arrow

पुटिनको पार्टीले दुई तिहाई मत सहित निर्वाचन जित्ने दावी

logo
एएफपी,
प्रकाशित २०७८ असोज ४ सोमबार
putin.jpg1.jpeg

मस्को । रुसको सत्तारुढ दल युनाइटेड रसिया पार्टीले दुई तिहाई मतका साथ निर्वाचन जित्ने दावी गरेको छ । विपक्षी दलहरुले निर्वाचनमा धाँधली भएको आरोप लगाइरहेका बेला सत्तारुढ दलले निर्वाचनमा आफ्नो दलले दुई तिहाई ल्याउने दावी गरेको हो । 

सत्तारुढ दलका महासचिव आन्दोइ तुर्चाकले कुल ४५० मध्ये ३१५ सिटमा आफ्नो पार्टीले जित्ने सोमबार पत्रकारहरुसँग बताए । रूसमा नयाँ संसद गठनका लागि भएको तीन दिने संसदीय निर्वाचन गत आइतबार सकिएको हो । 

निर्वाचन शान्तिपूर्वक, निष्पक्ष र धाँधलीसहित तरिकाले सम्पन्न भएको पनि उनले दावी गरे । विदेशी सञ्चार माध्यमहरूले वर्तमान राष्ट्रपति भ्लादिमिर पुटिनको युनाइटेड रसिया पार्टीले नै यस पटकको संसदीय निर्वाचन जित्ने उल्लेख गरेका छन् । निर्वाचनपछि मतदाताहरुसँग गरिएको सर्वेक्षणले सत्तारुढ दलले नै जित हासिल गर्ने देखाएको हो । 

धाँधली भएको आरोप लगाउनेहरुले भने निर्वाचनका बेला फर्जी मतदान भएको र धेरैलाई जबरजस्ती मतदान गराइएको दावी गरेका छन् । उनीहरुले निर्वाचन निष्पक्ष नभएको बताएका छन् । 

पुटिन शासनको आलोचना गर्नेहरूलाई निर्वाचनमा उम्मेदवार बन्नसमेत रोक लगाइएकाले धाँधली भएको आरोप लगाउनेहरूलाई बल पुगेको छ । जेलमा रहेका विपक्षी नेता एलेक्सी नभाल्नीका समर्थकहरू समेतलाई निर्वाचनमा उम्मेदवार बन्न निषेध गरिएको थियो । 

कुल १४ वटा दल सहभागी भएको उक्त चुनावका लागि कतिपय ठाउँमा विद्युतीय मतदानको व्यवस्था गरिएको थियो ।रुसको केन्द्रीय निर्वाचन आयोगले केही छिटफुट घटना भएपनि ठूला घटना तथा अवरोधहरु भने नभएको जनाइएको छ । विपक्षीहरुले निर्वाचनमा धाँधली भएको आरोपहरुलाई निर्वाचन आयोगले भने अस्वीकार गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ