एकता प्रक्रियामा जनार्दनको असहमति, भने- प्रचण्डले माधवसँग एकता गरे पार्टी पुनर्गठन गर्छु
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १७ सोमबार
3.2k
Shares
काठमाडौं। नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अघि बढाइरहेको पार्टी एकता प्रक्रियाप्रति गम्भीर असहमति जनाएका छन्। शर्माले हाल भइरहेको एकता प्रयासलाई ‘जेनजी आन्दोलनको भावना विपरीत’ भएको बताएका छन्।
उपाध्यक्ष शर्माले आफ्नो असन्तुष्टि सार्वजनिक गर्दै “माधवजीसँग पार्टी एकता गरे भने म जान्नँ, म पार्टी पुनर्गठन गर्छु। मैले यो कुरा भनिदिएको छु,” भनेर चेतावनी दिएका छन्। उनले पार्टीलाई सुदृढ गर्ने कुरामा जोड दिँदै “आफ्नो पार्टी फुटाउने र अर्को पार्टी ल्याएर एकता गर्छु भन्ने कुरा एकता होइन,” भन्ने तर्क राखेका छन्।
शर्माले भइरहेको एकता प्रयास माओवादी पार्टीले बोक्न नसक्ने खालको भएको बताउँदै अध्यक्ष प्रचण्डमाथि महाधिवेशनमा ‘प्रतिस्पर्धा छल्नकै लागि’ एकताको कुरा गरिरहेको आरोप लगाएका छन्। उनले “पहिले नेतृत्व हस्तान्तरण हुनुपर्छ, त्यसपछि मात्रै समग्र कम्युनिस्ट आन्दोलन एकतामा जान सक्छ” भन्ने आफ्नो धारणा स्पष्ट पारेका छन्।
उनले तत्काल एकता प्रक्रिया स्थगन गरी पार्टीलाई पुनर्गठन, वैचारिक स्पष्टता र जनपक्षीय दिशामा अघि बढाउन नेतृत्वलाई आह्वान गरेका छन्। शर्माले गणतन्त्र स्थापनापछि माओवादी पार्टीले जनयुद्धको भावना, संविधानको मर्म र जनआकांक्षाअनुसार समाजवादको आधार निर्माण गर्ने जिम्मेवारी पूरा गर्न नसकेको समेत उल्लेख गरेका छन्।