arrow

दशैंका लागि अग्रिम बुकिङ खुला, टिकट लिनेको चाप कम

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ११ सोमबार
buspark-counter-ticket.jpg
फाइल तस्विर।

काठमाडौं। दशैँमा घर जाने यात्रुलाई लक्षित गरेर आजदेखि अग्रिम टिकट बुकिङ खुला गरिएको छ । देशका विभिन्न क्षेत्रबाट काठमाण्डौंमा अध्ययन, व्यापार व्यवसाय, रोजगारीको लागि आएकाहरू दशैँ मनाउन घर जानेहरूका लागि अग्रिम टिकट बुकिङ खुला गरिएको हो । 

एकै पटक काठमाण्डौ छोड्नेको भीड बढ्ने भएकोले विगत धेरै वर्ष देखि दशैँ अगाडि टिकटको अग्रिम बुकिङ खुला गरिन्छ । आज पहिलो दिन भने टिकट काउन्टरमा खासै भीड देखिएको थिएन । कोरोना सङ्क्रमणको दर घटे पनि जोखिम कायमै रहेको कारण यो वर्ष काठमाण्डौं छोड्नेको सङ्ख्या कम हुने आङ्कलन गरिएको छ । 

अग्रिम टिकट बुकिङ काउन्टरमा पश्चिमको धनगढी, टिकापुर, बझाङ, बाजुरा, सल्यान, रुकुम, प्यूठान, रोल्पा तथा पूर्वको ताप्लेजुङ, इलाम, काँकडभित्ता, उदयपुरलगायतका ठाउँमा जाने यात्रुको सानो लाइन थियो । गत वर्ष कोरोना सङ्क्रमणका कारण अग्रिम टिकट बुकिङ खुला नगरिएको भए पनि यस वर्ष भने समयमा नै अग्रिम टिकट बुकिङ खुला गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले जानकारी दिए । महासचिव सिटौलाले यात्रुको चापलाई हेरेर यातायात व्यवसायीले बसहरू थप्दै जाने बताए । नयाँ बसपार्कबाहेक चाबहिल, गौशाला, कोटेश्वर, सुन्धारा र कलङ्कीबाट समेत अग्रिम टिकट बुकिङ सुरु गरिएको छ । साथै आगामी असोज २० गतेबाट देशका सबै क्षेत्रको यातायातको लागि रोड परमिट खुला गरिने बताए ।

यसवर्षको अग्रिम टिकट बुकिङ खुलाका लागि नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय प्रालिले यातायात व्यवसायीहरूको सहकार्यमा ११ टिकट बुकिङ काउण्टर थप गरेको छ । प्रालिका महाप्रबन्धक सुनिल कुँवर दशैँमा घर जाने यात्रुलाई व्यवस्थित रुपमा टिकट प्रदान गर्नका लागि टिकट काउण्टरलाई प्रविधिमैत्री बनाएको बताए । दशैँमा यात्रुलाई सुरक्षित तवरले गन्तव्य स्थलसम्म जाने वातावरण गाडीको मर्मत सम्भारलाई अनिवार्य गर्नुका साथै गाडिलाई सेनिटाइज गर्ने र गाडीमा मास्क र सेनिटाइजर राख्ने अनिवार्य व्यवस्था गरिएको महाप्रबन्धक कुँवर बताउँछन् ।

विश्वका विभिन्न देशसहित नेपालमा पनि कोरोना सङ्क्रमण यथावत् रहेकाले अग्रिम टिकट बुकिङका लागि भौतिक दूरी कायम गरिएको छ । नयाँ बसपार्क क्षेत्रमा चाडपर्वमा हुनसक्ने लुटपाट, चोरी, डकैतीलाई न्यूनीकरण गर्नका लागि ल्होत्से बहुउद्देश्यीय प्रालिले ३४ जना सेक्युरिटी गार्ड र नेपाल प्रहरीले ४० जना प्रहरी खटाएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्वलाई लक्षित गरेर राजधानीका विभिन्न १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । उक्त सहायता कक्षमा राजधानीबाट विभिन्न गन्तव्य स्थलसम्म जान लाग्ने भाडा दर र यात्रुलाई गन्तव्य स्थलसम्म  सहजै जानका लागि आवश्यक समन्वय गर्ने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ