arrow

अफगानिस्तानको शरणार्थी सङ्कट थप लम्बिने विज्ञको चेतावनी

logo
एजेन्सी,
प्रकाशित २०७८ असोज १९ मंगलबार
afghanistan-refugee.jpg

काबुल। अफगानिस्तानको सत्ता कब्जा गरेको तालिबानसँग खेलिरहेको पाकिस्तानका गतिविधिहरूले शरणार्थी समस्या थप लम्बिने विज्ञहरूले चेतावनी दिएका छन्। टाइम्स अफ इजरायलमा एक लेख लेख्दै फाबियन बउसार्टले काबुललाई ठोस दबाब दिन नसकेको अवस्थामा शरणार्थी सङ्कट चरम बिन्दुमा पुग्ने बताएका छन्। 

इस्लामावादले पनि यसलाई समाधान गर्न भूमिका खेल्नुपर्ने र शरणार्थीहरूमाथि दमन रोक्न र तालिबान सरकारलाई मानवअधिकारको सम्मान गर्न आग्रह गर्नुपर्ने उनले बताएका छन्। भूपरिवेष्टित राष्ट्र अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गर्दै विश्व समुदायलाई चकित पारेको हो। यसमा पाकिस्तान सरकार र उसको सुरक्षा निकायको भूमिका रहेको बताइँदै आएको छ। 

तालिबानी सरकारका नेताहरूले मानवअधिकारको सम्मान र महिला अधिकारको संरक्षण गर्ने, मिडिया स्वतन्त्रतालाई सम्मान गर्ने बताउँदै आएको भए पनि व्यवहार भने ठिक विपरीत रहेको छ। तालिबानी लडाकुहरूले महिलाहरूमाथि ज्यादती, छात्राहरूलाई विद्यालय जान नदिने, महिलाहरूलाई एक्लै घरबाहिर निस्किन नदिने गतिविधिहरू गरिरहेका छन्। 

यति मात्र होइन, तालिबानले सत्ता कब्जा गरेपछि हत्या, बलात्कारजस्ता जघन्य अपराधमा जेल सजाय काटिरहेका अपराधीहरू पनि रिहा भए। उनीहरूले आफूलाई सजाय सुनाउने न्यायाधीशहरूको खोजी गरिरहेका छन्। करिब २०० महिला न्यायाधीशहरू अहिले तालिबानी अपराधीको त्रासका कारण लुकेर बसेका छन्। 

यस सङ्कटको बराबर भागीदार पाकिस्तान सरकार पनि रहेको बताइएको छ। पाकिस्तान र अफगानिस्तानबीचको सीमा जोडिएको भए पनि पाकिस्तानले सीमा बन्द गरेका कारण थप समस्या सिर्जना भएको छ। अफगानीहरू भने जसरी पनि मुलुक छोड्न चाहन्छन्। अफगानिस्तानमा आफ्नो सुरक्षा नभएको भन्दै उनीहरू विभिन्न मुलुक जाने उपायहरूको खोजी गरिरहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ