arrow

खाद्य कम्पनीले शनिवारदेखि खसिबोका बेच्ने, यसपाली भित्रिएन च्याङ्ग्रा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २२ शुक्रबार
khasiboka.jpg

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी बागमती प्रदेश कार्यालय काठमाडौँले शनिवार अर्थात् भोलिदेखि दसैँका लागि खसिबोका बिक्री गर्ने भएको छ । कम्पनीले यस वर्षको दसैँका लागि २ हजारको हाराहारीमा खसिबोका बिक्री गर्ने भएको हो ।

यस पटक कम्पनीले च्याङ्ग्रा भने बिक्री नगर्ने बताएको छ । खास गरी उत्पादन नै कम भएका कारण च्याङ्ग्रा बिक्री नगर्ने निर्णय गरेको कम्पनीकी सूचना अधिकारी सर्मिला न्यौपाने सुवेदीले बताइन् ।

गत वर्षको दसैँमा पनि खासै च्याङ्ग्रा बिक्री नगरिएको उनले बताइन् । नेपालमा उत्पादन नै कम भएका बेला बजारमा ल्याउँदा महँगो हुन जाने कुरालाई ध्यानमा राख्दै कम्पनीले यस्तो निर्णय गरेको हो ।

यसअघि चीनबाट भित्रिने भएका कारण च्याङ्ग्रा प्रशस्त हुने गरेको उनको भनाइ छ ।

'यसअघिका वर्षमा चीनबाट पनि भित्रिने हुँदा च्याङ्ग्रा उत्पादन बढी हुने रहेछ, अहिले महामारीका कारण भित्रिन पाएन र स्थानीय उत्पादन पनि थोरै भएका कारण हामीले खसिबोका नै बिक्री गर्ने निर्णय गरेका हौँ,' सूचना अधिकारी सुवेदीले भनिन् ।

कोरोना भाइरसको महामारीका कारण चीनसँगको सीमा खुकुलो नहुँदा च्याङ्ग्रा भित्रिन नसकेको कम्पनीले जनाएको छ । 

यसै कारण च्याङ्ग्रा बिक्री वितरण नगरेको कम्पनीको भनाइ छ । यस वर्ष मकवानपुर र तुलसीपुरबाट २ हजार खसिबोका भित्र्याउने तयारी रहेको सूचना अधिकारी सुवेदीले बताइन् । जसमध्ये सम्भवतः आज ५ सय खसिबोका काठमाडौँ आइपुग्ने उनको भनाइ छ ।

आज खसिबोका आइपुगेपछि भोलि अर्थात् शनिवारबाट बिक्री वितरण थालिने सुवेदीले बताइन् । कम्पनीले अहिले मूल्य समेत तोकिसकेको छैन ।

आज (शुक्रवार)साँझसम्म खसी बोकाको मूल्य तय हुने उनले बताइन् । मूल्य तोकिएसँगै सम्भवतः भोलिबाट कम्पनीले काठमाडौँमा खसिबोका बिक्री सुरु गर्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ