arrow

फ्रान्स-अमेरिकी ऐतिहासिक सम्बन्धमा समस्या, पनडुब्बी सम्झौताले कूटनीतिक सङ्कट

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ४ सोमबार
austrilia.jpg

काठमाडौं। अस्ट्रेलियाले फ्रान्ससँग पनडुब्बी किन्न गरेको ७८ खर्ब रुपैयाँ (६६ अर्ब डलर)को सम्झौता खारेज गरेसँगै पश्चिमी सहयोगीहरूबिच कूटनीतिक समस्या सिर्जना भएको छ । अस्ट्रेलियाले अमेरिका र बेलायती प्रविधिका परमाणु क्षमताका पनडुब्बी पाउने अकुस सम्झौता भएसँगै फ्रान्सले आपत्ति जनाएको हो ।

केही दिनअघि मात्रै अस्ट्रेलिया, बेलायत र अमेरिकाबिच अकुस सम्झौता भएको थियो । यो सम्झौता अनुसार हालसम्म ६ वटा मुलुकहरूसँग मात्रै रहेको परमाणु क्षमताका कम्तीमा आठ वटा पनडुब्बी अब अस्ट्रेलियाले पनि पाउनेछ ।

अस्ट्रेलियाले फ्रान्ससँग सन् २०१६ मा परमाणु क्षमता बाहेककै पनडुब्बी खरिद गर्न ६६ अर्ब अमेरिकी डलरको सम्झौता गरेको थियो । अस्ट्रेलियाले बुधवार फ्रान्ससँग सम्झौता भएको १२ वटा डिजेल बिजुली पनडुब्बी किन्ने सम्झौता खारेज भएको घोषणा गरेको हो ।

योसँगै फ्रान्सले अमेरिका र अस्ट्रेलिया दुवै देशबाट आफ्नो राजदूत फिर्ता बोलाउने निर्णय गरेको छ । फ्रान्सले 'दोहोरो तिरस्कार र झूट'को कारण देखाउँदै राजदूत फिर्ता बोलाएको हो ।

फ्रान्सका विदेश मन्त्री जीन यवेश ले ड्रियनले यो विषयमा बोल्दै 'अरबौँ युरोको आर्थिक क्षतिसँगै अवहेलना' भएको बताएका छन् । यसबिच फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले आगामी केही दिनमा आफ्ना अमेरिकी समकक्षी जो बाइडेन सँग फोन वार्ता गर्ने भएका छन् ।

ढाडमा छुरा हानियो

बिहीबार फ्रान्स इन्फो रेडियोमा बोल्दै फ्रान्सका विदेश मन्त्री ले ड्रियनले यो निर्णयलाई 'ढाडमा छुरा हानेको झैँ' भएको बताएका छन् ।

अमेरिका र फ्रान्सबिचको सम्बन्ध सन् १७७८ देखि नै रहिआएको मानिन्छ । अर्को महत्त्वपूर्ण कुरा भनेको अमेरिकाको सबैभन्दा पुरानो सहयोगी फ्रान्सले यसअघि कहिले पनि आफ्नो राजदूत फिर्ता बोलाएको थिएन।

ह्वाइट हाउसनले गत शुक्रवार फ्रान्सले राजदूत फिर्ता बोलाउने निर्णयप्रति खेल व्यक्त गर्दै 'दुई देशबिचको विवाद सुल्झाउन लागि पर्ने' बताएको छ ।

यस्तै अस्ट्रेलियाले शनिवार 'फ्रान्ससँगको सम्बन्धको कदर गर्दै पेरिससँग संलग्न रहिरहने' बताएको छ । अस्ट्रेलियाको विदेश मन्त्रालयले वक्तव्य जारी गर्दै  भनेको छ, 'राष्ट्रिय सुरक्षाका हित अनुसार लिइएको निर्णयप्रति फ्रान्सेली निराशालाई अस्ट्रेलियाले बुझेको छ ।'

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ