arrow

एमाले विधान महाधिवेशन: पार्टी फुटाउन नेपाल मुख्य जिम्मेवार रहेको ओलीको आरोप

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १५ शुक्रबार
uml-kp-oli-conventation-2078.jpg
तस्बिर : रासस

ललितपुर। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेलाई विभाजन गराउने मुख्य योजनाकार माधवकुमार नेपाल भएको आरोप लगाएका छन्। उनले नेपाल नै पार्टी फुटाउन मुख्य जिम्मेवार रहेको र अधिकतम लचकता देखाउँदा पनि पार्टी विभाजन गराइ छाड्ने माधव नेपालको योजना स्पष्ट भएको बताए। 

अध्यक्ष ओलीले पार्टी विभाजन गर्ने माधव नेपालको योजनामा साथ नदिएर पार्टी एकताको पक्षमा उभिएको भन्दै उपाध्यक्ष भीम रावलसहितका नेताहरूले स्वागत योग्य काम गरेको टिप्पणी समेत गरे । 

पार्टीको जारी विधान अधिवेशनमा राजनीतिक प्रतिवेदन पेस गर्दै उनले भने, ‘पार्टी एकता जोगाउनका लागि प्रर्दशित अधिकतम लचकताका बाबजुद हर हालतमा पार्टी विभाजन गरी छाडने माधव नेपालको योजना स्पष्ट भएपछि पार्टी भित्रको अन्तरसंघर्षमा साथमा रहनु भएका अधिकांश कमरेडहरू त्यसलाई अस्वीकार गरेर एकताको पक्षमा उभिनु भएको छ । यो स्वागतयोग्य निर्णय हो ।’ 

अध्यक्ष ओलीले पार्टीको एकतालाई जोगाउनका लागि माओवादी केन्द्र पृष्ठभूमि भएका रामबहादुर थापालगायतका नेताहरूले सकारात्मक योगदान पुर्‍याएको पनि स्पष्ट पारे । 

उनले नेकपा एमालेलाई विभाजन गराउन र माधव नेपालहरूलाई वैधता दिन अदालत, निर्वाचन आयोग र सभामुखको भूमिका समेत सहयोगी भएको दाबी समेत गरे । उनले त्यस्ता खालका गतिविधिको आफ्नो पार्टीले कानुन सम्मत ढङ्गले प्रतिवाद गर्ने चेतावनी समेत दिए । अध्यक्ष ओलीले भने, ‘नेकपा एमालेलाई विभाजन गराउन र उनीहरूलाई वैधता दिन अदालत, निर्वाचन आयोग र सभामुखको समेत सहयोगी भूमिका रहेको छ, जसलाई हामीले कानुनसम्मत प्रतिवाद गर्नेछौँ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ