arrow

काम चलाऊ मन्त्रिपरिषद्‌मा शून्य महिला, कोको बने मन्त्री ?

logo
एएनआई,
प्रकाशित २०७८ असोज ६ बुधबार
taliban-afgan.jpg

काबुल । अफगानिस्तानमा काम चलाऊ मन्त्रिपरिषद् पनि महिलाविहीन भएको छ ।अघिल्लो महिना सत्ता कब्जा गरेर केही हप्ता अगाडी काम चलाऊ सरकार बनाएको तालिबानले मङ्गलवार मन्त्रिपरिषद् विस्तार गर्दा पनि महिलालाई सहभागी गराएको छैन । 

इस्लामिक इमरेट्समा महिलालाई मन्त्री बनाउन नमिल्ने मान्यता अनुरूप महिलाहरूलाई मन्त्रिपरिषद्मा सहभागी नबनाएको बताइएको छ ।तर सूचना तथा सञ्चार राज्यमन्त्री जाबिहुल्लाह मुजाहिद्धिनले भने पछाडि पारिएको वर्ग तथा समुदायको सहभागितालाई ध्यान दिएर मन्त्रिपरिषद् विस्तार गरिएको दाबी गरे । 

विस्तारित मन्त्रिपरिषद्मा हाजी नुरुद्धिन अजिजि कार्यवाहक अर्थमन्त्री, हजि मोहम्मद बशिर अर्थ उपमन्त्री, क्वालान्डर एबाड कार्यबहाक जनस्वास्थ्य मन्त्री, अब्दुल्बारी ओमर जनस्वास्थ्य उपमन्त्रीलगायत रहेका छन् । 

सार्वजनिक भएको मन्त्रीहरूको सूचीमा एक जना पनि महिलाको नाम छैन । मन्त्रिपरिषद्मा अहिले ३३ जना रहेका छन् । मन्त्रिपरिषद्मा महिला सहभागिताको बारेमा सोधिएको प्रश्नमा मन्त्री मुजाहिद्धिनले महिलाको विषयमा अहिलेको मन्त्रिपरिषद्ले नै उच्च प्राथमिकताका साथ काम गर्ने दाबी गरे । 

महिलाका सबै माग र बालिकाहरूको शिक्षाका बारेमा समेत अहिलेको काम चलाउन सरकारले नै काम गर्ने उनको भनाई थियो ।“हामीले नै महिलाका माग र उनीहरूको शिक्षाका बारेमा पर्याप्त काम गर्नेछौँ,” पत्रकारहरूसँग उनले भने ।

अफगानिस्तानमा तालिबानले सत्ता लिएपछि महिला अधिकार कुण्ठित गरेको भन्दै सर्वत्र आलोचना भइरहेका बेला विस्तारित मन्त्रिपरिषद् पनि महिला विहीन भएको हो । महिला र शिक्षा अधिकारलगायत आधारभूत अधिकार तथा स्वतन्त्रता कुण्ठित भएमा अफगानिस्तानको तालिबान सरकारलाई मान्यता नदिने र सहयोग नगर्ने अन्तर्राष्ट्रिय समुदाय र विभिन्न देशहरूले चेतावनी दिँदै आएका छन् । 

तर मन्त्री मुजाहिद्धिनले भने आफ्नो सरकारलाई अन्तर्राष्ट्रिय समुदायले पनि स्वीकार गर्दै सहयोग र सहकार्य आदान प्रदान हुने विश्वास व्यक्त गरे । उनले देश भित्रको आन्तरिक आवश्यकता पूरा गर्न आन्तरिक अर्थतन्त्रले थेग्न सक्ने दाबी पनि गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ