arrow

चीनसँग जोडिएको हिल्सा नाका खोल्न माग, यो वर्ष दसैँ महँगियो

logo
दाने बोहरा,
प्रकाशित २०७८ असोज २४ आइतबार
Hilsa1.jpg

सिमकोट । छिमेकी मुलुक चीनसँग जोडिएको हुम्लाको उत्तरी हिल्सा नाका सञ्चालनमा ल्याउन हुम्लीले माग गरेका छन् । कोभिड– १९ को संक्रमणले विगत दुई वषदेखि बन्द रहेको हिल्सा नाकालाई सहज बनाउन जिल्लाका होटेल व्यवसायी, उत्तरी नाम्खा गाउँपालिकाका स्थानीयवासीले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिँदै सीमा नाका सञ्चालन गर्ने आग्रह गरेका हुन् । 

सो नाका बन्द भएपछि त्यस क्षेत्रका उद्योग व्यवसाय ठप्प रहेको भन्दै सीमानाका खोल्न माग गरेको होटेल व्यवसायीका अध्यक्ष मीमबहादुर लामाले जानकारी दिए । 

आर्थिक सङ्कटमा व्यवसायी
यो सीमानाका बन्द हुँदा यहाँका साना, मझौला, ठूला व्यवसाय आर्थिक सङ्कटमा परेको अध्यक्ष लामाले बताए । हिल्साबाट चीन आवतजावत गर्ने नाका वा सीमा खोल्नका लागि आवश्यक पहल गरीदिन जिल्ला प्रशासनमार्फत सरकारलाई आग्रह गरेको उनले बताए । 
 
नाकामा खोलिएका होटेल व्यवसाय ठप्प हुँदा उनीहरुको लगानी सङ्कटमा पुगेका छन् । हिल्सा नाका सीमा क्षेत्र बन्द भएपछि हुम्लीको व्यापार ठप्प भएको छ ।

रोजगारी गुम्यो
हिल्सा नाका बन्द हुँदा चीनको ताक्लाकोट गएर काम गरेर जीविकोपार्जन गर्दै आएका करिब सात हजार बढी हुम्लीको रोजगारी गुमेको छ । वैशाख महिनाको अन्तिम महिनादेखि हिमपातले रोकिएको नाका खुलेर रोजगारी लागि उत्तरी नाम्खा गाउँपालिकालगायत अन्य पालिकाका नागरिक ताक्ला पुग्थे । तर दुई वर्षयता चीनमा आत्मनिर्भर रहेको नाम्खा गाउँपालिकाका बासिन्दा सीमा बन्द हुँदा बढी समस्यामा परेका हुन् ।
  
 वैशाखदेखि मङ्सिर अन्तिमसम्म ताक्लाकोटमा काम गरेर नेपाल फिर्ता हुनेगरे पनि विगत लामो समयदेखि बन्द हुँदा समस्या बनाएको नाम्काका स्थानीय दावा तामाङले बताए । करिब आठ महिना बढी चीनमा काम गरेर हुम्ला फिर्ता हुनेगरे पनि सीमानाका कोरोनाका कारण बन्द हुँदा हुम्लीलाई घरपरिवारको खर्च चलाउन समेत समस्या बनाएको उनले बताए । 
 
उनले भने, “उत्तरी नाम्खा चीनमा निर्भर छ, उसो त सिमकोट, खार्पुनाथ र सर्केगाड गाउँपालिकाका नागरिकसमेत ताक्लाकोट पुगेर राम्रो कमाइ गर्थे । कोरोनाले सीमा बन्द भएपछि चीनले खुलाउन नचाहँदा थप समस्या बनाएको छ ।” हिल्सा नाका बन्द भएपछि व्यापार–व्यवसाय ठप्प हुनुका साथै दसैँ तिहार जस्ता ठूला चार्डपर्वमा सस्तो र सहज उपभोग्य वस्तु उपभोग गर्न नसकिएको उनको भनाइ छ । 

च्याङ्ग्रा नआउँदा खसीको मूल्य आकाशियो
दुई वर्षदेखि सीमा बन्द भएर चिनियाँ च्याङ्ग्रा नभित्रिदा हुम्लामा खसीको मूल्य आकाशिएको छ । कोरोना संक्रमणका कारण दुई वर्षदेखि नेपाल चीन सीमानाका हिल्सामा आवतजावत पूर्णरुपमा बन्द भएपछि दसैँंमा खसीको मूल्यमा वृद्धि भएको हो । सात गाउँपालिका र ४४ वडा रहेको हुम्लामा यो वर्षको दसैँ महँगो हुने भएको छ । 

चीनसँगको हिल्सा नाका नखुलेपछि चिनियाँ च्याङ्ग्रा नआउँदा हुम्लीले स्थानीय गाउँघरमा भएका खसी किन्नु पर्दा महँगो मूल्य तिरेर खरिद गर्नुपरेको छ । विगत वर्षमा प्रत्येक वर्षको दसैँमा चीनबाट चिनियाँ च्याङ्ग्रा आउने भएका कारण सस्तोमा दसैँ मनाउने गर्थे भने यो वर्षको दसैँ हुम्लीको महँगो हुनेभएको हो । हुम्लाको हिल्सा, लिमी, चुवाखोला, टाके, नेक्पालगायतका नाकाबाट बन्द हुँदा जिल्लामा खसीको तौल हेरेर रु १५ हजारदेखि ३० हजारसम्म बिक्री हुने गरेको छ । 

चीनबाट आएका च्याङ्ग्राको मूल्य दुई वर्ष अगाडि हुम्लामा रु १० हजारसम्म पर्ने गरेको भए पनि स्थानीय खसी खरिद गर्दा रु ३० हजारसम्म पर्ने गरेको सिमकोट २ का धनबहादुर भण्डारीले बताए । स्थानीय खसीको मूल्य बढी नै पर्ने गरेको भए पनि यस पटक अन्य विकल्प नहुँदा मूल्य बढेको व्यापारीले बताउने गरेका छन् ।

व्यापारीले चिनियाँ च्याङ्ग्रा नआउँदा दसैँका लागि भनेर बझाङ, बाजुराबाट समेत खसी ल्याएर बिक्री गर्न थालेका छन् । हुम्लाको सदरमुकाम सिमकोटमा खसी मासुको प्रतिकेजी रु एक हजार मूल्यमा बिक्री हुने गरेको छ । विगतका वर्षमा दसैँ आउन एक हप्ताअगाडि नै हुम्लामा चिनियाँ च्याङ्ग्रा सदरमुकाम सिमकोटसहित गाउँघरमा भरिभराउ हुने गदर्थे । तर कोरोनाका कारण नेपाल र चीनको सिमाना हिल्सा नाका दुई वर्षदेखि बन्द हुँदा चिनियाँ च्याङ्ग्रा नभित्रिएका हुन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ