- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
चरिकोट । शिक्षाप्रेमी नन्दप्रसाद शिवाकोटीको स्मृतिमा सर्वाधिक पुरस्कार राशिको शिक्षा पत्रकारिता पुरस्कार घोषणा गरिएको छ । साविकको जनकपुर अंचलको पहिलो विद्यालय क्षमावती माध्यमिक विद्यालयका संस्थापक एवं दोलखा, रामेछाप र सिन्धुपाल्चोकका केही भाग समेटिएको तत्कालीन क्षेत्र नम्बर ११ का सभापति नन्दप्रसाद शिवाकोटीको स्मृतिमा पत्रकारिता–शिक्षा क्षेत्रमा योगदान गरेका एक जनालाई हरेक वर्ष पुरस्कृत गर्ने गरी यो क्षेत्रको जिल्लाकै सबैभन्दा ठूलो पुरस्कार राशिको घोषणा गरिएको हो ।
नेपाल प्रेस युनियन दोलखाले संचालन र वितरण गर्ने गरी पुरस्कार स्थापना गरिएको हो । नेपाल प्रेस युनियन दोलखाले सोमबार चरिकोटस्थित लक्ष्मी होटलमा आयोजना गरेको विशेष कार्यक्रममा उक्त पुरस्कार घोषणा गरिएको थियो ।
नेपाल प्रेस युनियनका केन्द्रीय महासचिव अजयबाबु शिवाकोटीले आफ्ना हजुरबुबा स्वर्गीय नन्दप्रसाद शिवाकोटीको नाममा उक्त पुरस्कार घोषणा गरेका हुन् ।
पुरस्कार घोषणा गर्दै महासचिव शिवाकोटीले हरेक वर्ष शिक्षा क्षेत्रमा उत्कृष्ट कलम चलाउने पत्रकारलाई २५ हजार रुपैयाँसहित सम्मान गरिने जानकारी दिए । उनले शिक्षा क्षेत्रको विकाससँगै आफ्ना हजुरबुवाको सम्झनास्वरुप पुरस्कार वितरण गर्न लागिएको बताए ।
कार्यक्रममा समाजसेवी स्वर्गीय शिवाकोटीको योगदानको बारेमा चर्चा गरिएको थियो । नेपाली कांग्रेस दोलखाका जिल्ला सभापति रुद्र खड्का, पूर्व सभापतिहरु ताराबहादुर कोइराला, उद्धवराज काफ्ले नेताहरु बर्मा लामा, ईश्वर मानन्धर, केशवराज चौलागाई, ताराकुमार खड्का लगाएतले नन्दप्रसाद शिवाकोटीको भूमिका ऐतिहासिक भएको भन्दै उनको सम्झनामा स्थापित पुरस्कारले जिल्लाको शिक्षा र पत्रकारिता क्षेत्रमा ठूलो योगदान दिने विश्वास व्यक्त गरे ।
कार्यक्रमका अध्यक्ष नेपाल प्रेस युनियन दोलखाका अध्यक्ष दीपशंकर चौलागार्इले यो पुरस्कार पत्रकारिता क्षेत्रकै जिल्लाको सबैभन्दा ठूलो पुरस्कार भएको भन्दै यसले पत्रकारहरुलाई हौसला मिल्ने बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रमेश खतिवडा, पत्रकार महासंघ बागमती प्रदेश सदस्य श्याम खतिवडा, नेपाल प्रेस युनियन दोलखाका कोषाध्यक्ष गोकर्ण भण्डारी लगायतले दोलखाको पत्रकारितामा घोषणा गरिएको पुरस्कारले अत्यन्तै ठूलो महत्व राख्ने बताए ।