ओलीलाई मद्दत गर्नेहरू एमसीसीमार्फत गठबन्धनलाई टुटाउने कसरत गर्दै छन् : प्रचण्ड
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ३ आइतबार
1k
Shares
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी मार्फत गठबन्धनलाई टुटाएर फेरि प्रतिगमनमा लैजान कसरत भइरहेको बताएका छन् । जसपा र एमालेबाट माओवादी केन्द्रमा आएका एक दर्जन नेता तथा कार्यकर्ताको आफ्नो निवास खुमलटारमा पार्टी प्रवेश गराउँदै प्रचण्डले यस्तो बताएका हुन् ।
“हिजो संसद् विघटन गरेर केपी ओलीलाई मद्दत गर्नेहरू एमसीसीमार्फत गठबन्धनलाई टुटाएर फेरि प्रतिगमनमा लैजान सकिन्छ कि भनेर कसरत गरिरहेका छन्”, अध्यक्ष प्रचण्डले भने, “हामीले गठबन्धनमा एमसीसी र गठबन्धन कुन मुख्य हो भनेर छलफल पनि गरेका छौँ । गठबन्धन रक्षा नै राष्ट्र, संविधान र गणतन्त्रको हितका लागि मुख्य हो । एमसीसी परिमार्जन र संशोधनबिना पास गर्न सकिन्न र राष्ट्रिय सहमति नबनाई यस्तो डरलाग्दो कुरामा हात हाल्न पनि हुन्न ।”
उनले माओवादी आन्दोलन र यसले उठाएका एजेन्डालाई राष्ट्रिय रूपमा फेरि नयाँ उचाइबाट स्थापित गर्ने तथा आन्दोलन र पार्टीलाई फेरि राष्ट्रको नेतृत्व गर्ने गरी विकास गर्ने अवसर आफूहरूमा रहेको उनको भनाइ थियो । उनले भने, “समाजवादी क्रान्तिलाई मार्क्सवादी तरिकाले अगाडि बढाउने पार्टीको रूपमा यो पार्टी र नेतृत्वका लागि अन्तिम अवसर पनि हुनसक्छ । एक चोटि राष्ट्रलाई झकझक्याएर अगाडि लैजाने अवसर पनि हुनसक्छ । सकिएन भने नराम्रो स्थितिमा आन्दोलन जाने खतरा पनि छ । त्यस कारण सबै क्रान्तिकारीहरूले अब ढिला नगरी एकताबद्ध हुने र आत्म समीक्षासहित जनताको घरघरमा पुग्नुपर्ने भएको छ ।”