्नो देशको अपमान भएको र अर्बौँ डलरको सम्झौता तोडिएको भन्दै अस्ट्रेलिया र अमेरिकाका राजदूत फिर्ता बोलाइएको फ्रान्सका विदेश मन्त्री जिन इभसले द्रियानले बताएका छन्।
तीन देशबीचको यो सम्झौतालाई फ्रान्सले अस्वीकार गर्दै युरोपमा रहेको इन्डो प्यासिफिक क्षेत्रको महत्त्वलाई कमजोर पार्ने षड्यन्त्रका रूपमा लिएको प्रतिक्रिया दिएको छ। राजदूत फिर्ता बोलाउने फ्रान्सको निर्णयलाई लिएर अमेरिकी राष्ट्रपति जो बाइडेनले दुःख व्यक्त गर्दै फ्रान्सको यो कदमले मतभेद झनै बढाउने बताएका छन्।