ज्योति नगर पहिरोको दलदलमा : नागरिक भन्छन्- दीर्घकालीन समस्याको समाधान कहिले ?
नारायण वली,
प्रकाशित २०७८ असोज १० आइतबार
744
Shares
रुपन्देही । बुटवलको ज्योति नगर यति वेला पहिरोको दलदलमा छ । २३ वर्ष पछि गत भदौ १३ गते गएको पहिरोले अझै सम्म पनि पहिरोको जाँदा स्थानीयहरू तितिरबितिर हुन पुगेका छन् । स्थानीयहरूले ज्योति नगरको दीर्घकालीन समस्या समाधान कहिले भनेर प्रश्न गर्न थालेका छन् ।
वन क्षेत्रको भागमा अवस्थित रहेको ज्योति नगर चुरे पहाडको काखमा छ । जसले गर्दा पहिरोको जोखिमबाट त्यहाँका स्थानीयहरूलाई दीर्घकालीन व्यवस्थापन गर्न जरुरी रहेको राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति कार्यान्वयन इकाई बुटवलका प्रमुख अजय कार्कीले बताए ।
२३ वर्ष अगाडि जस्तै, गत भदौ १३ र १४ गते नजिकको चुरे बाट पहिरो जाँदा सुरुमा पहिरोले १० घरमा क्षति पुर्यायो भने, करिब ४० घरमा भन्दा बढीमा पहिरोको लेदो पस्यो, थप असोज ३ गते गएको पहिरोले अन्य घरहरूमा पनि क्षति पुर्याएको बुटवल उपमहानगर अन्तर्गत विपद् व्यवस्थापनले जनाएको छ । पहिरोले स्थानीयहरू घर छोडेर अन्यत्र ठाउँमा बस्न बाध्य छन् । सो स्थान बुटवल उप-महानगरपालिका ३ ज्योति नगर उत्तरी क्षेत्रको चुरे क्षेत्र पर्दछ ।
२०५५ सालमा गएको पहिरोले ५७ घर पुरेको र ज्योति नगर, आदर्श नगर र लक्ष्मी नगर प्रभावित बन्न पुगेको बताइएको छ । त्यस क्रममा पहिरो बारे जापानको सहयोगमा नियोग जाइकाले गरेको अध्ययनले ज्योति नगर क्षेत्र बस्ती बसाउन उपयुक्त नभएको र भएकालाई हटाउनु पर्ने र चुरे पहाडलाई असर पार्ने गरी कुनै पनि गतिविधि गर्न नहुने निष्कर्ष निकाले पनि तर कार्यान्वयन नहुँदा क्षति बेहोर्नु परेको बताइएको छ ।
यस्तै, २०५३ सालमा गरिएको एक अध्ययनले बुटवल आसपासका चुरे पहाड नजिक ३० मिटरका दरले प्रति वर्ष भू-स्खलन हुँदै गइरहेको प्रतिवेदन तयार गरेको समेत पाइएको छ । तर, त्यसको जोखिमलाई न्यूनीकरण गर्न पूर्व तयारी गरे पनि पछिल्लो समय खोला र चुरे क्षेत्रको अतिक्रमण कार्य मनपरी रूपमा बढे पनि नियामक निकायहरू चुपचाप रहेका छन् ।
राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति कार्यान्वयन इकाई भन्छ, चुरेको संरचना निकै कमजोर रहेको छ, बस्ती बसाल्ने र अतिक्रमण गर्ने कार्य गर्न हुँदैन । सो पहिरोको लेदो बुटवलको मुख्य बजार अस्पताल लाइन लगायतसम्म बग्ने गरेको छ । बुटवल उपमहानगरपालिकाको ३ र ४ नम्बर वडाको पहाडी भेग उच्च जोखिममा रहेको र उच्च जोखिम रहेको क्षेत्रमा भएको अतिक्रमणले जोखिम विपत्ति निम्त्याएको जनाइएको छ ।
बुटवल उपमहानगरपालिकाले चक्रपथ बनाउने भन्दै, चुरेको फेदमा डोजर चलाउनुको साथै, वसन्तपुर पुग्ने केबलकारका लागि रुखहरू समेत काटिएको छ। अध्ययनले कुनै भौतिक संरचना नबनाउने सुझाव दिए पनि तर स्थानीय तह बाटै पार्क, मन्दिर र किरिया पुत्री भवन जस्ता संरचना बनाइएका छन्।
राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिले गत वर्ष करिब २ करोडको लगानीमा पहिरो रोकथाम गर्ने प्रयास गरे पनि, तर प्रभावकारी हुन सकेन।