- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । दसैँको सामान बोकेका हजार बढी कार्गो कन्टेनर चीनको स्वायत्त क्षेत्र तिब्बतको खासामा रोकिएका छन् । नेपाल आउन लागेका ती कार्गो कन्टेनर चीनले बिना कारण रोकेको व्यापारीहरूले बताएका छन् ।
खास गरी हुम्लामा चीनसँगको सीमा विवादको अध्ययन गर्न समिति गठन गरेयता नै चीनले अनेकौँ किसिमले सरकारमाथि दबाब बढाउन सुरु गरेको थियो । सीमा विवाद अध्ययन समिति गठन नै हुन नदिन चिनियाँ पक्षले केही नेताहरूसँग लबिङसमेत गरेको थियो ।
समिति गठन भएपछि चीनले सीमा विवाद अध्ययन गर्न नदिनका लागि समेत कूटनीतिक वृत्तमा अनेक चाल चलेको राजनीतिक स्रोतको दाबी छ ।
नेपाली काँग्रेस नेतृत्वको गठबन्धन सरकारले गठन गरेको समितिले हुम्लाको सीमा विवाद अध्ययन गरेर प्रतिवेदन समेत गृह मन्त्रालयलाई बुझाएको छ ।
स्रोतका अनुसार अध्ययन टोलीले सीमामा समस्या रहेको निष्कर्ष निकालेको छ । चीनले भूमि मिचेको देखियो भने चीनका लागि अन्तर्राष्ट्रिय रूपमै यो ठुलो लज्जाको विषय बन्नेछ ।
यो विषय ढाकछोप गर्नकै लागि चिनियाँ पक्षले अनेकौँ किसिमले सरकारमाथि दबाब बढाइरहेका बेला नाकामा दसैँका लागि भित्रिरहेको सामान नै ठप्प पार्न खोजेको छ ।
कपडा, बिजुलीको सामान, स्याउ, लसुन, र दसैँका लागि अन्य सामान बोकेका कार्गो कन्टेनर अहिले खासाबाट नेपाल छिर्न नदिँदा व्यापारीहरूको सामान अलपत्र हुने भएको छ ।
चीनले त्यहाँबाट नेपाल सामान भित्र्याउन सधैँ समस्या दिँदै आउने गरेको व्यापारीहरूको गुनासो छ । खास गरी सर्वसाधारणको विषयलाई कूटनीति एवं स्वार्थ निहित तरिकाले जोडेर चीनले सताउने गरेको देखिन्छ ।
भूकम्पका बेला बन्द भएको तातो पानी नाका अझैँ पूर्ण रूपमा सञ्चालनमा आएको छैन । अहिले चीनले दैनिक एक दर्जन भन्दा पनि कम कन्टेनर मात्रै दिनहुँ नेपाल छिर्न दिने गरेको छ ।
लाइनमा बसेका सयौँ कन्टेनर नेपाल आइपुग्न यसरी अत्यधिक समय लाग्ने देखिन्छ । यसो हुँदा सामान सबै काम नलाग्ने हुने व्यापारीहरूको चिन्ता छ ।
वाणिज्य दूतावास ल्हासाका वाणिज्यदुत नवराज ढकालले थप कन्टेनर प्रवेश गर्न दिन चिनियाँ पक्षसँग कुरा भइरहेको बताएका छन् ।
'सम्भवतः आज या भोलि देखि नै दैनिक २० कन्टेनर नेपाल प्रवेश गर्न दिने गरी कुरा भएको छ,' हाम्रा कुरासँग बोल्दै वाणिज्यदुत ढकालले भने । सो क्षेत्रमा समेत अहिले दर्जनौँ कन्टेनर लाइनमा रहेको उनले बताए ।
चीनले दैनिक २० कन्टेनर छिर्न दिए पनि लाइनमा रहेका सयौँ कन्टेनर नेपाल छिर्न निकै समय लाग्ने देखिन्छ । चीनले बिना कारण नाकामा कन्टेनर रोक्दा नेपालमा सामान आपूर्तिमा समस्या मात्रै हैन, व्यापारीहरू समेत समस्यामा पर्ने गरेका छन् ।