arrow

परम्परागत खेती छाडेर ड्रागन फ्रुटतर्फ आकर्षित हुँदै इलामका किसान

गाउँमै वार्षिक लाखौँ आम्दानी

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार २९ सोमबार
dragonss.jpg

काठमाडौँ ।  इलामको चुलाचुली गाउँपालिका–३ का किसान प्रविण इङनामलाई आजकल बगानको स्याहारसुसारमै व्यस्तता बढेको छ। श्रीअन्तुमा घाम उदाएदेखि साँझ घाम नडुब्दासम्म उनी आफ्नो ड्रागन फ्रुट बगानको रेखदेख गर्न लागिपर्छन्। सात वर्षअघि उनले स्थापना गरेको ‘भिलेज एग्रो फार्म’ आज जिल्लामै धेरै ड्रागन फ्रुट उत्पादन तथा बिक्रीवितरण गर्ने फार्मका रूपमा चिनिन्छ। उनले यस खेतीबाट वार्षिक १२ लाख रुपैयाँ बराबरको आम्दानी गर्दै आएका छन्।

दुई बिघा क्षेत्रफलमा लगाइएका २ हजार ८ सय बिरुवाबाट उत्पादन भएको फल बिक्री गरेर प्रसन्न देखिएका इङनामले यस वर्ष उत्पादन अझ बढ्ने भएकाले आम्दानी पनि वृद्धि हुने अपेक्षा राखेका छन्। उनले आफ्नै जमिन र ३८ कट्ठा लिजमा लिएर मलेसियन प्रजातिको रातो ड्रागन फ्रुट रोपेका हुन्। सुरुमा तीन कट्ठा जमिनमा परीक्षणका रूपमा खेती सुरु गरेका उनले कम लगानीमा धेरै आम्दानी हुन थालेपछि खेती विस्तार गरेर दुई बिघा (४० कट्ठा) पुर्‍याएका हुन् र आगामी वर्ष यसलाई थप विस्तार गर्ने योजना बनाएका छन्।

उनले उत्पादन गरेको ड्रागन फ्रुटका लागि बजारको कुनै समस्या छैन। व्यवसायीहरू बगानमै आएर साइजअनुसार प्रतिकिलो २०० देखि ५०० रुपैयाँसम्ममा खरिद गरी लैजाने गर्छन्। यहाँ उत्पादित फल झापाको विर्तामोड र दमक, मोरङको उर्लाबारी तथा इलाम बजारमा बिक्री हुने गरेको छ। यो व्यवसायबाट उनी आफैँ स्वरोजगार मात्र बनेका छैनन्, पाँच जना स्थानीय श्रमिकलाई रोजगारी समेत दिएका छन्। पैसा कमाउन विदेश नै गइराख्नु पर्दैन र नवीनतम ढङ्गबाट काम गर्ने हो भने गाउँघरमै मज्जाले कमाइ गर्न सकिन्छ भन्ने सन्देश दिन आफूले यो व्यवसाय सुरु गरेको उनी बताउँछन्।

अन्नबालीमा मात्र सीमित रहने यस क्षेत्रका किसानका लागि इङनामको यो व्यावसायिक खेती एउटा अनुकरणीय र प्रेरणाको स्रोत बनेको छ। कम मिहिनेत र राम्रो बजार भाउ पाइने भएपछि स्थानीयस्तरमा अन्य किसानको पनि यस खेतीतर्फ आकर्षण बढ्न थालेको छ। चुलाचुली गाउँपालिका–२ बुढीझोडाकी मायतीमाया लिम्बूले पनि छ वर्षअघि ‘छथरे ड्रागन फ्रुट कृषि फार्म’ दर्ता गरी व्यावसायिक खेती गर्दै आएकी छन्। उनले आठ कट्ठा जमिन लिजमा लिएर ६५० बोट ड्रागन फ्रुट रोपेकी छन्, जसले उत्पादन दिन थालिसकेका छन्। सबै खर्च कटाएर वार्षिक १ लाख २५ हजार रुपैयाँ आम्दानी गरिरहेकी लिम्बू पनि मिहिनेत कम र आम्दानी धेरै हुने भएकाले यसलाई विस्तार गर्ने योजनामा छिन्।

चुलाचुलीमा ड्रागन फ्रुट खेती प्रवर्द्धनमा सरकारको समेत सहयोग हुँदै आएको छ। इङनामको फार्मलाई आर्थिक वर्ष २०८०/८१ मा चुलाचुली गाउँपालिकाले ४ लाख रुपैयाँ अनुदान दिएको थियो भने लिम्बूको फार्मलाई सोही वर्ष कृषि ज्ञान केन्द्र इलामबाट ५० प्रतिशत लागत साझेदारीमा २ लाख ५० हजार रुपैयाँ अनुदान उपलब्ध भएको थियो। प्राप्त अनुदानले बगान व्यवस्थापन र नयाँ बिरुवा थप गर्न मद्दत मिलेको किसानहरू बताउँछन्।

चुलाचुली गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङले कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर गाउँपालिकाले आफ्ना गतिविधि अगाडि बढाएको र आगामी वर्ष पनि किसानलाई प्रोत्साहन गर्न आवश्यक बजेटको व्यवस्था गरिएको बताए। हाल ड्रागन फ्रुट खेती इलामको चुलाचुलीसहित माई नगरपालिका, रोङ गाउँपालिका, माईजोगमाई गाउँपालिका र इलाम नगरपालिकाको तल्लो क्षेत्रमा तीव्र रूपमा विस्तार भइरहेको छ। समथर जमिनमा ड्याङ बनाएर र पिलर गाडेर लगाइने यो फल पछिल्लो समय नेपालमा लोकप्रिय, आकर्षक र पौष्टिक फलका रूपमा स्थापित हुँदै गएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ