arrow

शक्ति संघर्ष

माओवादीमा वर्षमान बने नयाँ विवादको जड

शक्ति आर्जनको होडबाजी, वर्षमानको निर्देशनले चिढियो जनार्दन पक्ष

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ७ बिहिबार
barshaman-pun-news-pokhara.jpeg
तस्वीर–फाइल ।

काठमाडौं । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुनले व्यक्तिगत महत्वाकांक्षा र स्वार्थका लागि पार्टीभित्र गुटबन्दी नगर्न आग्रह गर्दै  अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वरिपरि गोलबन्द भएर क्रान्तिकारी पार्टी निर्माणमा जुट्न नेता कार्यकर्तालाई आग्रह गरेपछि आन्तरिक विवाद शुरु भएको छ । 

केन्द्रीय निर्वाचन समितिको भर्चुअल अभिमुखीकरण कार्यक्रमलाई गत हप्ता सम्बोधन गर्दै केन्द्रीय कार्यालय इन्चार्जसमेत रहेका पुनले प्रचण्डकै वरिपरि गोलबन्द हुन गरेको आग्रहले पार्टीभित्र नयाँ विवादको जन्म भएको हो । माओवादी पार्टीमा लागेको कि प्रचण्डसँग लागेको भन्दै पार्टीका नेताहरुले पार्टी विचारको हो कि नेताको हो भन्दै प्रश्न उठाएका छन् । 

प्रवास विभाग प्रमुख नारायणकाजी श्रेष्ठ, हरिबोल गजुरेल, देवेन्द्र पौडेल, जनार्दन शर्मा, पम्फा भुषाल लगायतका नेताहरु पुनको सो भनाइले चिढिएका छन् । ‘व्यक्तिगत स्वार्थ र महत्वाकांक्षाका लागि गुटबन्दी गर्ने प्रवृत्ति क्रान्तिकारी प्रवृत्ति होइन, विचार र पार्टी बलियो बनाउन हामी सबै अध्यक्ष प्रचण्डको वरिपरि गोलबद्ध हुनुपर्छ’ , पुनले भनेका थिए । 

उनले सैद्धान्तिक कुरा नगरी प्रचण्डलाई मात्र केन्द्रमा राखेर अभिव्यक्ति दिएपछि पार्टीभित्रबाट आलोचना शुरु भएको छ । ‘पार्टीलाई विभिन्न गुट र स्वार्थ समूहबाट अलग गरेर विचारले एक, राजनीतिले एक, संगठनले एक क्रान्तिकारी जोश र जाँगरले एकतावद्ध बनाउन जरुरी छ’, पुनले भनेका थिए ।
 
नेकपा माओवादी केन्द्रले वडादेखि केन्द्रीय समितिसम्म सबै तहका नेतृत्व निर्वाचनमार्फत चयन गर्ने भएको छ । माओवादीले वडा, प्रदेश तथा संघीय निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रीय समितिसहित सबै कमिटीको नेतृत्व निर्वाचनबाट चुनिएर आउनु पर्ने गरी कार्यविधि बनाएपछि उनले आगामी राष्ट्रिय सम्मेलनमा पनि आफ्नो वर्चश्व देखाएर शक्तिमा रहिरहन सो निर्देशन दिएको अन्य नेताहरुको आरोप छ । 

पत्नी ओनसरी घर्ती उपसभामुख, सभामुख बनाइसकेको, आफू पटक पटक मन्त्री बनिसकेको र पार्टीभित्र पनि कार्यालय तथा शक्तिशाली विभागमा रहेकाले वर्चश्वलाई कायम राख्न सो निर्देशन दिएको भन्दै नेताहरुले असन्तुष्टि जनाएका छन् । 

संगठन विभाग प्रमुख रहेका जनार्दन शर्मालाई समेत थाहा नदिइ उनले यस्तो निर्देशन दिएका हुन् । पार्टीभित्र पुन र शर्माबीच कसले बढी शक्ति आर्जन गर्ने भन्ने प्रतिस्पर्धा चलिरहेका बेला पुनले सो निर्देशन दिएपछि शर्मा असन्तुष्ट भएको स्रोतले जनाएको छ ।  

माओवादीले आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ । तल्ला कमिटीहरुका सम्मेलन राष्ट्रिय सम्मेलनअघि नै सकिएर नेतृत्व चयन हुनेछ । 

वडादेखि केन्द्रसम्म दुई लाख ८५ हजार पदहरुमा निर्वाचनमार्फत नेतृत्व चयन हुने भएकाले पनि पार्टीभित्र कसले बढी शक्ति आर्जन गर्ने भन्ने होडबाजी चलेको छ । 

निर्वाचन कार्यविधिमा पार्टी अध्यक्ष र पदाधिकारीको चयन पनि निर्वाचनबाटै गर्ने उल्लेख छ । बैठकमा १ सय ८० केन्द्रीय सदस्य, ७ भौगोलिक र ३ गैर–भौगोलिक गरी १० प्रदेशका प्रदेश निर्वाचन समितिका पाँच–पाँच जना सहभागी रहनेछन् । 

यस्तो अवस्थामा शर्मा संगठन विभाग प्रमुख भएकाले उनको निर्देशन जानुपर्नेमा माओवादी केन्द्रीय कार्यालय इन्चार्जका रुपमा पुनले केन्द्रीय निर्वाचन समितिको भर्चुअल अभिमुखीकरण कार्यक्रम राखेर सो निर्देशन दिएका थिए । 



नयाँ