arrow

झडपपछि रुपन्देहीमा कर्फ्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २४ आइतबार
goli-rupandehi.jpg

रुपन्देही । मोतीपुर औद्योगिक क्षेत्रमा झडप भएपछि  जिल्ला प्रशासन कार्यालय रुपन्देहीले कर्फ्यु जारी गरेको छ ।  रुपन्देहीको बुटवल उपमहानगरपालिका-१७ र १८ स्थित मोतीपुर औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्ने समूह र प्रहरीबिच आइतबार झडप भएसँगै कर्फ्यु जारी गरेको हो ।

आइतबार ४ बजे देखि अर्को सूचना जारी नगरेसम्म कर्फ्यु जारी गरिएको प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताए । 

तिवारीले प्रहरीले कयौँ राउन्ड अश्रुग्याँस र हवाई फायर गरेपछि प्रहरीमाथि ढुङ्गा प्रहार गरेकाले केही राउन्ड गोली चलाइएको जानकारी दिए । गोली लागेर केही प्रहरी, स्थानीयवासी र प्रदर्शनकारी घाइते भएको उनले बताए । 

प्रजिअ तिवारीले भने, “हामीले सो क्षेत्रमा निषेधाज्ञा जारी गरेका थियौँ र जग्गा अतिक्रमण नगर्न सूचना पनि जारी गरेका थियौँ, तर त्यसलाई उल्लङ्घन गर्ने काम भयो ।”  उनले स्थिति नियन्त्रणमा आएको जानकारी दिए । 

प्रहरीले अस्थायी रूपमा बनाइएका टहरासमेत भत्काएको छ ।  झडपमा परी दुई घाइते भएका छन् भने दुईलाई प्रहरीले पक्राउ गरेको छ । झडपमा प्रहरीले अत्यधिक बल प्रयोग गरेको र दुई राउन्ड गोली चलाएको स्थानीयवासीले आरोप लगाएका छन् ।

सो औद्योगिक क्षेत्रको नदी उकास क्षेत्रमा गत सातादेखि ठुलो सङ्ख्यामा अस्थायी टहरा बनाएर जग्गा अतिक्रमण भएको थियो । त्यसरी पनि अतिक्रमित जग्गाबाट स्थानीय हट्न नखोजेपछि प्रहरीले बल प्रयोग गरेको बताइएको छ । जग्गामा गत चैतमा औद्योगिक क्षेत्रको शिलान्यास गर्दा स्थानीयवासीले विरोध गरेका थिए । करिब २०० बिघा जग्गा सुकुम्बासीको नाममा कब्जा गर्ने प्रयास भइरहेको थियो ।

विसं २०७२ चैत १ गते मोतीपुरमा पाँच वर्षभित्र औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा भयो । बुटवल उपमहानगरपालिकासहित तिलोत्तमा नगरपालिका, सियारी र शुद्धोधन गाउँपालिकासित जोडिएको तिनाउ नदी उकास क्षेत्रको सार्वजनिक जग्गामा औद्योगिक क्षेत्र बनाउनेमा सबै दलको सहमति थियो । सो जग्गा अतिक्रमण गर्न साविक लुम्बिनीका विभिन्न जिल्लाबाट स्थानीयवासी बुटवल आएको प्रहरीले जनाएको छ ।

No description available.



नयाँ