- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। सत्तारुढ दल नेपाली काँग्रेसका शीर्ष तहका नेताहरूले नै मन्त्रीपरिषद्लाई तत्काल पूर्णता दिन प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिन सुरु गरेका छन् ।काँग्रेस उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र नेता प्रकाशमान सिंहले पार्टी, सरकार र सत्तारुढ गठबन्धनबीचको विश्वसनीयतामै ह्रास आएको निष्कर्ष निकाल्दै तत्काल मन्त्रीपरिषद्लाई पूर्णता दिन पार्टी सभापति समेत रहेका प्रधानमन्त्री देउवालाई दबाब दिएका हुन्।
उपसभापति निधिको नयाँ बानेश्वरस्थित निवासमा सोमबार बसेको तीन नेताहरूको बैठकले सत्तारुढ गठबन्धन दलका नेताहरूलाई पनि विभिन्न कारण देखाएर मन्त्रीपरिषद्लाई पूर्णता दिने काममा ढिलाइ नगर्न सचेत गराएका छन् ।
सरकार र गठबन्धन दलको विश्वसनीयतामाथि नै प्रश्न उठी सकेकाले छिटोभन्दा छिटो मन्त्रीपरिषद्लाई पूर्णता दिन सरकारलाई आग्रह गरिएको उपसभापति निधिले जानकारी दिए । उनले भने, ‘आज ८२-८३ दिन भईसक्यो सरकार गठन भएको । हाम्रै पार्टीका नेता शेरबहादुरजीको नेतृत्वमा सरकार छ । तर अहिलेसम्म मन्त्रीमण्डलले पूर्णता प्राप्त गर्न सकेको छैन । त्यो ज्यादै ढिला भयो । यति ढिलो हुनुहुँदैन भनेर हामीले चिन्ता व्यक्त गरेका छौँ । अव छिटोभन्दा छिटो मन्त्रीमण्डलले पूर्णता पाओस् । गठबन्धनका दलहरू जो छन्, ती दलहरूको कारणले गर्दाखेरि ढिलाइ नहोस् । जनतामा अव ढिलाइको कारणले गठबन्धन र सरकारको कार्य प्रणाली र गठबन्धनको विश्वसनीयतामाथि नै टीकाटिप्पणी थालेको छ । विश्वसनीयतामा ह्रास आउन थालेको छ । त्यसको बारेमा हामीहरूले चिन्ता व्यक्त गर्यौँ ।’
नेताहरुबीच १४ औं महाधिवेशनमा पार्टी पदाधिकारीहरूमा साझा उम्मेदवारी दिने विषयमा पनि छलफल सुरु भएको छ । त्यसैगरी बैठकले क्रियाशील सदस्यतासम्बन्धी बाँकी ४ जिल्लाको विवाद छिटो टुङ्गो लगाएर पार्टीको वडा अधिवेशन, पालिका अधिवेशन र जिल्ला अधिवेशन समयमै सक्न पनि पार्टी सभापति शेरबहादुर देउवासँग माग गरेको छ ।
पार्टीको १४ औं महाधिवेशनमा साझा धारणा बनाएर जाने र पदाधिकारीमा साझा उम्मेदवारी दिने विषयमा पनि छलफल सुरु गरिएको उपसभापति निधिले जानकारी दिए । उनले भने, ‘१४ औं महाधिवेशनमा हामीले पदाधिकारीहरूको उम्मेदवारी दिने जुन कुरा छ । त्यसका बारेमा साझा धारणा बनाउने, साझा उम्मेदवारी बनाउने बारेमा पनि छलफल गर्यौँ । बडा सकारात्मक छलफल भएको छ । यो छलफल आगामी दिनमा पनि जारी राख्छौँ ।’
नेपाली काँग्रेसको बारा, रौतहट, सप्तरी र रसुवा जिल्लामा अझै पार्टीको क्रियाशील सदस्यतासम्बन्धी विवाद टुङ्गो लागेको छैन । त्यसमा पनि नेताहरूले चिन्ता व्यक्त गरेका छन् । पार्टीको महाधिवेशन नै प्रभावित हुने गरी अझै क्रियाशील सदस्यता सम्बन्धी विवाद टुङ्गो लागि नसकेकोमा पनि आफूहरूले चिन्ता व्यक्त गर्दै छिटो टुङ्गो लगाउन नेतृत्वको ध्यानाकर्षण गराइएको उपसभापति निधिले बताउनु भयो ।
उपसभापति निधिले पार्टीको आसन्न १४ औं महाधिवेशनमा पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् भने महामन्त्री कोइराला र नेता सिंहले पनि सभापति बन्ने आकाङ्क्षा राखेका छन् । तर उपसभापति निधिले आफूहरू बीच पार्टीको नेतृत्व र नीतिका विषयमा साझा धारणा बनाएर अघि बढ्ने गरी छलफल भइरहेको र त्यो सकारात्मक दिशामा अघि बढिरहेको दाबी गरे ।