arrow

बागमती र प्रदेश १मा सरकार परिवर्तनबारे प्रचण्ड बोलेपछि नयाँ तरङ्ग

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ६ बुधबार
prachanda-puspa-kamal-dahal-maoist.jpg
फाइल तस्विर।

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आत्म समीक्षासहित रूपान्तरित भएर पार्टीलाई नयाँ शिराबाट अघि बढाइने बताएका छन् । पार्टीको गण्डकी प्रदेश कमिटीले मङ्गलवार साँझ आयोजना गरेको भर्चुअल प्रशिक्षण कार्यक्रममा उनले पार्टीको आन्तरिक एकता बलियो बनाउँदै पुनः देशको पहिलो पार्टी बनाउने गरी क्रियाशील हुन नेता कार्यकर्तालाई आग्रह गरे ।  

बागमती प्रदेश र प्रदेश नं १ मा पनि अबको हप्ता दश दिनभित्रमा गठबन्धनको सरकार बन्ने जानकारी उनले दिए । धेरै लामो समयदेखि चलिरहेको बागमती र प्रदेश नं १को सरकार परिवर्तन बारे सत्तारुढ गठबन्धनका शीर्ष नेताले पहिलो पटक आफ्नो भनाई राखेका छन्।

बागमती प्रदेशमा एमालेकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य र प्रदेश १मा पनि एमाले कै भीम आचार्य मुख्यमन्त्री रहेका छन्। एमालेको पार्टी विभाजनको क्रममा नेता- कार्यकर्ता थामथुम पार्ने उद्देश्यले अध्यक्ष केपी ओलीले दुवै प्रदेशमा नयाँ मुख्यमन्त्री बनाएका थिए। मुख्यमन्त्री शाक्य एमालेमा बागी बनेपछि उनलाई पद दिएर रोकिएको थियो।  

बागमती प्रदेशका नेकपा एमालेका १२ सांसदले नेकपा एकीकृत समाजवादी दल रोजेपछि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छन्। त्यसैगरि  प्रदेशसभामा प्रतिनिधित्व गर्ने एमालेका १० सांसद नेकपा एकीकृत समाजवादीमा सामेल भएसँगै प्रदेश नं १ सरकार पनि अल्पमतमा परेको हो। 

दुवै प्रदेशमा गठबन्धनले सरकार बनाउने भने पनि त्यसको कुनै सुरसार देखिएको थिएन। पार्टीको आन्तरिक प्रशिक्षणमा माओवादीका अध्यक्ष प्रचण्डले सरकार परिवर्तन हुने बताए पछि तरङ्ग उत्पन्न भएको छ।  

प्रशिक्षण कार्यक्रममा अरू बिषयहरूमा पनि प्रचण्ड बोलेका थिए। एमसीसी बारे उनले भने, “यथास्थितिमा एमसीसी पारित हुने स्थिति बन्दैन, उठेका प्रश्नको ‘सोलुसन’ गरेर मात्र यसका बारेमा सोच्न सकिन्छ भनेर मैले प्रधानमन्त्रीलाई भनेको छु, एमसीसीका कारण अहिलेको पाँच दलीय गठबन्धन टुट्दैन, प्रभाव पनि पार्दैन ।” 

पछिल्लो समय पार्टीप्रति जनताको आकर्षण बढेको भन्दै अध्यक्ष   दाहालले भने, “जनताले विसं २०६४ को भन्दा धेरै मत दिएर विजयी गराउन चाहेका छन् । वडादेखि केन्द्रसम्म एकताबद्ध भएर जनतामा जाँदा पार्टीको जित सुनिश्चित छ, देशलाई राम्रोसँग अघि बढाउनसमेत माओवादीले जित्नुको विकल्प छैन ।”

माओवादी जहिले पनि उत्पीडित जाति, क्षेत्र, लिङ्ग र समुदायका पक्षमा रहेकाले माओवादीको तुलना अन्य पार्टीसँग हुन नसक्ने भनाइ अध्यक्ष दाहालको छ । जनताले एमसीसी नरुचाएको भन्दै यथास्थितिमा पारित हुने अवस्था नरहेको र यसलाई पुनः परिभाषित गर्नुपर्ने पक्षमा माओवादी रहेको उनले उल्लेख गरे ।

पार्टी स्थायी समितिका सदस्य नारायणकाजी श्रेष्ठले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्दा जित सुनिश्चित हुने बताए । पार्टी प्रदेश समितिका संयोजक एवं प्रतिनिधिसभा सदस्य हरि अधिकारी(कुमार)ले गण्डकी प्रदेशका ११ वटै जिल्लामा पार्टी सदस्यता नवीकरणलगायतका सङ्गठनात्मक गतिविधि अघि बढाइएको जानकारी दिए ।

केन्द्रीय समितिबाट पारित सङ्गठनात्मक कार्य तोकिएको समयभित्रै भइरहेको बताउँदै उनले जनवर्गीय सङ्गठनका कामलाई समेत छिट्टै सुरु गरिने जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ