- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
स्टकहोल्म । यस बर्षको नोबेल पुरस्कार अन्तर्गत विज्ञान र साहित्यतर्फका विजेताहरूलाई उनीहरूको आफ्नै देशबाट पुरस्कार प्राप्त गर्ने व्यवस्था गरिएको नोबेल पुरस्कार फाउण्डेसनद्वारा गठित समितिले बिहीबार कोभिड-१९ महामारीलाई उद्धृत गर्दै यस्तो व्यवस्था गरिएको बताएको छ । परम्परागत रूपमा नर्वेबाट प्रदान गरिँदै आएको नोबेल शान्ति पुरस्कारसम्बन्धी निर्णयबारे भने अहिलेसम्म कुनै निर्णय नगरिएको फाउण्डेसनले जानकारी गराएको छ ।
नोबेल समितिले यस वर्षको नोबेल शान्ति पुरस्कार विजेतालाई ओस्लोमा स्वागत गर्ने सम्भावना अझै खुला राखेको छ । समितिले ओस्लो समारोहको ढाँचा अक्टोबर महिनाको मध्यसम्ममा घोषणा गर्ने बताइएको छ ।
नोबेल फाउण्डेशनका कार्यकारी निर्देशक विदार हेल्गेसिनद्वारा जारी वक्तव्यमा भनिएको छ, 'मेरो विचारमा सबैजना कोभिड-१९ को महामारी समाप्त होस् भन्ने चाहन्छ, तर हामी अहिलेसम्म त्यहाँ छैनौं ।'
उनले पुरस्कार वितरण व्यवस्था सम्बन्धमा थपे, 'महामारी र अन्तर्राष्ट्रिय यात्रा सम्भावनाको ढाँचाबारे अझै अनिश्चितता रहेकोले सन् २०२१ का पुरस्कार विजेताहरूले आफ्नो गृह देशमा नै आफ्नो पदक र प्रमाणपत्र पाउने ब्यवस्था गर्न नहुने खासै कारण देखिएन ।'
विजेताहरूको घोषणा अक्टोबर महिनाको शुरुमा गरिन्छ तर सामान्यतया डिसेम्बर १० मा दुई स्कान्डेनेभियाली राजधानीमा भव्य समारोहहरूबीच पुरस्कार वितरण गर्ने प्रचलन छ । यो दिन पुरस्कारका संस्थापक अल्फ्रेड नोबेलको मृत्युको वार्षिकोत्सव हो । उनको मृत्यु सन् १८९६ डिसेम्बर १० मा भएको थियो ।
यस फाउन्डेसनले महामारीमाथि लगाइएको यात्रा प्रतिबन्धका कारण पुरस्कार प्राप्त गर्नेहरूको आ-आफ्नो गृह देशमा विज्ञान र साहित्य पुरस्कार दिने निर्णय गत बर्ष पनि गरेको थियो ।
विज्ञान विधा अन्तर्गत चिकित्सा, रसायनशास्त्र र भौतिकशास्त्रमा पुरस्कार दिने गरिएको छ । सन् २०२० मा जस्तै सन् २०२१ मा पनि पुरस्कार समारोहलाई ‘डिजिटल र भौतिक स्वरूपमा हुने फाउन्डेसनले जानकारी गराएको छ ।
पहिलो पुरस्कार वितरण गरिएको सन् १९०१ देखि यस वर्षसम्म आइपुग्दा फाउण्डेसनले १२० औं वार्षिकोत्सव मनाउने तयारीमा जुटेको छ । नोबेल पुरस्कारको घोषणा सामान्यतया अक्टोबर ४ देखि ११ सम्म गरिन्छ । आगामी अक्टोबर महिनाको ४ तारिख (सोमबार) मा चिकित्सातर्फको पुरस्कार घोषणा गरिनेछ भने अक्टोबर ५ (मङ्गलबार) भौतिकशास्त्र तथा अक्टोबर ६ (बुधबार) रसायनशास्त्रतर्फको पुरस्कार घोषणा हुनेछ ।
बहुप्रतीक्षित साहित्य र शान्ति पुरस्कार क्रमशः अक्टोबर ७ र ८ (बिहीबार र शुक्रबार) घोषणा गरिनेछ । त्यसपछि अक्टोबर ११ (सोमबार) स्वीडेनको केन्द्रीय बैंकले स्थापना गरेको अर्थशास्त्रतर्फको पुरस्कार घोषणा हुनेछ ।