- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । वि.स.२०५२ सालबाट शुरु भएको तत्कालीन माओवादीको शसस्त्र ‘जनयुद्ध’कति कारुणीक र दर्दनाक थियो भन्ने एउटा घट्नाले थप पुष्टि गर्छ । जनयुद्धको बलमा मुलुकमा केही राजनीतिक परिवर्तन आए पनि जनस्तरमा द्वन्द्वको घाउ अझै ओभाउन सकेको छैन् । माओवादी सेना वा तत्कालीन शाही सेनाले गाउँका निर्दोष परिवारलाई कतिसम्म दुःख दिएको थियो भन्ने तथ्यहरु क्रमशःसार्वजनिक हुँदै गएका छन् ।
रुकुम बाफिकोट गाउँपालिका वडा ६ बाट ०५८ साल माघ १४ गते स्थानीय अगुवा तथा कांग्रेस कार्यकर्ता दिलबहादुर खनाललगायत केही व्यक्तिहरुलाई माओवादीले अपहरण गरेर माघ १७ गते हत्या गरे । ‘हत्या गरेको खबर उनीहरुले सार्वजनिक सूचना टाँस गरेर गरेका थिए । अपहरण परेका मध्ये दिलबहादुरलाई ‘सफाय’ गरियो भनेर गाउँलेलाई सुनाएका थिए । तर शव बेपत्ता बनाए । करिब दुई दशक हामी बुबाको लाश वा सासको आशमा बसिरहौं’ किरियामा बसेका छोरा हरि खनाल भन्छन्,‘दुई दशकपछि हामी(म र कमानसिंह खनाल) धार्मिक विधी अनुसार बुबाको काज किरियामा बसेका छौं । एक साताअघि बृद्ध हजुरबुबा पनि मृत्यु भएपछि बुबा र हजुरबुबाको एकैसाथ किरिया गरिरहेका छौं ।’
त्यसबेला दिलबहादुरसँगै गाउँबाट सत्र जना अपहरण गरिएको थियो । सत्र मध्ये १६ जना घर फर्किएको भए पनि दिलबहादुर फर्किएनन् । तत्कालीन मग्मा गाविसको कांग्रेस सचिबसमेत रहेका दिलबहादुर माओवादीको ‘सफाय’मा परेर ज्यान गुमाए । ‘त्यसबेला म १२ बर्षको मात्र थिएँ । गाउँमा काटमार, हत्या, अपहरण, डरत्रास खपिनसक्नु थियो । मेरो सम्झना अनुसार बुबासहित द्वन्द्धकालमा गाउँका अन्य पाँच जनाको हत्या भइसकेको थियो । बुबाको हत्यापछि हामी मानसिक रुपमा विछिप्त भयौं ।
गाउँमा खुलेर हिंडडुल गर्ने अवस्था पनि थिएन,’ कांग्रेस पार्टी कार्यालय सानेपामा कार्यरत हरि खनाल भन्छन्,‘बुबाको हत्यापछि घर परिवार र आफन्त पुरै मानसिक तनावमा रहयो । बुबाको हत्यापछि कान्छी दिदी बिजया खनाल तीन महिनाभित्र चिन्ताको रोगले वित्नुभयो । काका मानसिक समस्याले ग्रस्त भएपछि सानोभेरी नदीमा हाम फालेर बित्नुभयो । हजुरबुबाको आँखामा आँशु कहिल्यै ओभाएन । उहाँले बुबाको काजकिरिया गर्न खोज्दा मेरोसँगै गर्नु भनेर रोकिराख्नु भयो । उहाँको पनि देवसान भएपछि आज हामी बुबा र हजुरबुबाको सँगै काजकिरियामा दिन विताइरहेका छौं ।’
हुन पनि माओवादी द्वन्द्वको उत्गमथलो मानिएका रुकुम, रोल्पा, कालीकोट लगायतका जिल्लामा शसस्त्र जनयुद्धको संत्रास व्यापक थियो । खनाल परिवारले मात्र होइन हत्या गरिएका अन्य परिवारले पनि आफन्त काजक्रिरिया गर्न पाएनन् । अपहरणमा वा हत्या गरिएको भनिएका आफन्तले न शव भेटे न सास नै भेटे । ‘हत्या भएको खबर पाए पनि काज किरिया गर्न माओवादीले दिंदैन थिए । बुवाको हत्यापछि हामीले लुकीलुकी तीन दिन नुन छाडौं । लुकीलुकी टाउको मुन्डन गर्यौं । थाहा पाए भने अपहरण गर्ने त्रास थियो,’हरिले घट्नाक्रम सुनाउने क्रममा भने । यस्तो विडम्बना खनाल परिवारमा मात्र भोगिरहेको छैन् । देशभर सयौं परिवारलाई यस्तै पीडाबोध भइरहेको छ । द्वन्द्धकालिन घट्नाको सत्यतथ्य छानविन र अनुसन्धान नहुँदा सयौं परिवार मानसिक तनावमा छन् ।
दिलबहादुर गाउँमा कांग्रेसको राजनीति गर्ने भएकाले उनको सक्रियता माओवादीलाई मन परेको थिएन । माओवादीको हिंसात्मक गतिविधि चलिरहँदा पनि उनले कांग्रेसको संगठन विस्तारमा सक्रिय भएकाले निशानमा परेका थिए । ‘बुबाको सक्रियता उनीहरुलाई पटक्कै मन परेको थिएन । घरमा दुःख दिन पहिल्यै पनि माओवादीहरु आइरहन्थे । खाना खान र बास बस्न आइरहन्थे । साँझ परेपछि हुलका हुल आउँथे । विहान अबेरसम्म बस्थे । आफ्नो काम पर्दा वा प्रहरी आएको सुइको पाउँदा मात्र निस्किएर जान्थे,’ हरिले विगत सुनाउँदै भने,‘त्यसबेला सामान्य मान्छे मर्दा किरिया गर्न पाइँदैन थियो । त्यसबेलाको चोट अहिलेसम्म हामी भोगिरहेका छौं । खेपिरहेका छौं ।’
दिलबहादुरको हत्यापछि पनि माओवादीले खनाल परिवारलाई दुःख दिन नछाडेको उनीहरु बताउँछन् । ‘बुवाको हत्यापछि पनि लगभग सयौं पटक खाना खुवायौं । सयौं पटक चन्दा दिएका छौं । बुबाको हत्याको तीन बर्षपछि रोल्पाको पाछाबाङ्ग भन्ने ठाउँमा अभियानका नाममा मलाई समेत प्रयोग गरे । कति पटक त उनीहरुको क्याम्पसम्म चामल बोकाए । अनावश्यक दुःख दिए । ति घट्नाहरु कहाँ विर्सन सकिन्छ र ? उनीहरुले दिएका दुःखका दुखान्तहरु नगन्य छन् ।’
दिलबहादुरको अपहरण पछि हत्या कसरी भयो ?
माओवादी केही नचिनेका र केही स्थानीय नेता कहलिएका १५ जना जतिको समूह स्थायी रुपमा बसोबास गर्दै आएको साबिकको मग्मा गाबिसको मग्मा भन्ने ठाउँमा आए । त्यहाँ हाम्रो घर नजिकैको काकाको घरमा बुवाको बारेमा सोधिखोजी गरेछन् । माओवादीहरुले त्यहाँ पानी पिउँदै ४५ मिनेट जति समय बिताएछन् । त्यसपछि बुबाको बारेमा सोधिखोजी गर्दा गोठतिर बस्छ भन्ने पत्ता लगाएछन् । त्यसपछि छरेखेत भन्ने ठाउँमा माओवादी समूह पुगेछ ।
त्यसपछी राति लगभग १२ बजे उनीहरु हामी सुतिरहेको बेला पुगेको थिए। त्यो ठाउँमा हाम्रो गोठ थिएन। तर गोठ हाल्न भनी माथी लेक बाट काठहरु ल्याएर ठिक्क पारी घरको जग हाल्ने तयारीमा थियौं । भैंसी तथा गाइबस्तु आफन्तकोमा राखेका थियौं । आफन्तको घरको भुईतलामा एकातिर बस्तुभाउ थिए । एकातिर बुबा म र भाइ सुतेका थियौं । आमा र दिदी लक्ष्मी साथै विजया खनाल गाउँकै घरमा हुनुहुन्थ्यो । बुबाको सोधीखोजी काकासँग गरेका उनीहरुले नजिकै सरेको घरमा रहेको सुइको पाएछन् । त्यसबेला आमाले थाहा पाउनुभएन र उनीहरुले सुइको पनि दिएनन् । त्यो दिन भाइ एकातिर म अर्कोतिर र बुवाबीचमा सुतेका थियौं । करिब सात बर्षको भाइ शैलेन्द्र खनाल भुसुक्कै निदाईसकेको थियो। म अर्धनिन्द्रामा थिएँ ।
हो, त्यसैबेला अपहरणकारीहरुले बुबालाई लिएर जान जोडबल गरे । राइफल र बन्दुकसहित आएका उनीहरुले ‘बैठक छ, छलफल छ जाउँ भेना’ भनेको याद छ । ‘बुवाले यति राति नजाऔं होला । ‘भोली बिहानै आए हुन्न’ भन्ने जवाफ फर्काएकोसम्म मलाई याद छ । त्यसपछि म निधाएछु । त्यसपछि के भयो मलाई था छैन। भोलिपल्ट अपहरण गरेर लगेछन् । हामी सुतेको स्थानबाट अलिपर डाँडामा काकाको घरमा बज्यै(हजुरआमा) बस्नुहुन्थ्यो । १२ बजे राति मान्छे हिंडेको आवाज सुनेपछी सबैजना बाहिर निस्केर हेर्दा बुवालाई सँगै लिएर हिंडेको देख्नुभएछ । बज्यैले प्रतिकार गर्दै भन्नुभएछ,‘मेरो छोरालाई नलैजाउ’ । भन्दै चिच्याउनु भएछ । ‘मार्न लान लाग्या हो’ भन्दै बज्यैले प्रतिकार गर्न खोज्नु भएछ । धेरैबेर रोइकराइ गर्नु भएछ । उनीहरुले नछाडेपछि बुवाले भन्नुभएछ-‘होइन म भोलि आईहाल्छु । चिन्ता नलिनु ।’ तर बुबा फर्किनुभएन् । दुई दशक वित्यो न बुबाको सास पाइयो न लाश ।
बुबालाई खोज्दै खोज्दै जाँदा
अपहरण गरेर लगेको भोलिपल्ट घरपरिवार सबै भेला भएर के गर्ने भन्ने छलफल गर्यौं । ३ बजे दिउँसो बुवालाई खोज्न नजिकैको साबिक गाबिस दुलीतिर म एक्लै निस्किए । बुबालाई खोज्न निस्किंदा त्यहाँ केही २-३ जना भेटिएका स्थानीयले भने,‘बाबु तिमी घर जाउ । बुबाको जे होला तिमीलाई पनि खतरा हुनसक्छ’ भनेर मलाई फर्काउने प्रयास गरे। म त्यहाबाट मेलचौर भन्ने ठाउँमा बुबालाई खोज्दै गएँ तर बुवा भेटिनुभएन। साँझ पर्न लागेपछि घर फर्किएँ । बाटोमा केही थान माओवादीका सेनाहरु भेटिए । उनीहरुले ‘कहाँ जान लागेको ?’ भनेर सोधे । मैंले भने, ‘मेरो बुवालाई अपहरण गरेर ल्याएका छन तिमीहरुका साथीहरुले भनें । त्यसपछि उनीहरुले मुखामुख गरेपछि भने,‘ए फिस्टे खुरुखुरु घर जा नत्र जालास’ भनेर गाली गरे । त्यसपछि म केही नबोली साँझ ७ बजे घर पुगें।
उमेरले कलिलो भएपनि मप्रति घरपरिवारको जिम्मेवारीबोध हुँदै गएको थियो । घरमा पुग्दा केही आफन्त भेला भएका थिए । घरमा रुवाबासी थियो। बुझ्दै जाँदा अपहरणको भोलिपल्टै बुबालाई राईफल तलमाथी पारेर पेल्दै गर्दा मारिसकेका रहेछन्। अपहरण पछि डाडुगाउँ भन्ने ठाउँमा कसैको घरभित्र लगेर बुवालाई राति नै मारेका रहेछन् । त्यसपछि रातारात त्यहाँबाट कसैलाई सुईको नदिई बुबाको शवलाई गायब बनाएछन् । बुवासँगै गाउँबाट अपहरणमा परेका सत्र जना सबै फर्किए । तर बुबा कहिल्यै फर्कनु भएन् ।(हरि खनालसँग कुराकानीमा आधारित)