arrow

प्रचण्डको पूर्व माओवादीहरू एक ठाउँ आउनुपर्ने अभिव्यक्तिप्रति डा. भट्टराईको टिप्पणी- 'भावनात्मक कुरा'

'प्रतिगमनको नयाँ संस्करण आउने संकेत देखियो'

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १५ शुक्रबार
Prachanda-Baburam.jpg

काठमाडौं। नेकपा (माओवादी)का अध्यक्ष प्रचण्डले पूर्व माओवादीहरू एक हुनुपर्ने आवश्यकता रहेको भनाइलाई जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले भावनात्मक कुरा भनेर टिप्पणी गरेका छन्।  

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विभिन्न समूहमा रहेका पूर्व माओवादीहरू एक हुनुपर्ने आवश्यकता रहेको बताएका छन् । शुक्रवार प्रगतिवादी कवि दिलीपकुमार श्रेष्ठको ‘सपनाको पाण्डुलिपि’ गीतिसंग्रह विमोचन कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले माओवादी आन्दोलनलाई भ्रष्टिकरण र बिर्सजित गर्ने षड्यन्त्र भइरहेको भन्दै अहिलेको आवश्यकता पूर्वमाओवादीहरू एक ठाउँमा उभिनुपर्ने आवश्यकता रहेको बताए । 

माओवादी आन्दोलनलाई बिद्रुपिकरण  र बिर्सजन गर्ने षड्यन्त्रविरुद्ध सबै एकजुट हुनुपर्ने उनले बताए। यसका निम्ति सबैले आ–आफ्नो ठाउँबाट आत्मरक्षा गर्नुपर्ने जरुरी रहेको उनले उल्लेख गरेका छन् । 

प्रचण्डको उक्त भनाईलाई डा. भट्टराईले  पूर्वमाओवादीहरू एकै ठाउँमा आउने कुरा भावनात्मक कुरा मात्रै भएको टिप्पणी गरे । उनले पूर्वमाओवादी एक ठाउँमा आउने भन्दा पनि नयाँ विचार र सङ्गठनको आवश्यकता रहेको औँल्याए । पूर्व माओवादीहरू एकै ठाउँमा नभई नयाँ ठाउँमा आबद्ध हुनुपर्ने उनको भनाई छ । 

प्रचण्डले भने – ‘अहिले जसरी माओवादी जनयुद्धलाई बिद्रुपीकरण गर्ने, त्यसलाई भ्रष्टिकरण गर्ने, माओवादी आन्दोलनलाई विखण्डित र बिर्सजित गर्ने षड्यन्त्रहरू तीव्र भइराखेका छन् अहिले पनि । त्यसका विरुद्ध एक हुने उपायहरूको खोजी गर्नु बुद्धिमानी हुन्छ । अहिलेको बुद्धिमानी त्यो चाहिँ हो । अहिलेको मार्क्सवाद त्यही हो । हामी हिजोसँगै लडाइँ लडेका र यसलाई बिद्रुपीकरण गर्ने, यसलाई भ्रष्टिकरण गर्ने, यसलाई विखण्डित गर्ने, यसलाई बिर्सजित गर्न चाहने प्रतिक्रियावादी षड्यन्त्रका विरुद्ध एकजुट हुने आजको आवश्यकता हो । एकताको खोजी गरौँ हामी सबैले । त्यसको खोजी आत्मसमिक्षाबाट सुरु हुन्छ ।’

अध्यक्ष प्रचण्डले प्रतिक्रियावादीहरुले आफूहरूलाई सखाप पार्ने षड्यन्त्र गरेकाले त्यसका विरुद्ध नयाँ खालको जनयुद्धको खोजी गर्नुपर्ने बताए । लाखौँ जनतालाई लिएर आन्दोलित भई वर्तमान निर्वाचन प्रणालीलाई परिवर्तन गर्न सकिने उनले बताए । सबै एक भए शासकीय स्वरूप फेर्न र वर्ग, जाति, क्षेत्र, लिङ्ग, समुदायको पहिचान र अधिकारलाई धेरै माथि पुर्‍याउन सकिने उनले उल्लेख गरे । उनले भने – ‘अहिले नै हतियार बोक्ने र भूमिगत हुने त मैले सोचेको छैन । तर नयाँ खालको जनयुद्धको खोजी चाहिँ गर्नु छ यो प्रतिक्रियावादीले यसरी नै हेप्ने हो हामीलाई, यसरी नै घेरा हालेर सखाप पार्ने हो भने लाखौँ जनता लिएर सडकमा हामी मिलेर उत्रिने हो भने अहिले पनि यस्ता यिनीहरूको दलाल पुँजीपतिका निर्वाचन प्रणालीहरूलाई ध्वस्त पारिदिन सकिन्छ । यिनीहरूले बनाएको शासकीय स्वरूप फेरिदिन सकिन्छ हामी । हामीले हाम्रो वर्ग, जाति, क्षेत्र, लिङ्ग, समुदायको पहिचान र अधिकारलाई धेरै माथि पुर्‍याउन सकिन्छ । हामीले गर्न सकिने धेरै छ, किनकि दुई पटक प्रतिनिधि सभा विघटन गरेर देशी विदेशी सबै मिलेर प्रतिक्रियावादी मिलेर हामीलाई सखाप पार्न खोज्दा हामी जनताको साथमा बसेर लाखौँ जनतालाई लिएर तिनीहरूलाई परास्त गर्न हामी सफल भएका छौँ । हामी अहिले हिजोका जनयुद्धका सहयात्रीहरू सबैले आ–आफ्नो आत्मरक्षा इमानदारीताका साथ, मार्क्सवादी स्प्रिटको साथ गर्न तयार हुने हो र समाजवादप्रति इमानदार भएर कार्यक्रम बनाएर अगाडी लाग्ने हो भने हामी अझै पनि यो देशको मुख्य शक्तिको रूपमा, निर्णायक शक्तिको रूपमा अगाडी बढ्ने सम्भावना छ । हामी सबै आत्मसमिक्षाको लागि तयार हौँ ।’  

डा. भट्टराईले नयाँ जनसङ्ख्याालई समेट्दै अघि बढ्नुपर्ने बताए। उनले पुरानामात्र एकठाउँमा बस्ने भनेर हुँदैन, नयाँलाई पनि समेट्नुपर्ने विचार राखे। पूर्व माओवादीहरू एकै ठाउँमा होईन नयाँ ठाउँमा जानुपर्ने डा. भट्टराईको भनाई रहेको थियो। 

डा. भट्टराईले भने – ‘भावनाको हदसम्म साथीहरूले भनेको कुरा सही छ । तर त्यो भावनाले ज्ञान र विज्ञानमा पनि त परिणत गर्नुपर्‍यो । विवेकसँग ज्ञानमा पनि बदल्नुपर्‍यो । त्यो भनेको नयाँ विचार हो । नयाँ विचार सँगसँगै पार्टीको पनि नयाँ सङ्गठन, नयाँ ढाँचा हो । त्यसैले त्यसमा पहिले बहस छलफल गरौँ । अनि त्यसको आधारमा हामी मात्रै भएर मात्रै पनि त पुग्दैन । नयाँ जनसङ्ख्या आयो, तिनलाई समेट्नु परेन ? हामीले हिजोका मात्रै गला मिलाएर बस्छौ भनेर हुन्छ ? सही विचार, नीति, कार्यक्रम र योजनाको आधारमा फेरी नयाँ ढङ्गले चाहिँ हामी अगाडी बढौँ । सबै पूर्वमाओवादी एकै ठाउँ आउँ भन्ने होइन, सबै पूर्वमाओवादीहरू नयाँ ठाउँमा जाऊँ भन्नुपर्‍यो क्या । नयाँ ठाउँमा गएपछि त्यसले चाहिँ यो देशको मात्रै होइन विश्व मानव जातिकै निम्ति योगदान गर्न सक्छ ।’

अध्यक्ष भट्टराईले केपी ओलीले गरेको प्रतिगमन परास्त भए पनि प्रतिगमनको नयाँ संस्करण आउन सक्ने बताए । अर्लि इलेक्शनको नाममा पुनः कांग्रेस र एमालेलाई अगाडी ल्याउने र माओवादीलगायतका मधेस जनजाति आन्दोलनबाट आएको उपलब्धिलाई उल्ट्याउने प्रयत्न भइरहेको उनले बताए । 

उनले भने – ‘प्रतिगमनको नयाँ संस्करण आउने संकेत देखिरहेको छु । दोस्रो संस्करण नयाँ ढङ्गले आउँदै छ । अर्लि इलेक्शनको नाममा फेरी उही पुरानै कांग्रेस र ओलीको एमालेलाई अगाडी ल्याउने र बाँकी माओवादी, मधेस आन्दोलन, जनजाति आन्दोलन लगायतको जुन पछिल्ला आन्दोलनको जगमा यो संविधान बन्यो त्यसलाई संवैधानिक ढङ्गले संसद् भित्रैबाट त्यसलाई उल्ट्याइदिने प्रयत्न फेरी पनि दोस्रो संस्करणको रूपमा आउँदै छ । अग्रगामी शक्तिहरू प्रतिगमनका विरुद्ध एक हुने, सहकार्य गर्ने, आवश्यक परे चुनावी तालमेल पनि गर्ने र भोलि गएर बहस, छलफल गरेर फेरी एकै ठाउँमा आउने यो सम्भव छ ।’

अध्यक्ष भट्टराईले अग्रगामी शक्तिहरू प्रतिगमनको विरुद्ध एक हुनुपर्ने र आवश्यकता अनुसार चुनावी तालमेलसम्म गरेर अगाडी बढ्नुपर्नेमा जोड दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ